जोखिम मोल्ने बानी नभए म्युचुअल फण्डमा लगानी राम्रो
धितोपत्र बजारको बारेका राम्रोसँग जानकारी राख्नको लागि समय नभएका लगानीकर्ताहरूलाई समेत म्युचल फण्ड मार्फत राम्रो लगानीको अवसर हुनसक्ने जानकारको मत छ।
‘सेयर बजार आफैमा जोखिमको व्यापार हो। लगानीकर्ताले कुनै कम्पनीको सेयर किन्दै छन् भने उसले पैसा तिरेर जोखिम किनिरहेको छ भन्ने थाहा हुनु पर्छ’ मर्चेन्ट बैंकर असोसियसन अफ नेपालका महासचिव पारसमणि ढकाल भन्छन्, ‘सूचनाको व्यापारको रूपमा पनि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएकाले सही सूचना आजको आवश्यकता हो। दोस्रो बजारको जोखिम न्यूनीकरणका लागि एउटै क्षेत्रमा नभएर विभिन्न क्षेत्रमा लगानी मात्रै कम जोखिम हुन्छ।’
कम पुँजी भएकाहरूका लागि सामूहिक लगानी कोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने भएकाले पछिल्लो समय यस तर्फ लगानीकर्ताहरूको आकर्षण बढेको ढकालको बुझाइ छ।
‘कम पुँजी भएका, बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताहरूका लागि म्युचुअल फण्डको लगानी सुरक्षित हुन्छ’ उनी भन्छन्, सेयर बजारमा जोखिम कम गर्नको लागि लागा नि भिन्न–भिन्न ठाउँमा लगानी गर्नु पर्छ। धेरै क्षेत्रमा लगानी गर्ने भएकोले म्युचुअल फण्ड अरू खालको लगानी भन्दा फरक छ।’
नेपालमा म्युचुअल फण्ड व्यवस्थापन गर्नको लागि संस्था स्थापनाको लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन–२०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष नियमावली २०६७ को प्रावधानमा रहेअनुसार सङ्गठित संस्था खोल्न पाउँछन्।
म्युचुलफण्ड योजना व्यवस्थापन गर्न स्थापना भएका संस्थाले बीज पुजी (सिड क्यापिटल) कुनै पनि योजना व्यवस्थापकले १५ प्रतिशत राख्नु पर्छ र बाँकी ८५ प्रतिशत लगानी भने साना साना लगानीकर्ताबाट सङ्कलन गर्नु पर्छ।
उक्त संस्था दर्ता गर्दा विभिन्न म्युचुअल फण्ड योजनाहरू सञ्चालनको स्वीकृति लिई सञ्चालन गर्ने गरिन्छ। यस्ता योजनाहरू सामान्यतया बन्द मुखी योजना र खुला मुखी योजनामा विभाजन गरिन्छ।
खुला मुखी योजना
वर्ष भरी किनबेचको लागि उपलब्ध हुने र दोस्रो बजारमा सूचीकृत नहुने कोष नै खुला मुखी योजना योजना हो। लगानीकर्ताले आफूसँग भएको पुँजीको आधारमा आफूसँग भएको ईकाई जुनसुकै समयमा किन्न र बेच्न सक्छन्।
खुला मुखी योजनालाई यती नै ईकाई जारी गर्नुपर्छ भन्ने कुनै रोकावट हुँदैन। माग बढेको खण्डमा ईकाईधारी जति नै भए पनि जारी गर्न सकिन्छ। यदि लगानीकर्ताले बेच्न चाहेमा कोषले नै किन्न पनि सक्छ।
बन्द मुखी योजना
निश्चित सङ्ख्यामा तोकिएको सेयरको इकाइलाई तोकिएको समयसम्मको लागि किन्नुलाई बन्द मुखी योजना भनिन्छ। सामान्यतया ३ देखि १५ वर्षको अवधिको लागि बन्द मुखी योजना जारी गनिन्छ।
उक्त योजना अन्तर्गत निश्चित पुँजी प्राथमिक निष्कासन द्वारा सङ्कलन गर्ने गर्छन्। त्यसरी सङ्कलित कोषलाइ धितोपत्र बोर्डमा सूचीकृत गर्छ। त्यस पछि मात्रै धितोपत्र बजारको दोस्रो बजारमा कारोबार गर्न सकिन्छ।
नेपालमा म्युचुअल फण्डको इतिहास
नेपालमा एनआडिसी क्यापिटलले २०५० साल एक खुला मुखी म्युचुअल फण्ड सुरु गरेको थियो। उक्त म्युचुअल फण्ड सुरुमा खुला मुखी म्युअुअm फण्ड कै रूपमा दर्ता भए पनि पछिल्लो समय बन्द मुखी भएको छ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष नियमावली २०६७ आयो। त्यस पछि सिद्धार्थ क्यापिटलले ४० करोडको ५ वर्षे बन्द मुखी म्युचुअल फण्ड ल्याएको थियो। उक्त म्युचुअल फण्डमा २५ प्रतिशत वृद्धि गर्न सक्ने गरेर ५० करोडको म्युचुअल फण्ड ल्याएको थियो। यो म्युचुअलm फण्ड ०५० साल पछिको दोस्रो म्युचुअल फण्ड हो।
पछिल्लो समय म्युचुअल फण्ड प्रति लगानीकर्ताहरूको आकर्षण बढ्दो छ। अहिले नेपाल धितोपत्र बोर्डको वेभ साइटमा हेर्दा १४ जना योजना व्यवस्थापक छन् भने अन्य २ जनाले लाइसेन्स पाइसकेका छन्।
अहिले सम्म चार वटा खुला मुखी योजना बाँडफाँड भएका छन्। त्यस मध्ये एनआइविएलको सहभागिता फण्ड र एनआइसी एसियाको डेफ्त फण्ले डिभिडेन्ट नै घोषणा गरेका छन्।
बन्द मुखी योजना तर्फ २५ वटा योजनाहरू बजारमा देख्न सकिन्छ। उक्त योजनाको २५ अर्बको स्किम साइज भएको ढकाल बत्ताउँछन्।
‘नविल ब्यालेन्स फण्ड – ३’ मा मात्रै एक लाख भन्दा धेरै लगानीकर्ता सहभागी छन्। त्यसमा पनि ६० प्रतिशत लगानी व्यक्तिगत लगानी छ भएको ढकाल बत्ताउँछन्।
‘पछिल्लो समय सामाजिक सञ्जाल तिर हेर्ने हो भने म्युचुअल फण्डमा लगानी गर्नु हुँदैन भन्ने अफवाह फैलाइएको छ’ ढकाल भन्छन्, ‘तर नविल ब्यालेन्स फण्डको आकर्षणले नै पनि नेपालमा म्युचुअल फण्डको आकर्षण बढेको मान्न सकिन्छ।’
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरि म्युचुअल फण्डको सुरुवात हुँदा नियमावली नभएको कारण केही समस्या भएको बत्ताउँछन्। उनी दुबिधाकै बिच सामूहिक लगानी कोष सुरु गरिएको बत्ताउँछन्।
‘म्युचुअल फण्डले अहिले बजारको आकार लिइसकेको छ। यसलाई अझै अगाडि बढाउन सकिन्छ’ उनी भन्छन्, ‘पहिले हामीले बन्द मुखी योजना मात्र ल्याएका थियौ तर अहिले ४ वटा खुला मुखी योजना सम्म आइसकेको छ।’
कम जोखिम
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले म्युचुअल फण्डमा गरेको लगानीमा जोखिम कम हुने बताउन्। योजना व्यवस्थापकले नै लगानीकर्ताहरूको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरीको छ।
‘हाल नियामक निकायबाट १७ ओटा योजना व्यवस्थापकहरूलाई म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको छ’ उनी थप्छन्, ‘दोस्रो बजारमा २५ ओटा बन्द मुखी योजनाहरूको २९ अर्ब बराबरको पुँजी परिचालन रहेको छ।’
यी बाहेक चार ओटा खुला मुखी योजनाहरू सञ्चालनमा रहेको समेत उनले बताउँछन्।
म्युचुअल फण्डले धितोपत्र बजारमा आकार लिइसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाई छ।
‘म्युचुअल फण्डले दोस्रो बजारको माग र आपूर्ति सन्तुलनका लागि काम गर्नुपर्ने माग आइरहेको अवस्थामा म्युचुअल फण्ड पनि अन्य लगानीकर्ता सरह भएको छ। म्युचुअल फण्डहरुले साना साना लगानीकर्ताहरूको पुँजीको जिम्मा लिई थोरै भए पनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले उ त झनै चनाखो भएर लगानी गर्नुपर्छ’ गिरीले भने।
असोज १२, २०७८ मंगलबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।