त्यस दिनपछि मीनाले अबेरसम्म रिक्सा चलाउन छाडिन्

बुटवलः हरेक दिन बिहानको झिसमिसेमै बुटवलको सुख्खानगरबाट रा१ह ५२८५ नम्बरको ई–रिक्सा हिलपार्कतिर लाग्ने गर्छ। झिसमिसे नै भएकाले ई–रिक्साको हेडलाइट ‘अन’ नै हुन्छ। हेडलाइटले फालेको प्रकाश पछ्याउँदै रिक्सा हाँकिरहेकी हुन्छिन्– मीना नेपाली।
मीनाको यो दैनिकी हो। ‘आज अबेरसम्म सुतौंन त’ भन्ने दिन उनको जीवनमा आएको छैन। न त उनलाई शनिबारले छुन्छ।
झिसमिसेमै यात्र्को खोजीमा निस्कने मीना बिहान ९ बजे घर फर्कन्छिन्। खाना खान्छिन्। अनि पुनः ई–रिक्साको स्टेरिङ मोड्दै साँझ अबेरसम्म काममै व्यस्त हुन्छिन्।
मीनाले रिक्सा चलाएर जीविकोपार्जन गर्न थालेको ४ वर्ष भयो। ३ वर्ष भाँडामा रिक्सा चलाइन्। गएको वर्ष सरसापट र कर्जा गरेर आफ्नै ई–रिक्सा किनेकी छिन्।
महामारीको समयमा उनले रिक्सा खरीद गरेकी थिइन्। तर लकडाउनले हिँडडुल नै बन्द भयो। मीनाको रिक्सा थन्कियो। पैसा कमाउन सकिनन्। बैंक र सहकारीबाट कर्जा लिएकी थिइन् त्यो पनि तिर्न सकेकी छैनन्।
‘बुटवलमा रिक्सा बढी भए। आवश्यकभन्दा बढी भएकाले पनि यात्रु कम पाइन्छ। यात्रु नै नहुँदा किस्ता तिर्न त परको कुरा, घरखर्च चलाउन समेत हम्मेहम्मे हुन्छ’, उनले भनिन्।
तर बुटवल उपमहानगरले हालसालै ई–रिक्सा व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको छ। एक हजार ८० ई–रिक्सा दर्ता भएर चल्न सुरु पनि गरेका छन्। ‘यी दर्ता भएका मात्र चल्न थाले भने पनि दैनिक घरखर्च चलाउन सजिलो होला’, उनले भनिन्।
उनले यति भनिरहँदा उनलाई बैंकको ऋणको चिन्ता थिएन, थियो त घरखर्च जुटाउने चिन्ता।
अनि मीनाले एक चड्कन हानिन्
असारको पहिलो साता। सिमसिम पानी परिरहेको थियो। तर मीनालाई ‘पानी पर्यो, आज जान्न’ भन्ने सुविधा थिएन।
उनी सधैं जसो झिसमिसेमा घरबाट निस्किइन्। बिहानको ५ बजेको थियो। रिक्सा जीवराज आश्रित प्रतिष्ठान हुँदै अघि जाँदै थियो। भाटभटेनी जाने चोक नजिकै एक जनाले हात हल्लाए।
मीना दंग परिन्– छिट्टै यात्रु पाइयो भनेर। मीनाले रिक्सा रोकिन्। त्यी व्यक्ति चढे। अनि आफूलाई गोलपार्कसम्म पुर्याइदिन भने। उज्यालो भइसकेको थिएन।
गोलपार्कको मन्दिर नजिकै पुग्नासाथ त्यी व्यक्तिले मीनालाई जिस्काउन थाले। सुरुमा मोबाईल नंं मागे। मीनाले मोबाईल नै नबोक्ने बताइन्। त्यसपछि ती व्यक्ति अपशब्द बोल्न लागे।
एक्लै, त्यो पनि झिसमिसेमा। गुहार माग्दा पनि मान्छे आउने हुन् कि होइनन् जस्तै थियो। मीना आत्तिइन्।
तर ती व्यक्तिले आफूमा काबु गुमाएर मीनालाई गिज्याउन थाले। मीनालाई असह्य भयो। मीनाले एक चड्कन गालामा दिइन्। त्यसपछि भाडा पनि नबुझी उनी ईलाका प्रहरी हुँदै अमरपथतिर लागिन्।
‘त्यसपछि आजभोलि त साँझ ७ बज्दा कोठामा आइपुग्छु, रात परेपछि रिक्सा नै चलाउँदिन’, मीनाले भनिन्, ‘जब त्यो घटना भयो एक प्रकारले मनमा साहस भने आयो।’
अहिले अवस्था फेरिएको छ। मीनालाई कसैले हेपे, मज्जैले जवाफ फर्काउन सक्छिन्।
‘कसैले जिस्काउने, नराम्रो भन्ने गर्न थाले स्वतन्त्र यातायात मजदुर संगठनकी उपाध्यक्ष हुँ, कोसँग तपाईं यसरी बोल्दै हुनुहुन्छ? भनेर भन्छु। त्यसपछि त उनीहरू चुप बस्छन्’, मीनाले भनिन्।
के सम्म गरिनन् मीनाले!
०६६ सालमा मीना बुटवल झरिन्। साथमा ३ छोराहरू थिए। श्रीमान गाउँमै छाडेर मीना बुटवल झरिन्। ‘श्रीमानबाट केही पनि सहयोग हुने अवस्था थिएन, उहाँ बिरामी हुनुहुन्थ्यो। उहाँलाई घरमै छाडेर केही गर्नुपर्छ, केटाकेटी पढाउन पर्छ भनेर यहाँ आएकी हुँ’, मीनाले भनिन्।
सुरुमा उनले शंकरनगरमा एक चिउरा उद्योगमा काम गरिन्। गह्राैं सामान उठाउन पर्ने भएपछि ५ महिनामै उनले जागिर छाडिन्।
त्यसपछि बुटवलको एक भुजा उद्योगमा काम गर्न थालिन्। त्यो उद्योगमा उनले २ वर्ष काम गरिन्। छोराहरूलाई पढाउनुपर्ने, कोठाभाडा तिर्नुपर्ने, घरखर्च पनि चलाउनुपर्ने जिम्मेवारी मीनामा थियो। भुजा उद्योगबाट पनि भने जस्तो नभएपछि घरायासी काम गर्न थालिन्।
बिहान १० देखि बेलुका ५ बजेसम्म काम गर्थिन्। यो काम मीनाले ४ वर्ष गरिन्। ०७४ सालमा स्थानीय तहको निर्वाचन भयो। उनी म्यादी प्रहरी बनिन्।
पछि मीना दिनभर मजदुरी गर्थिन् र रातमा गार्मेन्टबाट ल्याएका कपडा सिलाउँथिन्। जसोतसो घरखर्च चलिरहेको थियो।
तर कमाइ पनि कम, सन्तुष्टि पनि कम भएपछि उनले ई–रिक्सा चलाउन थालिन्। ‘सुरुमा त्यति रिक्सा थिएनन्। आम्दानी राम्रो थियो। त्यही खर्चले छोराहरू पढाएँ, घर चलाएँ’, मीनाले भनिन्।
मीना र छोराहरू बुटवलमा थिए। उता छत्रकोट गाउँपालिका मानकोटमा मीनाका श्रीमान थिए।
मीनाका श्रीमानकाे मानसिक स्वास्थ्य ठीक थिएन। ०७३ साल असार १५ गते, श्रीमान ओम बहादुर नेपालीको भीरबाट लडेर निधन भयो।श्रीमानको काजकिरिया खर्च मीनाले म्यादी प्रहरी बनेर कमाएकाे पैसाबाट तिरिन्।
गुल्मीको रुरु गाउँपालिकाको सानो चिदीमा जन्मिएकी मीनाको गुल्मीकै छत्रकोट कालीढुंगाका ओमसँग १४ वर्षको उमेरमा विवाह भएको थियो।
आँटिली मीना
अहिले मीना आँटिली भएकी छिन्। उनी स्वतन्त्र मजदुर संगठन बुटवलकी उपाध्यक्ष पनि हुन्।
अहिले रिक्सा चलाएरै छोराहरूलाई निजी बोर्डिङमा पढाउन सफल भएकी छिन्। ३ छोराहरूमध्ये जेठो छोरो सुनिल वाणिज्य क्याम्पसमा स्नातकमा गदैछन्। माहिलो छोरो अनिष १२ कक्षा पढ्छन् भने कान्छो विकाश कक्षा ६ मा पढ्दै छन्।
मीनाको कार चलाउने धोको
मीनालाई अब कार सिक्ने र कार चलाउने ठूलो धोको छ। तर आर्थिक स्थितीका कारण तत्काल यो सपना पूरा हुने देखिँदैन।
‘छोराहरू हुर्कदैँ गए पनि काममा लागेका छैनन्। उनीहरूकै खर्च मैले धान्न सकेकी छैन। कसैले सहयोग गरेमा कार सिक्ने धोको छ’, मीनाले भनिन्।
असोज ११, २०७८ सोमबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।