भैरहवा विमानस्थल निर्माण अझै सकिएन, सातौं पटक म्याद थप्ने तयारी
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले वि.सं. २०७१ माघ १ गते शिलान्यास गरेको राष्ट्रिय गौरवको यो आयोजना ७ वर्ष भइसक्दा पनि अझै सम्पन्न भएको छैन। अहिले पनि करिब दुई प्रतिशत काम बाँकी नै छ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ठेक्का पाए पनि यो बीचमा निर्माणमा धेरै अवरोध आए। परिणामतः अहिले विमानस्थल निर्माणको लागि सातौं पटक म्याद थपको तयारी भइरहेको छ।
विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले पछिल्लो पटक थपिएको म्याद जुन २०२१ मा सकिएकाले सातौं पटक म्याद थप्ने तयारी भएको बताए। उनले नागरिक उड्डयन प्राधिकरणमार्फत सरकारलाई सातौं पटक म्याद थप्नका लागि पहल भएको र आगामी डिसेम्बरसम्मका लागि म्याद थप हुने बताए।
विमानस्थलमा क्यालिबेरेसन फ्लाइटको तयारी, टर्मिनल बिल्डिङको फिनिसिङ, फर्निचर, फर्निसिङको काम मात्र बाँकी भएकाले थपिएको तीन महिनामा काम सम्पन्न हुने उनको दाबी छ।
मधेस आन्दोलन, भूकम्प, नाकाबन्दी, ठेकेदारबीचको विवाद, मुअब्जा वितरणमा ढिलाइ, कोभिडका कारण आयोजनाको काम तोकिएको समयमा सम्पन्न नभएको बताउँदै उनले अबको म्याद थप नै अन्तिम हुने बताए।
९८ प्रतिशत काम सम्पन्न भएको यो विमानस्थल अहिले परीक्षण उडानको तयारीमा छ।
३१ डिसेम्बर २०१४ मा लगभग ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले लिएको थियो। पछिल्लो समय कोभिडका कारण चिनियाँ कामदार समयमै नेपाल नआउँदा काम सम्पन्न नभएको आयोजना प्रमुख अधिकारीले बताए।
पर्यटन मन्त्री नहुँदासम्म क्यालिबेरेसन उडान नहुने
आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अब विमानस्थलमा सबैभन्दा पहिलो गर्नुपर्ने काम नै क्यालिबेरेसन उडान हो। विमानस्थल क्यालिबेरेसन उडानका लागि तयार भए पनि उडानमा भने सरकारी पक्षबाटै ढिलाइ भएको हो।
‘सरकार र सम्बन्धित मन्त्रीले क्यालिबेरेसन उडानका लागि पहल गर्नुपर्छ । तर सम्बन्धित मन्त्रालयमा मन्त्री नभएकाले मन्त्री नियुक्त नहुँदासम्म परीक्षण उडानको प्रक्रिया नै अगाडि बढ्दैन,’ अधिकारीले भने।
विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ/छैन भनेर परीक्षण गर्ने कामलाई क्यालिबेरेसन भनिन्छ, जसलाई उडानबाट परीक्षण गरिन्छ। थाइल्याण्डको एरोथाई कम्पनीले परीक्षण उडान गर्ने भनिए पनि कोभिडका कारण उडान भर्न नआएकाले सरकारले नै अब अरूसँग नै अर्को प्रक्रिया थाल्नुपर्ने उनले बताए।
परीक्षण उडानमा आउने विमानले एन्टिना, सिंगल रिसिभ, लाइटिङ, कम्युनिकेसन लगायत सबै सूचना ठिक छ/छैन भनी परीक्षण गर्नेछ। क्यालिबेरेसन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरु गर्ने गर्छन्।
असोज १३, २०७८ बुधबार ०८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।