दुई वर्षे छोरो च्यापेर काममा खटिन्छिन् गाउँपालिका उपाध्यक्ष लक्ष्मी

दुई वर्षे छोरो च्यापेर काममा खटिन्छिन् गाउँपालिका उपाध्यक्ष लक्ष्मी

एक्कासि उनलाई २०७४ को स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने प्रस्ताव आयो। एकछिन त अलमल्ल परिन्।

तर, प्रस्तावको पक्षमा उभिए उनका श्रीमान रामसाहय चौधरी। लक्ष्मीले चुनाव लड्न कम्मर कसिन्। अन्ततः स्थानीय तहको निर्वाचनमा उनले आफ्ना प्रत्यासी आसनी शाहलाई पराजित गरिन्। उनी गाउँपालिका उपाध्यक्ष भइन्। 

पहिलो योजना बर्थिङ सेन्टर
गाउँपालिका उपाध्यक्ष भएपछि लक्ष्मीले सबैभन्दा पहिला गाउँमै बर्थिङ सेन्टर निर्माण गराइन्। उनको योजनाले सुत्केरी गराउन कृष्णनगर वा बुटवल जानुपर्ने बाध्यता ट¥यो। 

विशेषतः आफ्नो समुदायमा घरमै सुत्केरी गराउँदा कतिपय अवस्थामा बालक र आमा दुवैको ज्यान गएको देखिकी थिइन् उनले। आफू पनि कुनै दिन आमा बन्नुपर्छ भन्ने बुझेकी लक्ष्मीले गाउँमा सोही अनुरूप बर्थिङ सेन्टर स्थापना गरिन्। 

४ वटा बर्थिङ सेन्टर निर्माण गर्ने योजनाअनुसार गाउँपालिकामा अहिले विजयनगर– १ र ३ को पथरैयामा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् भने वडा नंं ५ को पिपरी र ७ को गणेशपुरमा सञ्चालनको अन्तिम तयारीमा छन्। 

‘बर्थिङ सेन्टर भएपछि धेरै महिलाहरुलाई सुविधा भएको छ । पहिले घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैलाई जोखिम थियो। तर अहिले यहाँका महिलाले धेरै सुविधा पाएका छन्’, लक्ष्मीले भनिन्।

गाउँमा उनको कामको चौतर्फि प्रशंसा भयो। लक्ष्मीले सोचेभन्दा बढी राम्रो ‘रेस्पोन्स’ पाईन्। 

‘कतिपयलाई यो बर्थिङ सेन्टर सानो योजना लाग्ला। तर यहाँ आउनेले मात्र यसको प्रभावकारिता बुझ्छन्’, उनले भनिन्।

बर्थिङ सेन्टरबाट हालसम्म २ सयभन्दा बढीले सेवा लिइसकेका छन्। गर्भअवस्थामा आवश्यक आईरन चक्की, भिटामिन डी यहीँबाट वितरण समेत हुँदै आएको छ। त्यसबाहेक गाउँपालिकाले नुन र सिरक समेत सुत्केरी महिलाहरूलाई दिँदै आएको छ।

लक्ष्मीका अन्य योजना
लक्ष्मीले ‘छोरी बचाउन, छोरी पढाउ’ कार्यक्रम लागू गरेकी छिन्। यस कार्यक्रमअन्तर्गत गाउँपालिकामा पहिलो पटकमा छोरी जन्मिएको अवस्थामा गाउँपालिकाले बालबालिकाका लागि १५ हजार र अभिभावकको ५ हजार बैंकमा खाता खोलेर राख्ने गरेको छ। 

यो कार्यक्रम हालकै वर्षबाट सुरु भएको हो। अहिलेसम्म यस कार्यक्रममा एक सयभन्दा बढी सहभागी भइसकेको उनको भनाइ छ।

किशोरीहरूलाई नियमित विद्यालय आउने बनाउन उनले कक्षा ६, ९ र ११ का छात्रालाई साईकल वितरणको योजना पनि अघि बढाइन्। यो कार्यक्रममार्फत गाउँपालिकाका ४ सयभन्दा बढी किशोरीहरू लाभान्वित भएका छन्। साईकल वितरणले किशोरीहरूको पढाइमा आउने अवरोध कम भएको उनले बताइन्।

लक्ष्मीले गाउँपालिकामा विपन्नलाई स्वरोजगार बनाउने गरी कार्यक्रम अघि बढाइन्। अहिले विभिन्न विपन्न समुदायले गाउँगाउँमा बाख्रा, चल्ला, कुखुरा पालन र खोर निर्माण गर्ने काम गरिरहेका छन्। 

यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा पनि लक्ष्मीले ल्याएका हरेक योजनामा साथ दिन्छन्। लक्ष्मीको काम देखेर गाउँपालिका अध्यक्ष थापा पनि ढुक्क छन्।

२ वर्षको छोरा च्यापेर सेवामा
लक्ष्मी पनि आमा भएकी छिन्। उनको २ वर्षको छोरा छ। घर नजिक काम भए उनी छोरालाई साथै लिएर हिँड्छिन्। टाढा जानु परे सासू समेत सँगै लिएर पुग्छिन्। 

‘बच्चा सानो भएका कारण घरमा छाड्नुभन्दा लैजान्छु नै। सँगै हुँदा स्तनपान गराउन पाइन्छ’, उनले भनिन्, ‘अरुलाई यसो गर्नुस्, उसो नगर्नुस् भन्ने अनि आफूले सानो बच्चा घरमै छाडेर हिँड्दा नराम्रो सन्देश जाने भएकाले सँगै लैजान्छु।’

लक्ष्मीका श्रीमान व्यापारी हुन्। उनको पनि फुर्सद खासै हुँदैन। घरबाट गाउँपालिकाको कार्यालय ६ किलोमिटरको दूरीमा छ।

असोज १३, २०७८ बुधबार १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।