ओलीको प्रतीक्षामा व्यग्र बादल

ओलीको प्रतीक्षामा व्यग्र बादल

काठमाडौँ :  नेकपा एमालेको विधान महाधिवेशनका पार्टीका नेताहरू समयमै कार्यक्रम स्थलमा पुगे पनि पार्टी अध्यक्ष केपी शर्मा ओली भने एक घण्टा ढिला पुगे।

विधान महाधिवेशन १२ बजेदेखि सुरु हुने भनिएको थियो। ओलीलाई स्वागत गर्न नेताहरू कार्यक्रम स्थलमा पुगिसकेका थिए। ओली नआएपछि नेताहरू उनको स्वागतका लागि कार्यक्रम हल बाहिर प्रतीक्षामा थिए। माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा बादल पनि कार्यक्रम स्थल बाहिर अधीर भएर उभिएका थिए।

पछाडि मदन भण्डारीको ब्यानर अगाडि उनी ओलीको प्रतीक्षामा एक घन्टाजति उभिए। उनी पटक-पटक घडीतिर हेर्थे अनि ओली चढेको गाडी आउने ढोकातिर। उनीसँगै कहिले शेरबहादुर तामाङ देखिन्थे कहिले एमाले ललितपुरका सांसद नवराज सिलवाल पनि।

अधीर भएर उभिएका उनलाई देखेर केही एमाले कार्यकर्ता तस्बिर खिच्न समेत पुग्थे।

एक घण्टाको अधीर प्रतीक्षापछि सुरक्षाको घेरामा ओली चढेको गाडी आइपुग्यो। उनी हतारिँदै ओलीको स्वागत गर्न गाडियो ढोकैमा पुगे र कार्यक्रम हलसम्म पछि पछि गए।

असोज १५, २०७८ शुक्रबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।