कांग्रेस महाधिवेशन: सुनसरीमा कमजोर बन्यो देउवा पक्ष
सुनसरीका दुई उपमहानगर धरान र इटहरीमा संस्थापन इतर पक्षले जितेको छ। संस्थापन पक्षका ठुला नेताकै नगरमा इतर पक्षले बाजी मारेको हो।
संस्थापन पक्षका केन्द्रीय सदस्य मीन विश्वकर्माको गृह नगर धरानमा इतर पक्ष हाबी भयो। इतर पक्षका सम्पूर्ण उमेद्धवारले चुनाव जितेपछि संस्थापन देउवा पक्ष छायामा परेको छ। पूर्व नगर सभापति किशोर राईलाई पछि पार्दै नगर सचिव रहेका श्याम पोखरेल विजयी भए।
इटहरी उपमहानगर समितिमा पनि संस्थापन इतर पक्ष हाबी भएको छ। कार्यसमितिमा मिश्रित परिणाम देखिए पनि सभापतिमा इतर पक्षका हेम कर्ण पौडेलले बाजी मारे।
निक्कै रोचक प्रतिस्पर्धा रहेको इटहरीमा नेबिसंघ पूर्व उपसभापति विकाश केसी र अहिलेका सभापति पौडेलबिचको प्रतिस्पर्धामा पौडेल पक्षका अधिकांश उम्मेदवार विजयी भए।
केसीलाई जिताउन उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम बहादुर पौडेल, नेबिसंघका केन्द्रीय सभापति राजीव ढुङ्गाना, इटहरीमा मेयर पदका उम्मेदवार रोहित प्रसाईँ लगायतकाहरु सक्रिय भएका थिए।
इटहरी जेसीजका अध्यक्ष प्रकाश राई आफै सह–सचिवको उम्मेदवार भएका थिए। होटेल व्यवसायी सङ्घ देखी विभिन्न संस्थाले केसीको समर्थनमा प्रचार गरेका थिए। तथापि दुई कार्यकाल सभापति भइसकेका पौडेलले नै जिते।
सुनसरीको सदरमुकाम इनरुवामा पनि इतर पक्षका राजन मेहेता विजयी भए। पूर्व सभापति तथा मेयर समेत रहेका मेहेताले दोस्रो कार्यकालको लागी प्रतिस्पर्धामा उत्रिएका थिए। जिल्ला सभापति राजीव कोइरालाको समर्थनमा चुनावी मैदानमा होमिएका उनले फराकिलो मतान्तरले विजय हासिल गरे।
इटहरी र इनरुवाको बिचमा रहेका रामधुनीमा पनि संस्थापन इतर पक्षका सुदी अधिकारी विजयी भए। संस्थापन पक्षका सगेन चौधरीलाई पराजित गर्दै उनले दोस्रा कार्यकाल सुरक्षित गरे।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्रमा भने संस्थापन पक्षले जित हासिल गरेको छ। केही दिन अगाडी कार्की आफैले क्षेत्रीय प्रतिनिधिलाई भेट्ने र सम्मान गर्ने कार्यक्रम राखेपछि त्यसको प्रभाव निर्वाचनमा देखियो।
भोजपुरबाट सुनसरी ४ मा निर्वाचन क्षेत्र सारेका उनले पार्टी भित्र आफ्नो प्रभाव बढाउँदै लगेका छन्। आफ्नो क्षेत्रमा निकट व्यक्तिलाई स्थापित गराउने लाइनमा लागेका छन् उनी। सोही क्रममा वराहक्षेत्र नगरपालिकाको सभापतिमा रमेश कार्की र कोसी गाउँपालिकाको सभापतिमा सुलेमान मन्सुरी विजयी भए।
हरि नगर गाउँपालिकामा संस्थापन इतर पक्षका नुनु अन्सारी सभापति भए। सो क्षत्रमा देउवा पक्षका गफार अन्सारीको प्रभाव बढी भएकोले इतर पक्ष कमजोर रहेको आङ्कलन गरिँदै आएको थियो। त्यस्तै बर्जु गाउँपालिकामा कृष्ण सङ्ग्रौला, गढी गाउँपालिका सभापतिमा कमल चौधरी, देवान गन्ज गाउँपालिकामा जगधर यादव संस्थापन इतर पक्षबाट निर्वाचित भए।
अधिवेशन बाँकी रहेको दुहबी नगरपालिकामा पनि कोइराला पक्षका वेदनारायण गच्छदार विजयी हुने सम्भावना बढ्दै गएको छ। यसअघि विजयकुमार गच्छदार पक्षका उनी हाल दुहबीका मेयर समेत हुन्। त्यस्तै भोक्राह नरसिंह गाउँपालिकामा पनि संस्थापन इतर पक्ष नै बलियो देखिन्छ।
यसअघि कुनै पनि पक्षमा नखुलेका जिल्ला सभापति कोइराला १४ औँ महाधिवेशनमा संस्थापन इतर पक्षमा खुलेर लागी परेका छन्। इतर पक्षबाट जिल्ला सभापतिका उम्मेदवार हारेका केदार भण्डारीलाई विजयी गराउन उनले सक्रियता देखाएका हुन्।
पालिका अधिवेशनले आगामी जिल्ला नेतृत्वको सङ्केत गर्ने भएकाले धेरै नेताहरूले आ–आफ्नो पक्षका नेतालाई जिताउन सक्रिय भएका छन्।
असोज १०, २०७८ आइतबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।