रुपन्देहीका १५ स्थानीय तहमा कांग्रेसको नगर अधिवेशन सम्पन्न, देउवा पक्षकै वर्चश्व
बुटवलः नेपाली कांग्रेस गाउँ, नगर अधिवेशनमा भएको निर्वाचनमा रुपन्देहीमा संस्थापन पक्ष नै हाबी भएको छ। सैनामैना, तिलोत्तमा, सिद्धार्थनगरनगर र लुम्बिनी सांस्कृतिक नगरपालिकामा देउवा पक्षका विजयी भएका छन् भने बुटवल उपमहानगर र देवदह नगरपालिकामा रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी बनेका छन्।
बुटवल उपमहानगरपालिकामा पौडेल पक्षका खेलराज पाण्डे तेस्रो पटक नगर सभापतिमा विजयी भएका छन्। बालकृष्ण खाँड र जिल्ला सभापति अव्दुल रज्जाकको साथ पाएकी रिता केसीलाई झण्डै दोब्बर मतले पराजित गर्दै पाण्डे उपमहानगरमा तेस्रो पटक विजयी भएका हुन्।
पाण्डेले ४ सय १२ मत प्राप्त गर्दा केसीले एक सय १४ मत ल्याएकी थिइन्।
यता देवदह नगरपालिकामा पौडेल पक्षका गुणाखर भुर्तेल निर्वाचित भए। देउवा पक्षका झविन्द्रप्रसाद पाण्डेलाई ३ मतले पराजित गर्दै भुर्तेल विजयी भएका हुन्।
तिलोत्तमा नगरपालिकामा भने देउवा पक्षका हरिलाल पाण्डे विजयी भए। पौडेल पक्षका उम्मेदवार नारायण न्यौपानेलाई दुई मतले हराउँदै पाण्डे दोस्रो पटक नगरसभापतिमा विजयी भएका हुन्। सभापतिका अर्का उम्मेदवार हरि तिवारीले ३० मत ल्याए।
सैनामैना नगरपालिकामा पनि देउवा पक्षका रणबहादुर खनाल एक सय २६ मतसहित विजयी भए। उनका प्रत्यासी पौडेल पक्षका कृष्ण प्रसाद पोखरेललाई २४ मतको अन्तरले हराए। खनालले एक सय २ मत प्राप्त गरेका थिए।
सिद्धार्थनगर नगरपालिकामा पनि देउवा पक्षका कोशिस खड्काको प्यानलनै विजयी भएको छ। सभापतिमा खड्काले एक सय ३९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी पौडेल पक्षका सन्जीव शर्मा रेग्मीले ९३ मत र सभापति पदकै अर्का उम्मेदवार सन्जिव गुरुङले २ मत प्राप्त गरेका थिए।
त्यसैगरी रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगी निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार ईकवल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित भएका हुन्। योगीले ७० मत प्राप्त गरे भने खाँले ५४ मत प्राप्त गरेका थिए।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा देउवा पक्षका मोह्मद खाँ सर्वसम्मत् निर्वाचित भएका थिए।
शुद्धोधन गाउँपालिकमा दामोदर पौड्याल निर्वाचित भएका छन्। उनले ८२ मत प्राप्त गरे। उनका प्रत्यासी पल्टन चौधरीले २१ मत ल्याए भने मञ्जीत यादवले २३ मत प्राप्त गरे।
कञ्चन गाउँपालिकामा देविराम रेग्मी निर्वाचित भएका छन्। सियारीमा गोपाल पाण्डे, मायादेवीमा पदम भण्डारी निर्वाचित भएका छन्। सम्मरीमाई गाउँपालिकामा भने आज निर्वाचन हुँदै छ।
नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकासँगै गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत् नेतृत्त्व चयन भएको छ।
मतदान अधिकृतहरूका अनुसार गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी निर्वाचित भएका छन्। यहाँ पनि देउवा पक्षकै वर्चश्व रहेको छ।
असोज १०, २०७८ आइतबार ०९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।