एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै 

एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै 

काठमाडौँ : नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि सुरु हुँदैछ। महाधिवेशनको दिउँसो १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमालेले जनाएको छ।

महाधिवेशनको बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्ने एमाले नेता अमृत कुमार बोहराले जानकारी दिए। 

गोदावरीको सनराइज सम्मेलन केन्द्रमा बिहान ९ बजेदेखि नै प्रतिनिधि पुग्ने र १२ बजे उद्घाटन हुने उनले बताए। महाधिवेशनमा अनुशासन आयोग र लेखा परीक्षण आयोगको प्रतिवेदन पनि पेस हुने बोहराले बताए। ‘बन्द सत्रमा पेस भएका प्रतिवेदनमा समूह विभाजन गरेर छलफल हुन्छ,’बोहराले उकेरासँग भने,‘महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी हुनेछन्।’

सम्मेलन केन्द्रमा ३ हजार सिट क्षमता रहेकाले दायाँ बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ। महाधिवेशन तीनसम्म चल्ने एमालेले जनाएको छ।

असोज १५, २०७८ शुक्रबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।