तिलोत्तमा नगरमा नदीजन्य पदार्थ जफत गरेर विक्री

तिलोत्तमा नगरमा नदीजन्य पदार्थ जफत गरेर विक्री

ठेकेदारले सम्झौता विपरीत ३ गुणा नदीजन्य पदार्थ उत्खनन गरी घाटगद्दी गरेको फेला परेको तिलोत्तमा नगरपालिकाले जनाएको छ। 

सम्झौता विपरीतको नदीजन्य पदार्थ लैजान नगरपालिकाले रोकेको छ। नगरपालिकाले हिराचन–कालीगण्डकी–सिद्धार्थ जे.भी. सियारीसँग ८ लाख ४७ हजार २ सय घनफिट मात्रै उत्खनन गर्ने सम्झौता गरेको थियो। ठेकेदारले सम्झौता भन्दा धेरै २३ लाख ७९ हजार ३८ घन फिट उत्खनन गरेको भेटिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ। 

तिनाउ नदीमा पुल निर्माणका लागि उत्खनन गरिएको उक्त गिट्टी बालुवा अनुमतिभन्दा बढी भएपछि नगरपालिकाले जफत गरेको छ। अवैध देखिएको १५ लाख ३१ हजार ८३८ घन फिट मध्ये ३ लाख २५ हजार घन फिट शुद्धोधन गाउँपालिकाको भएकाले उसैलाई बुझाइएको नदीजन्य पदार्थ अनुगमन समितिका सदस्य दिवाकर ढकालले बताए। बाँकी रहेको १२ लाख घनफिट गिट्टी बालुवा बिक्रीका लागि बोलपत्र आह्वान गर्दा पनि कुनै कम्पनीले इच्छा व्यक्त नगरेपछि नगरको सडक मर्मतमा प्रयोग गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

अवैध उत्खनन गरिएको गिट्टी बालुवामा ठेकेदार कम्पनीका केही व्यक्तिहरूले क्षतिपूर्तिको नाममा बार्गेनिङ समेत गरेका छन्। सम्झौता विपरीत नदिबाट निकालेपछि घाटगद्दि गर्दा लागेको खर्च पाउनुपर्ने कुतर्क ठेकेदारका केही व्यक्तिले धम्की पूर्ण रूपमा गरेका समितिका सदस्य दिवाकर ढकालले बताए। 

उनीहरूले नगरपालिकामा समेत नदिदेखि घाटगद्दीसम्म ढुवानी र उत्खनन गर्दा लागेको खर्च पाउनुपर्ने माग गर्दै निवेदन दिएका छन्। ठेकेदार पक्षका बासु बस्यालले आफूहरूलाई नगरपालिकाले क्षतिपूर्ति दिनुपर्ने बताए। 

सम्झौता र मापदण्ड विपरीत केही नदीजन्य पदार्थ बढी उत्खनन भए पनि ढुवानी र लोड अनलोड खर्च नगरपालिकाले दिनुपर्ने उनको भनाई छ। 

अरू स्थानमा पनि मापदण्ड भन्दा बढी उत्खनन

तिलोत्तमाको समेरी ‘ख’बाट ९ लाख ९७ हजार ५ सय घन फिट उत्खनन हुनु पर्नेमा त्यसभन्दा बढी १७ लाख ७ हजार १३४ घनफिट उत्खनन भएको थियो। बढी भएको ७ लाख ९ हजार ६३४ घनफिट गिट्टी बालुवा नियन्त्रणमा लिई नगरपालिकाले लिलाम प्रक्रियाबाट बिक्री गरेको थियो।

यस्तै बाग्धुराबाट ५ लाख २९ हजार ५ सय घनफिट उत्खनन हुनु पर्नेमा ७ लाख १७ हजार ६ सय ७२ घनफिट उत्खनन भएको थियो। उक्त ठाउँमा बढी उत्खनन भएको १ लाख ८८ हजार १ सय ७२ घनफिट गिट्टी बालुवा पनि नगरपालिकाले लिलामी प्रक्रियाबाट बिक्री गरेको छ। 

यसैगरी सुखौरा खोलामा उत्खनन भएको ४१ हजार १४५ घनफिट गिट्टी बालुवा पनि लिलाम बिक्री गरिएको थियो। उक्त खोलाबाट १ लाख २९ हजार घनफिट उत्खनन हुनु पर्नेमा ३ लाख ७० हजार १ सय ४५ घनफिट उत्खनन भएको नगरपालिकाले जनाएको छ। 

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले सम्झौता भन्दा बढी भएको नदीजन्य पदार्थ जफत गरी लिलामी गर्दै आएको बताए।

‘सम्झौता गर्ने बेलामै हामीले सबै विवरण खुलाएर ठेक्का लगाउँछौ। तर सम्झौता पालना गर्नमा ठेकेदारले ध्यान दिँदैनन्। लोभ देखाउँछन्,’उनले भने,‘त्यसो हुँदा हामीले पछि परिमाण भन्दा बढी भए जफत गरी लिलामी गर्छौ।’ 

असोज १४, २०७८ बिहीबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।