कर्णाली प्रदेश सभामा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता
सुर्खेतः कर्णाली प्रदेश सभामा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता भएको छ। जुम्लाबाट निर्वाचित प्रदेश सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आइतबार प्रदेश सभामा पहिलो गैरसरकारी विधेयक दर्ता गराएका हुन्।
कर्णाली प्रदेश सभामा दर्ता भएको यो विधेयक नेपालको प्रादेशिक संरचनाको अभ्यासको क्रममा पहिलोपटक र महत्त्वपूर्ण भएको भन्दै सांसद भण्डारीले प्रदेश सभामा दर्ता गराएका हुन्। उनले व्यक्तिगत रूपमा तयारी गरेको यो विधेयक खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि महत्त्वपूर्ण दस्ताबेजको रूपमा रहने सांसद भण्डारीले बताए।
‘सिंजा सभ्यता क्षेत्रको सामाजिक, धार्मिक, भाषिक, आर्थिक, सांस्कृतिक, तथा पर्यटकीय पूर्वाधारहरूको विकास गर्न यो विधेयकको आवश्यकता महसुस भएपछि दर्ता गराएको हुँ,’ उनले भने, ‘सिंजा सभ्यता क्षेत्रभित्रको भाषिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्त्वका स्थानहरू र सो क्षेत्रभित्र रहेका विभिन्न सम्पदाको संरक्षण र व्यवस्थापन गर्नका लागि विधेयक दर्ता गरेको हो।’
विधेयकले ऐनको रूपमा आकार लिन सकेको खण्डमा सिंजा सभ्यता क्षेत्रको महत्त्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन गोष्ठी वा प्रदर्शनीको आयोजना गर्ने, सिंजा सभ्यता संरक्षण तथा विकासमा टेवा पुर्याउन इतिहास, पर्यटन, धर्म, भाषा, परम्पतागत विधि रसंस्कृतिमा आधारित सामग्री उत्पादन, प्रकाशन, प्रसारण तथा अभिलेख सम्बन्धी कार्य गर्ने, सिंजा सभ्यता संरक्षण तथा विकासका लागि विश्वविद्यालय, विद्यालय, सञ्चार गृह र प्रशिक्षण प्रतिष्ठानहरूसँगको समन्वयमा आवश्यक पाठ्यक्रम निर्माण गरी शैक्षिक कार्यक्रम, प्रशिक्षण, सीपमूलक, प्रविधिमूलक, ज्ञानवर्धक तथा अनुसन्धानात्मक एवं व्यवसायिक तालिम गोष्ठी सञ्चालन गर्ने काम गर्न सकिने उनको भनाइ छ।
सांसद भण्डारीले विधेयकमा सिंजा सभ्यता क्षेत्रभित्रका प्राचीन, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, थान, ताल, कुण्ड, सरोवर, गुफा र अन्य तीर्थ स्थलहरूको पहिचान, खोजी तथा अनुसन्धान गर्ने, सिंजा सभ्यता क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न आवश्यक कार्य गर्ने उदेश्य राखेका छन्।
असोज ११, २०७८ सोमबार ०७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।