लाखे पुकारेपछि बाँचेका थिए समुद्री आँधीमा फसेका जंगबहादुर

लाखे पुकारेपछि बाँचेका थिए समुद्री आँधीमा फसेका जंगबहादुर
तस्बिर : कृष्पा श्रेष्ठ

०००
आजको समाज त धर्मप्रति निकै झुकाव राख्छ भने झन्डै दुई शताब्दीअघिको समाज धार्मिकताकै जगमा विकसित थियो। 

जैसीदेवल, कोहिटी, क्षेत्रपाटी, ठहिटी, टेबहाल, गणबहाल, लगन टोल क्षेत्रका जनताको रक्षा गर्ने काम थियो, येँया लाखेको। 

राजभण्डारीको घर पनि येँया लाखेकै कवच क्षेत्रभित्र थियो। 

येँया लाखे र लाखे ननीको हर्ताकर्ता भने पहिला ज्यापुहरु थिए। तिनै ज्यापुहरुको जिम्मेवारी थियो, मजिपाको लाखेलाई फकाउने, रिझाउने र आसपासको क्षेत्रको सुरक्षामा लगाउने।  

पुस्ता हस्तान्तरण हुँदै जादा ज्वाईं (लाखे)को स्याहारमा गाह्रो पर्न थालेपछि ज्यापुहरुले रञ्जितहरुको देवता निलबाराहीसँग लाखेलाई साटे। तर लाखेलाई भित्र्याउँदा पानी पिलाउने र बत्ती बाल्ने भने तिनै ज्यापुकै भागमा रह्यो। सोही क्रममा दुर्भाग्यबस बत्ती बाल्ने ज्यापु निःसन्तान हुन पुगे। त्यो ज्यापु दम्पतीको विलयपछि येँया लाखेलाई पानी खुवाउने र बत्ती बाल्ने काम पनि रञ्जितहरु आफैं ज्यापु बनेर गर्न थाले। 

लाखे ननीकै आडमा थियो, रञ्जितहरुको घर पनि। अगाध आस्थाले भरिएको शान्त भैरव समेत भनिने देवता जस्तो शक्तिशाली राक्षसलाई रञ्जितहरुले आफ्नो काँधमा लिए। सम्हाल्न थाले।

दयालु लाखेको रुपमा ख्याति कमाएको आजु (मजिपा, येँया) लाखेमा राजभण्डारीको पनि आस्था थियो नै। ज्यापुपछि रञ्जितहरुले ख्याल गर्दै आएको लाखेले समस्या भगाउँछ र जनमनको रक्षा गर्छ भन्ने विश्वास आज पनि छ। राजभण्डारीले त्यही जनविश्वासलाई झन् इँटा थप्ने काम गरे, जंगबहादुरको बेलायत यात्रामा सहभागी भएर।

०००
आजको जस्तो हवाई जहाजको प्रयोग थिएन उतिबेला।  लामो दूरीको यात्रामा पानी जहाजकै भर थियो। 

जंगबहादुरको बेलायत यात्रा चल्दै थियो। समुद्रको मनोरम दृश्यको मजा लिइरहेका जंगबहादुरलाई निराश बनायो मौसमले। 

मौसम गडबड भइदियो। ठूलो आँधी-हुरी आयो। राजभण्डारीलाई पर्यो आपत। देशको प्रधानमन्त्री साथमा छन्। त्यही पनि निकै डराएका। आफैंलाई पनि डरले छाडेको छैन। राजभण्डारीलाई चिन्ता पर्यो।

सामुन्द्रिक आँधीसँग हात उठाइसकेका जंगबहादुरलाई अब बाँच्नु यति त रहेछ भन्ने लागिसकेको थियो। तर राजभण्डारीले बहादुर कहलिएका जंगबहादुर डराएको देखेर मनोबल बढाउने उपाय निकाले। त्यही उपायले आफ्नो मनलाई पनि थम्थमाए।

‘हजुर मजिपाको लाखेको याद गर्नूस्। तीनले हामीलाई यो कष्टबाट पार लाउँछन्,’ राजभण्डारीले जंगबहादुरलाई भने।

राजभण्डारीको यो तर्क सामुद्रिक आँधीमा फसेर बेसहारा बनेका जंगबहादुरलाई मनासिव लाग्यो। उनले राजभण्डारीले भने जसरी नै लाखेलाई भाकल राखे। 

‘लौ, लाखे। सकुशल घर फर्काइदेउ। तिम्रो ख्वापा (मुखौटो) मा हिरा चढाउँछु,’ जंगबहादुरले लाखे पुकारे। 

राजभण्डारीले पनि राणाले जस्तै भाकल नगर्ने कुरै थिएन। उनै थिए लाखे सम्झाउने। 

‘आजु, म पनि सुनका तीन सिक्का चढाउँछु तिमीलाई। हामीलाई सकुशल देश फर्काइदेउ,’ राजभण्डारी र जंगबहादुरको भाकल लाखेले सुनेछन्। नभन्दै उनीहरु सकुशल आइपुगे। 

त्यसपछि, लाखेको शक्तिले आफूहरु मृत्युको मुखबाट बाँच्न सफल भएको भनेर भाकल अनुरुप उनीहरुले लाखेलाई हिरा, सुन चढाए। 

आँङमा तासका लुगा, कम्मरमा पटुकी र घंघाल मात्र पहिरने लाखे त्यसपछि हिरा र सुन जस्ता गहनाले विभुषित भयो। 

ज्यापुबाट आफूले थामेको, मानेको देवतामाथि विश्वास गरेर राजभण्डारीले देशकै ठूलो मान्छेलाई बहुमूल्य हिरा चढाउन लगाए। आफैंले पनि सुन लाखेलाई चढाए। 

सोही खुसीमा रञ्जित खलकले धन्यवादस्वरुप उनै राजभण्डारीका खलकबाट लाखेको पहिलो पूजा लिने परम्परा आरम्भ भयो। जुन आज पनि कायम छ। 

तर, दुर्भाग्य त्यो जंगबहादुले चढाएको हिरा र राजभणडारीले चढाएको सुनको सिक्का जडित मुखुण्डो २०३० सालमा चोरी हुनपुग्यो। 

विष्णुमतीको किनारमा बालुवाले पुरेर राखेको अवस्थामा केही समयपछि फेला पनि पर्यो। जंगबहादुरलाई सकुशल घर फर्काउने आजु लाखेको उक्त ऐतिहासिक ख्वापा मक्किएर, बेरंगी भएर, चोइटिएर अस्तित्वविहीन बन्न पुग्यो।

‘हाल प्रयोगमा आइरहेको लाखेको ख्वापा नयाँ हो,’ ३८ वर्षीय येँया (मजिपा, आजु) लाखे नाइके राजीव रञ्जित भन्छन्, ‘लाखे ननी (लाखे घर) मा ख्वापा राख्ने पिला (ढुंगाको सन्दुक) छ। हेर्दा माटोको जस्तो देखिए पनि त्यो एक आपसमा ठोक्किँदा ढुंगा ठोक्किएको जस्तो आवाज आउँछ। त्यहाँ नाइके र गुठियार बाहेक अरु जान मिल्दैन। हामी कसैले पनि त्यो पिलामा के छ भनेर हेरेका छैनौँ। त्यस्तो ठाउँबाट ऐतिहासिक ख्वाप्पा हरायो।’

ख्वापा जस्तै पछिल्लो समय धेरै परम्परागत पर्वहरु हराए। पुरातन मूर्ति र कलाहरु बिलाए। संस्कृति र संस्कारहरु मासिए। कति हराउने तरखरमा छन्। तर मजिपा लाखेँ नाइके राजीव भने पुस्ता हस्तान्तरणमा अहिलेबाटै लागिपरिसकेका छन्।

उनले आफ्नो तीन वर्षीय छोरालाई नाइके बनाउन तालिम सुरु गरिसकेका छन्।

‘तीन वर्षबाट १२ वर्षसम्म झ्यालिन्चा बन्नुपर्छ। त्यसपछि केही वर्ष लाखेसँगै हिँड्नुपर्यो। बाजा बजाउन, पोशाक मिलाएर लगाउन जान्नुपर्यो। न्यास पूजादेखि व्यवस्थापनसम्मको कला विकास गराउनुपर्यो’, उनी भन्छन्, ‘अहिलेबाट रुचि विकास गरिएन भने त समस्या हुन नि। कुलको जेठो छोरो मात्र नाइके हुन पाउँछ। राजपरिवारको जस्तै गरी पुस्ता सर्ने हो हाम्रो नाइकेको पनि।’

०००
राजीवका पिताको अल्पायुमा नै देहावसान भयो। सानै उमेरमा उनी लाखे नाइके बन्नुपर्ने भयो। दुई/तीन साल उनलाई लाखे नयः को काममा उनका काकाहरुले साथ दिए। 

काकाहरुको छत्रछायामा राजीवले लाखेको ७२ मिटर लामो फित्ता लाखे बन्नेको टाउकोमा बाँध्न, कम्मरमा २४ मिटरको जनी (पटुका) कस्न जानिसकेका थिए। 

रातो मुखौटा लगाएको डरलाग्दो अनुहार भएको रातै कपालले बेरिएको, च्यातिएको ठूलो मुखबाट निस्किएका दुई दाह्रा भएको ख्वापा बाँध्न जानिसकेका थिए। तासले बनेको विशेष लुगा, जामा, चोलो, फित्ता, जनीः, घङ्ला, हातमा रुमाल जस्ता सामग्री बाँधेर लाखेलाई सजाउन पनि जानिसकेका थिए। बाजाको ताल उनलाई कन्ठस्थ थियो। नृत्यको हाउभाउ उनले आफ्नो ज्यानमा ल्याइसकेका थिए।

दुई वर्षमा नै लाखे तयार गर्न सक्ने भएपछि उनी नाइके बन्ने तरखरमा लागे। काकाहरुले पनि उनलाई साथ दिए। कसैले राजनीति गरेनन् नाइके बन्न। फोनको जमाना आइसकेको थियो। उनलाई गुठियारलाई बोलाउन घरघर जान पनि परेन। अनि, १८ वर्षको उमेरमा इन्द्रजात्रामा निस्कने एक मात्र लाखेको लाखे नायः (नायक) बने राजीव।

तर, अहिले उनी एक्ला छन्। उनी पछिका पुस्ता कसलाई राम्रोसँग लाखे सजाउन नै आउँदैन। त्यसले राजीवलाई पिरलोमा तानिरहन्छ। 

उनी भन्छन्, ‘बाजेहरु गर्न नसक्ने हुनुभयो। मेरा समकालीन गुठियार पनि जान्दैनन् लाखे सजाउने काम। म भन्दा पछिको पुस्ता त छँदै छैन। एक्लैले लाखे सिंगार्नुपर्छ। मैले गरेको देखेर अलिअलि भाइले सहयोग गर्छ। म पछि त लाखे सिंगार्ने मान्छे नै छैनन्। पिर लाग्छ, गुठियारमा सिप हस्तान्तरण गर्न नपाउँदा।’

राजीवले रञ्जित खलक मात्र राखेर मतिपा लाखे सञ्चालन गुठी बनाएका छन्। उनी गुठियारहरुलाई लाखे सजाउन सिकाउने सोचमा छन्।

०००
लाखे नायक राजीव आफू भने लाखे नाच्न नपाएकोमा मन सानो गर्छन्।

‘सानैमा बा बित्नु भो। लाखे बनाइदिने मान्छे नै भएनन्। बाको जिम्मेवारी आफैंमा आयो। अरुलाई लाखे बनाउँदा बनाउँदै आफूले नाँच्न भने पाइनँ। तर अब नाच्छु होला चाँडै,’ राजीवले भने।

उसो त लाखे नाँच्न हेरे जस्तो सजिलो भने छैन। करिब ५० किलोको भेषभुषा पहिरिएर फूर्तिका साथ नाँच्न शरीर पनि उस्तै तन्दुरुस्त चाहिन्छ। 

‘लाखे नाँच्ने भनेको बाजाको ताल ख्याल गर्न सक्नेले हो। झ्यालिन्चा नबनी लाखे बन्न गाह्रो हुन्छ। संस्कृति त मर्न दिन हुँदैन भनेर लागिपरिरहेको छु,’ उनले भने, ‘लाखे नाँच्न मर्यादित पनि हुनुपर्छ। लाखे नाँचमा बाजाको तालमा हातखुट्टा हल्लाउने, टाउको हल्लाउने र दौडिने मात्र होइन, पुलुकिसी, सवःभक्कु लगायतका अरू देवीदेवतासँग भेट हुँदा मर्यादित बन्न सक्नुपर्छ। पहिले सधैं जात्रामा झगडा हुन्थ्यो। त्यसैले २०३२ सालमा मैत्री पूजा गरेर एकअर्कामा सम्मान गर्ने चलन थालियो। अहिले ती झगडालु देवताहरु एकआपसमा भेट्दा उफ्रिन्छन् र खुसियाली मनाउँछन्। परम्परालाई मैत्री रुप कायम गर्न पनि सक्नुपर्छ लाखेले।’

०००
भाद्र कृष्ण पक्ष एकादशीबाट सुन व्यवसायी राजीवको व्यावसाय बन्द हुन्छ। जात्रा नसकिएसम्म उनी लाखे ननीमा व्यस्त हुन्छन्। उनको व्यस्तता ख्वापा थन्क्याउन गरिने न्यास पूजाको भोज नसकेसम्म उत्तिकै हुन्छ। लाखे ननीमा नै येँया लाखेको ख्वापा कुरेर नै रात बिताउँछन् उनी जात्रा अवधिभर। 

‘एकादशीमा ‘पिला’ बाट ख्वापा निकालिन्छ। न्यास पूजा गरेर रङरोगन गर्न यट्खा टोलका हाम्रा चित्रकार छन्, त्यहाँ लगिन्छ’, राजीवले भने, ‘न्यास पूजा चित्रकारकहाँ लैजाँदा-ल्याउँदा नै गर्नुपर्छ। न्यास पूजा भनेको चाहिँ शक्ति निकाल्ने र फर्काउने पूजा जस्तै हो।’

न्यास पूजापछि फेरि लाखेको रातो कपाल कोरिन्छ। नयाँ राख्नु परे राखिन्छ। ती सबै प्रक्रियामा मजिपात टोलकै रञ्जित परवार मात्र सामेल हुन्छन्। 

द्वादशीका दिन इन्द्रध्वजा उठाएपछि येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुन्छ। जैसीदेवल र चिकमुगलमा तीन-तीन पटक उफ्रिएर लाखेले आफ्नो टोलबासीको रक्षामा उत्रिएको छु भन्ने संकेत दिन्छ। त्यसपछि तिनै सिद्धिमान राजभण्डारीको घरबाट लाखे पहिलो पूजा लिन पुग्छ।

यसैगरी इन्द्रजात्राका हरेक दिन लाखे तयार हुन्छ। कुमारी निस्कने दिनहरुमा भने लाखे कुमारीको बाटो बनाउँदै हिँड्छ। बाँकी दिन आफ्ना भक्तहरुको घरघर गएर पूजा लिने गर्छ। उपाकु गर्दै हिँड्छ। ती सबै कार्यको व्यवस्थापन उनै राजीवले गर्छन्।

‘तर, यसपालि लाखे मजिपात बाहेक कतै नजाने भयो। कोरोनाको जोखिम छ। यस्तोमा भक्तको घरघर गएर जोखिम बढाउन पनि भएन,’ उनी भन्छन्, ‘लाखे त्यत्रो संघर्षले कबुल गरेको वाचा हामीले भक्तका घरघरमा लाखेलाई नै लगेर रोग फैलाएर तोड्न न त भएन नि। त्यसैले यस पटक राजभण्डारीकोमा बाहेक अन्त पूजा नलिने भइयो।’

००० 
संस्कृत शब्द मज्झिपातको अपभ्रंश भएर मजिपात शब्द बन्यो। मज्झिपातको अर्थ बीचको सहर हुन्छ संस्कृतमा। गुणकामदेवले काठमाडौं सहर बनाउँदा लाखे ननी भएको ठाउँमा चिटिक्कको सहर थियो। साथै व्यापारिक स्थलमा समेत गनिन्थ्यो। मजिपात मरुहिटी, भीमसेनस्थान, जैसीदेवल र यंगालले घेरिएको छ। 

गुणकामदेवले काठमाडौं सहर बनाउँदाताकाबाट लाखे नाँच थालियो। मजिपातमा रहेको लाखे भएको कारण यसलाई मजिपात लाखे पनि भन्न थालियो। नेवारी महिना अनुसार येँया महिनामा निकाल्ने भएको कारण यो लाखेलाई येँया लाखे पनि भन्न थालियो।

‘हाम्रो लाखेँ आजु र मजिपातको किंबदन्ती बडो रोचक छ। यही किंबदन्तीका आधारमा उहाँले हामीलाई रक्षा गर्नुहुन्छ भनेर हामी मरु, भीमसेनस्थान, जैसीदेवल र यंगाल भित्रका बासिन्दा ठुक्क हुन्छन्,’ राजीवले उकेरासँग भने।

राजीव आफ्नो लाखेको रक्षाकथन यसरी सुनाउँछन्-
‘मज्झिपातको एक किसान ज्यापुकी निकै सुन्दरी छोरी थिइन्। उनी घर नजिकैको खेतमा गएर किसानी गर्थिन्।  त्यसै क्रममा उनको एक राक्षससँग माया बस्छ। त्यो राक्षसले ती युवतीको काम गदिर्ने गथ्र्यो। काम चाँडो सकेर किसान अचम्ममा थियो। त्यो राक्षस निकै शक्तिशाली थियो।

विस्तारै मायाप्रीति गहिरिँदै गयो। राक्षस लुकीलुकी राति ती युवतीको घरमा आउन थाल्यो। यो क्रम बढ्न थाल्यो। राक्षस ती ज्यापुनी युवतीसँगै सुत्न थाल्यो। उनीहरुको मायाप्रेम निकै गहिरो थियो। त्यसलाई परिवारले पनि रोक्न सक्ने अवस्था थिएन।

यो सिलसिला बढ्दै गयो। एक कान, दुई कान, मैदान भने जस्तै भयो उनीहरुको प्रेम। पूरै टोल-छिमेकीले थाहा पाए। अनि उनीहरूले राक्षसलाई रंगेहात समातेर केरकार गरे। 

टोलबासीको भेलाले छुटाउने अनेक प्रयास गरे तर  राक्षसले मानेनन्। अन्ततः ती युवती र राक्षसबीच विवाह गराउने निधो भयो। तर टोल-छिमेकीले विवाह गराइदिए वापत राक्षसले टोल र छर-छिमेकीको रक्षा गर्नुपर्ने शर्त राखियो।  

राक्षस समाजको शर्त मान्न तयार भयो। 

त्यसपछि राक्षसले जैसीदेवल, कोहिटी, क्षेत्रपाटी, ठहिटी, टेबहाल, गणबहाल, लगनटोल क्षेत्रका जनताको रक्षा गर्ने वचन दियो। र, खटिन पनि सुरु गर्यो। त्यही बेलादेखि, आजु लाखेको परम्परा सुरु भयो।

सोही ज्यापुनीका पति राक्षस नै शान्त भैरव नामले कहलिए। उनै शान्त भैरवलाई आजु, येँया, मतिपा लगायतका नामले चिनिन थाल्यो। र, लाखेले आफ्नो इलाकाका जनतामा आज पनि रोगव्याधी आउन नदिने गरेको जनविश्वास पाइन्छ। त्यही आस्थाको नजिकको घटना भनेको जंगबहादुको बेलायतको यात्रा पनि भएको राजीव उकेरासँग दावी गर्छन्। 

उनी लाखे नाँचमा देखिने साना बालक ‘झ्यालिन्चा’ को कथा थप्दै भन्छन्, ‘ती झ्यालिन्चाहरु चाहिँ लाखेले हाम्रो सुरक्षा गरिरहेको छ कि छैन भनेर चिहाउनका लागि हुन्। तिनले लाखेलाई जिस्क्याउँछन्। सांस्कृतिक मनोरञ्जनको पक्ष पनि त्यसमा जोडिन्छ।’

०००
लाखेले लिएको पूजाबाट उठेको दक्षिणाले राजीवलाई जात्रा सञ्चालन गर्न सहयोग गरिरहेका थियो। तर यसपाला भने त्यो सम्भव भएन। 

‘कुशी तोसा खानाले ९ हजार तीन सय तेत्तीस र ३५ धार्नीको रागो अन्तिम दिन बली दिनलाई दिन्छ। पहिले पुरातत्वले दिन्थ्यो १५ हजार। हामी ३६ देवताका ३६ टोली टोली छौं, इन्द्रजात्रा सञ्चालन गर्नेमा। सबैलाई गरेर १ लाख दिने भनेको छ संस्कृति मन्त्रालयले,’ उनी भन्छन्, ‘आर्थिक अभावले हाम्रो परम्परामा अप्ठ्यारो हुने दिन नआओस्। राज्यले पनि हामीलाई सपोर्ट गर्नुपर्यो। जनताले दिएको चन्दाले नै इन्द्रजात्रामा निस्कने एक मात्र लाखे, लाखे आजुको पूजा र भोज खर्च चलिरहेको छ।’

जात्रा-पर्व जातको नभएर देशकै पहिचान हो। आफ्नो पहिचानलाई राज्यले बेवास्था नगरोस् भन्ने चाहन्छन् उनी। २ वर्षअघि हातमा खोपिएको लाखेको ट्याटु सुम्सुम्याउँदै येँया लाखे नाइके राजीव भन्छन्, ‘जंगबादुरलाई बचाएका लाखेले आफ्नै पूजा त नरोक्लान् नि।’

असोज ११, २०७८ सोमबार १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।