सीता भण्डारी मृत्यु प्रकरण : गृहमन्त्रीकै आँगनमा २५ दिनदेखि न्यायको आन्दोलन

सीता भण्डारी मृत्यु प्रकरण : गृहमन्त्रीकै आँगनमा २५ दिनदेखि न्यायको आन्दोलन

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कफी कम्पनी नजिकै गत भदौ १९ गते २७ वर्षीया सीता भण्डारीको शंकास्पद मृत्यु भयो। घटनापछि मृतकका माइती पक्षले घर पक्षबाट ‘हत्या’ भएको भन्दै सुरु गरेको न्यायको आन्दोलन २५ दिनदेखि जारी छ।

गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा दैनिकजसो नाराबाजी गर्दै न्यायको आन्दोलन जारी रहँदा पनि गृहमन्त्री खाँण चुइक्क नबोलेको भन्दै आन्दोलनरत पक्ष आक्रोशित भएका छन्।

निरन्तर नगरपालिकामा आन्दोलन हुँदा समेत गृहमन्त्रीले न्यायका लागि पहल नगरेको आन्दोलनरत पक्षको भनाइ छ। ‘आन्दोलन जारी छ। यस्तो बेलामा एक पटक आएर घटनाका बारेमा बुझ्न सकिन्थ्यो तर उहाँले त्यसो गर्नुभएन। त्यही भएर पनि आन्दोलनरत पक्ष गृहमन्त्रीसँग असन्तुष्ट बनेका छन्,’ आन्दोलनकर्ता कांग्रेस निकट एक महिलाले भनिन्।

सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले भने पनि माइती पक्ष भने यो मान्न तयार छैन। परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्याको बाहना बनाइरहेको उनीहरुको दावी छ।

पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सीताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाएको छ।  

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए। सिआइवीको टोली समेत अनुसन्धानका लागि रुपन्देहीमा बसेर फर्केको छ। तर अनुसन्धानमा के भेटियो भन्ने जानकारी दिइएको छैन। प्रहरी प्रमुख केसीले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए। यसबारे उनी थप केही बोल्न चाहेनन्।

यता गृहमन्त्री खाँणका स्वकीय सचिव ब्रिजेश न्यौपानेले घटनाका बारेमा सत्य-तथ्य अनुसन्धान गर्न निर्देशन दिएको बताए। गृहमन्त्री खाँण सरकार विस्तार भएपछि मात्रै गृहजिल्ला आउने स्वकीय सचिव न्यौपानेले बताए। सरकार विस्तारमा बिलम्व हुँदा कामको भार धेरै भएको बताउँदै गृहमन्त्री गृह जिल्ला आउन नपाएको उनको भनाइ छ।

‘यहाँबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई घटनाका बारेमा अनुसन्धान जारी राख्न र सत्य-तथ्य बाहिर ल्याउन निर्देशन दिनुभएको छ,’ उनले भने, ‘त्यहाँ नआए पनि अनुसन्धानमा बिलम्व नगर्न निर्देशन दिनुभएको छ।’

असोज १४, २०७८ बिहीबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।