न्याय माग्न काठमाडौं हिँडेको टोलीबाट मुख्यमन्त्री कार्यालयमा धर्ना सुरु

न्याय माग्न काठमाडौं हिँडेको टोलीबाट मुख्यमन्त्री कार्यालयमा धर्ना सुरु

बुटवलः न्याय माग्न काठमाडौंसम्म पैदल यात्रा गरिरहेको टोलीले आजबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना सुरु गरेको छ। धर्ना ३ दिनसम्म जारी रहने टोलीले जनाएको छ।

प्रहरीले हत्यासँग जोडिएको घटनाको न्यायसंगत छानबिन नगरेको भन्दै नेपालगन्जका ११ महिला र ३ पुरुषको टोलीले न्याय माग्न काठमाडौंसम्म पैदल यात्रा गरिरहेको छ।

गत असोज १ गते जिल्ला प्रशासन कार्यालय बाँकेबाट काठमाडौंका लागि यात्रा तय गरेका उनिहरू ९ दिनका दिन हिजो बुटवल आइपुगेका थिए। बुटवल आउनसाथ उनीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना सुरु गरेका हुन्। 

९ दिनदेखि पैदल यात्रा गरेका उनीहरू अधिकांशको खुट्टामा ठेला उठेको छ। लौरोको टेक्दै व्यानर लिएर हिँडेका उनीहरू जहाँ रात पर्छ त्यही बास बस्ने र अर्को दिन पुनः यात्रा तय गर्ने टोलीमा रहेकी महिला अधिकारकर्मी रुवि खानले बताइन्।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबीको हत्या भएको र हत्याको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै टोली आन्दोलित छ। यस्तै नेपालगञ्ज परस्पुर गाउँकी निर्मला कुर्मी गत वर्षको मंसिरमा बेपत्ता भएकी थिइन्। आफन्तले उनको खोजी गरिदिन प्रहरीसमक्ष निवेदन दिए पनि प्रहरीले उनको मृत्यु भइसकेको जानकारी गराई अनुसन्धानमा चासो नदिएको टोलीको आरोप छ। 

नेपालगञ्जमा भएका यी २ घटनाको अनुसन्धानको माग गर्दै उनीहरू न्यायको खोजीमा काठमाडौं हिँडेका हुन्। काठमाडौं पुगेर प्रधानमन्त्री शेर बहादुर देउवलाई ज्ञापन पत्र बुझाउने टोलीको तयारी छ।

र याे पनि, 

असोज १०, २०७८ आइतबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।