भारतीय नागरिक प्रकाश भनेर अदालतबाट उम्किएका दुर्गा नेपाली नागरिक, प्रहरीको अनुसन्धान शंकामा

भारतीय नागरिक प्रकाश भनेर अदालतबाट उम्किएका दुर्गा नेपाली नागरिक, प्रहरीको अनुसन्धान शंकामा
पक्राउताका दुर्गा( स्रोत: प्रहरी) अनी नागरिकता विवरण र तस्बिर (स्रोत : अनलाइनखवर डटकम)

काठमाडौँ :  प्रहरी प्रतिवेदनको कमजोरीमा खेल्दै नेपाली हैन भनेर सफाई पाएका अपहरणका प्रतिवादी दुर्गाबहादुर बुढाथोकीको नेपाली नागरिकता फेला परेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले उनको नाममा जारी गरेको नागरिकता विवरण फेला परेको हो।

नागरिकता रेकर्ड राख्ने विवरणमा रहेको तस्बिर उनै बुढाथोकीसँग मेल खाने देखिन्छ। जन्म मिति २०३९-०५-२० रहेको नागरिकतामा उल्लेख भएको उनको परिवारको विवरण समेत मेल खाएको छ।

नागरिकताको ढड्डामा उनको नागरिकता नम्बर ५४९८०३०१ उल्लेख छ। उनको नागरिकता अनलाइनखवरले सार्वजनिक गरेको हो।

प्रहरीले अपहरणमा संलग्न भएर फरार भएको ११ वर्षपछि उनलाई दार्जिलिङबाट पक्राउ गरेर नेपाल ल्याएर अपहरणमा पूरक अनुसन्धान गर्दा बयानमा भर गरेर उनी नै बुढाथोकी हो भन्ने प्रमाणित गर्ने कागजपत्र पेस नगर्दा उनले भारतीय राशन कार्डको आधारमा आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको दाबी गरेका थिए।

सरकारी वकिलसँगको बयानमा सबै स्विकारेका उनले अदालती बयान बदल्दा प्रहरीले गरेको लापरबाहीले साथ दियो। उनी प्रारम्भमा पुर्पक्षका थुनामा गए पनि असोज ५ मा सफाई पाए। सफाई पाएर कारागार मुक्त भए लगत्तै उनी भारततिर लागिसकेका छन्।
दुर्गाले आफू नेपाली नागरिक नभएको भन्दै पेस गरेको प्रमाणको आधारमा सफाई पाएकोबारे उकेराले असोज ७ मा विस्तृत समाचार प्रकाशित गरेको थियो। उकेराको खुलासापछि दुर्गाबारे प्रहरीले प्रमाण खोज्न सुरु गरेको थियो।

उनलाई पक्राउ गर्दाताका केन्द्रीय अनुसन्धान ब्युरोमा सहकुल थापा प्रमुख थिए। उनी एआइजीमा बढुवा भइसके। मुद्दा चलाउने निकाय महानगरीय प्रहरी परिसर काठमाडौँ जसले पूरक अनुसन्धान गर्दा उनी नेपाली हुन् या हैनन् नखोजी अनुसन्धान प्रतिवेदन बुझाएको थियो त्यो बेलाका एसएसपी अशोक सिंह अहिले पनि परिसरमै छन्।

असोज ११, २०७८ सोमबार ००:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।