सिद्धबाबामा सुरुङ मार्ग : ३० करोडका लागि ९ कम्पनीको टेन्डर
बुटवल : सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बनाउन ९ वटा कम्पनीले टेन्डर हालेका छन्।
सरकारले सुरुङ मार्ग बनाउन १० अर्ब १५ करोड रुपैयाँ दिने निर्णय अनुसार सडक विभागले २०७८ जेठ ९ गते ग्लोबल टेन्डर आव्हान गरेको थियो।
सुरुङ मार्ग बनाउन ९ वटा कम्पनीले निवेदन दिएका छन्। निवेदन दिएका मध्ये अधिकांश चिनियाँ कम्पनी रहेका सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडिसी)ले गरेको अध्ययन प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको केन्द्रका प्रमुख डा. विजय जैसीले जानकारी दिए।
ग्लोबल टेन्डरमा ९ कम्पनीले आवेदन दिएको र अबको तीन महिना भित्र कम्पनी छनोट गरेर ९ महिनामा डिजाइन तयार गरिने उनले बताए।
सरकारले सुरुङ मार्गका लागि चालु आर्थिक वर्षको बजेटमा ३० करोड रुपैयाँ विनियोजन गरेको छ। जेठ १५ गतेको अध्यादेश बजेटमा ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो। वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत २० करोड रुपैयाँ कम गरेर ३० करोड विनियोजन गरेको हो।
उपल्लो सिद्धबाबा देखि सुरु हुने सुरुङ मार्गको दुरी ११ सय २६ मिटरको हुनेछ। तल्लो सिद्धबाबा देखि माथिल्लो सिद्धबाबासम्म पनि उत्तिकै पहिरोको जोखिम रहेकाले त्यहाँ ढुङ्गा झर्न नदिन रक फल प्रविधिको प्रयोग गरिने केन्द्रका प्रमुख जैसीले जानकारी दिए।
असोज १५, २०७८ शुक्रबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।