कर्णालीमा कांग्रेस महाधिवेशन : कुन पालिकामा को सभापति ? 

कर्णालीमा कांग्रेस महाधिवेशन : कुन पालिकामा को सभापति ? 

सुर्खेतः नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशनको क्रममा छ। विभिन्न जिल्लाका स्थानीय तहहरूमा पार्टीका दुई समुहले आ–आफ्ना उम्मेदवारहरू खडा गरेर निर्वाचनमा गएका छने भने कतिपय स्थानमा सर्वसम्मतरूपमा नै नेतृत्त्व चयन भएका छन्।

कर्णाली प्रदेशका भने धेरै जसाे पालिकामा निर्वाचन सम्पन्न भई मतपरिणाम पनि सार्वजनिक भएकाे छ। केहीमा आजसम्म मतपरिणाम आउने बताइएकाे छ। केही पालिकामा भने क्रियाशील सदस्यता विवादले निर्वाचन नै हुन सकेकाे छैन।

यद्यपि सुर्खेत र डाेल्पामा भने क्रियाशील सदस्यकाे विवादका कारण वडा अधिवेशन पनि हुन सकेकाे छैन।

दैलेख
अघिल्लो महाधिवेशनमा पौडेल पक्षले वर्चश्व जमाएको दैलेखका ८ वटा स्थानीयतहमा अहिले शेरबहादुर देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ। निर्वाचन परिणामअनुसार ८ स्थानीय तहमध्ये ५ मा देउवा पक्षले सभापति जितेको छ।

८ पालिकामध्ये दुल्लू नगरपालिकामा सहमतिकै आधारमा देउवा पक्षका लालबहादुर रावत सभापति भएका छन्। 

यस्तै जिल्ला सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा पनि देउवा पक्षका मनोज थापा विजयी बनेका छन्। उनले पौडेल समूहका सुवास थापालाई १६ मतले पराजित गरेका हुन्।

नौमुले गाउँपालिकामा गंगबहादुर शाहीले, पौडेल पक्षका कर्ण बहादुर शाही र मोतिलाल बस्नेतलाई पछि पार्दै ४७ मत ल्याएर सभापति जितेका हुन्। चामुण्डाविन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही पनि देउवा पक्षबाट नै सभापति बनेका छन्। उनले पौडेल पक्षका जोगी शाहीलाई ६ मतान्तरले पराजित गरेका हुन्।

डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन्। उनले पौडेल पक्षका गंगबहादुर खत्रीलाई २४ मतान्तरले पराजित गरेका हुन्। यस्तै ठाँटीकाँध गाउँपालिकामा भने पौडेल पक्षका विष्णुप्रसाद रिजालले देउवा पक्षका रवीन्द्र थापालाई २६ मतान्तरले पराजित गरेका छन्।

गुराँस गाउँपालिकामा पनि पौडेल पक्षका चन्द्र भट्टराईले देउवा पक्ष्का बम बहादुर शाहीलाई ३३ मतान्तरले पराजित गरेर सभापति बनेका छन् भने महाबु गाउँपालिकामा पौडेल पक्षका कर्ण बहादुर शाहीले देउवा पक्षका भीम थापालाई ११ मतले पराजित गरेका छन्।

११ वटा स्थानीय पालिका भएको दैलेखमा भगवतीमाई गाउँपालिकामा विवाद कायमै रहेको छ भने भैरवी गाउँपालिका र आठबिस नगरपालिकामा निर्वाचन हुन बाँकी छ। 

हुम्ला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाहीको गृह जिल्ला हुम्लामा ७ वटा गाउँपालिकामध्ये ६ वटामा सर्वसम्मत देउवा पक्षका सभापति चयन भएका छन्। सर्केगाड गाउँपालिकामा भने निर्वाचन हुने भएको छ।

नाम्खा गाउँपालिकामा सोनाम बहादुर लामा, सिमकोट गाउँपालिकामा धर्मराज रोकाय, खार्पुनाथमा टक्क बहादुर शाही, चंखेलीमा नरबहादुर भण्डारी, अदानचुलीमा विष्णु भण्डारी र ताँजाकोटमा कृष्ण बहादुर मल्ल सभापति भएका छन्। 

जम्ला 
गुठीचौर गाउँपालिकामा देउवा पक्षका तेज बहादुर भण्डारी र सिंजा गाउँपािलकामा गोविन्द शर्मा निर्विरोध सभापति चयन भएका छन्। 
पौडेल पक्षबाट भने हिमा गाउँपालिकामा नर बहादुर शाही, तातोपानी गाउँपालिकामा धन प्रसाद चौलागाई, तिला गाउँपालिकामा भक्त बहादुर रोकाया  निर्विरोध सभापति चयन भएका छन्। 

पातारासी गाउँपालिकामा पनि निर्विरोध नेतृत्त्व ल्याउने तयारी भइरहेको कांग्रेस नेताहरू बताउँछन्। चन्दनाथ नगरपालिका र कनका सुन्दरी गाउँपालिकाको निर्वाचन नतिजा भने सोमबारसम्ममा आउने छ।

सल्यान
दार्मा गाउँपालिकामा देउवा पक्षका कृष्ण बहादुर वली, बागचौर नगरपलिकामा दिपेश डाँगी, कुमाख गाउँपालिकामा ईश्वरी शाही, छत्रेश्वरी गाउँपालिकामा  सिता केसी र कपुरकोट गाउँपालिकामा यज्ञ ओली सभापतिमा निर्वाचित भएका छन्। 

त्रिवेणी गाउँपालिकामा पनि देउवा पक्षकै गंगाराम पुन निर्विरोध सभापति चयन भएका छन्।

यस्तै वनगाड कुपिण्डे नगरपालिकामा पौडेल पक्षका पुरुषोत्तम भट्टराई, सारदा नगरपालिकामा दीपक हमाल र कालिमाटी गाउँपालिकाका टोप बहादुर केसी  सभापतिमा निर्वाचित भएका हुन्। 

यस्तै सिद्धकुमाख गाउँपालिकमा पनि पौडेल पक्षकै वीर बहादुर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।

रुकुम पश्चिम 
६ स्थानीय तह भएको यस जिल्लाको मुसीकोट नगरपालिकामा प्रेमबहादुर ओली, आठविसकोट नगरपालिकामा अमृत बोहरा, चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली, बाँफिकोट गाउँपालिकामा जनक कुमार बाँठा (जेके), सानीभेरी नगरपालिकामा सन्तोष रोका र त्रिवेणी गाउँपालिकमा दिपेन्द्र कुमार ओली सभापति चयन भएका छन्। 

सभापति चयन भइसकेपछि कुन पक्षको उम्मेदवार भन्ने खुलाउन नमिल्ने रुकुम पश्चिमका जिल्ला सभापति प्रेम प्रसाद वलीले बताए। 

जाजरकोट
जिल्लाको भेरी नगरपालिकामा शशी बुढा निर्वाचनमार्फत सभापति भएका छन् भने छेडागाड नगरपालिकामा टोपेन्द्र अधिकारी, शिवालय गाउँपालिकामा जस्विर वली, नलगाड नगरपालिमा जय बहादुर सिंह र बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योती निर्विरोध सभापतिमा चयन भएका छन्।

कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा निर्वाचन भए पनि नतिजा सार्वजनिक हुन बाँकी छ। 

जिल्लाको नेतृत्त्व नै सर्वसम्मत गर्नेगरी तयारी थालेकोले टीमको कुरा भन्न नमिल्ने नेपाली कांग्रेस जाजरकोट जिल्ला कमिटीका सदस्य नेता बेदराज सिंहले बताए।

कालिकोट
जिल्लामा देउवा र पौडेल दुवै पक्ष मिलेर ९ वटै पालिकामा सर्वसम्मत नेतृत्त्व चयन गरेका छन्। शुभकालिका गाउँपालिकामा दीर्घ शाही सभापति भएका छन्।

महावै गाउँपालिकामा पुराधि अधिकारी, तिलागुफा नगरपालिकामा धिरेन्द्र थापा, खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, रास्कोट नगरपालिकामा वीर फ्रसाल, नरहरीनाथ गाउँपालिकामा रामबहादुर बटाला, सान्नी त्रिवेणी गाउँपालिकामा विरेन्द्र केसी, पचालझरना गाउँपालिकामा प्रजापति सञ्ज्याल र पलाँता गाउँपालिकामा धिर बहादुर बम सर्वसम्मतबाट चयन भएको कालिकोट जिल्लाका सभापति हर्ष बलमे जानकारी दिए।

मुगु
सोरु गाउँपालिकामा सुर्यजंग शाही, कार्मारोङ गाउँपालिकामा गारा तामाङ निर्विरोध सभापति चयन भएका छन्। खत्याड गाउँपालिकामा सभापति सर्वसम्मत गर्नेगरी तयारी भएको नेताहरूले बताएका छन्। 

यस्तै छायाँनाथ रारा नगरपालिकामा भने सोमबार निर्वाचन हुनेछ। देउवा टीमबाट चक्रबहादुर सावद र पौडेल टीमबाट राज बहादुर सेजुवाल सभापतिका आकांक्षी भएपछि निर्वाचन गराउनुपर्ने बाध्यता रहेको नेपाली कांग्रेस मुगुका नेता केशरजंग शाहीले जानकारी दिए।

सुर्खेत र डोल्पामा निर्वाचनको बाटो खुल्यो
क्रियाशील सदस्यता विवाद भएको ५ जिल्लामध्ये कर्णालीका २ जिल्लामा नेपाली कांग्रेसले सदस्यता सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा सुर्खेत र डोल्पासहित ५ जिल्लाको नामावली प्रकाशित गरेको हो।

सुर्खेत, डोल्पा, बाँके, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरेको छ।

क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। अब क्रियाशील सूची आएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको छ।
 

असोज ११, २०७८ सोमबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।