थोत्रो टायरमा अर्बाैँकाे व्यावसायिक सम्भावना : मासिक करोड कमाउँछन् अजेयमान

थोत्रो टायरमा अर्बाैँकाे व्यावसायिक सम्भावना : मासिक करोड कमाउँछन् अजेयमान

बुटवलः वर्षाैँसम्म गाडीको भार र सडकको कालोपत्रे भोगेको टायर फालेपछि के काम? साइकलका टायर त तै तै साना बालबालिकालाई खेल्न काम लाग्छ। तर अचेल मोबाइल र टिकटकको समयमा टायर खेल्ने कुन बालबालिकालाई पो फुर्सद!

तर बुटवलका उद्योगी अजेयमान श्रेष्ठले भने त्यही पुरानो फालेको टायरबाट मासिक करोड कमाउँछन्। र अर्बाैँको व्यवसायिक सम्भावना देखेका छन्। 

कस्तो सम्भावना?
अजेयका अनुसार फालेका टायर र ट्युब प्रशोधन गरि शत प्रतिशत उपयोगी वस्तु उत्पादन गर्न सकिन्छ। अजेयले प्रमाणित पनि गरेका छन्।

उनले रुपन्देहीको देवदह–४ मा ‘स्पीड ईनर्जी ईण्डष्ट्रिज’ स्थापना गरेका छन्। त्यहाँ उनले पुराना टायर र ट्युबलाई प्रशोधन गरि फर्नेस आयल, कार्बन व्ल्याक र स्टिल स्क्याब उत्पादन गर्दै आएका छन्।

२०७१ सालमा स्थापना भएको स्पीड ईनर्जीले दुई पांग्रे र चार पांग्रे सवारी साधनको टायर ट्युब तथा रबरलाई पाइरोलाईसिस प्रक्रियाबाट प्रशोधन गरि फर्नेस आयल, कार्बन ब्ल्याक र स्टिल स्क्याब उत्पादन गर्दै आएको छ। 

ती उत्पादन हाल नेपालकै सिमेन्ट, छड, बिस्कुट, ब्याट्री आदी उद्योगमा खपत भइरहेको छ। त्यसबाहेक कार्बन धुलो ईट्टा उद्योगहरूमा कोईलाको विकल्पमा प्रयोग हुने गरेको उद्योगी श्रेष्ठले बताए।

‘नेपालका उद्योगसँगै अहिले कार्बन धुलो भारतमा समेत निर्यात भइरहेको छ’, उनले भने।

अर्बाैँको बजार
त्यसो त अजेयलाई ०७१ सालअघि टायर ट्यबको प्रशोधन बारे जानकारी थिएन। त्यही सालतिर उनी चीन गए। त्यहाँ फर्नेश आयलको उद्योग देखे। चीनमै रहेका साथीहरूले उनलाई नेपालमा फर्नेश आयल उद्योग सञ्चालन गर्न सुझाव दिए। 

उनले सडक आन्दोलनमा टायर बालेको, सडक निर्माणमा अलकत्रा पकाउ प्रयोग गरेको त देखेका थिए तर नेपाल फर्किएपछि उनी फर्नेश आयल उद्योग सञ्चालनको योजना बनाउन लागे।

योजना बुन्ने क्रममा थाहा पाए– नेपालमा त फर्नेश आयलको ठूलो बजार रहेछ। कति ठूलो भने– अर्बाैँको। 

अनि सुरु भयो उद्यम
उनले उद्योग खोल्न सबै तयारी सके। तर कच्चा पदार्थ बटुल्न कठिन थियो। यद्यपि साहस गरे। 

काठमाडाैं, पोखरा, धनगढीसम्म टायर मर्मत गर्ने पसलमा पुगे। टायर खरीद गरे। यता पुराना टायर भारतमा विक्री गर्दा मूल्य नपाएका व्यापारी नेपालमै थोत्रा टायर खपत हुने भएपछि खुशी पनि भए। 

त्यसपछि उद्योगमा उत्पादन सुरु भयो।

अजेयले व्यवसायिक सम्भावना यति ठूलो देखेका थिए कि, उनले सुरुआतमै ५ करोड रुपैयाँ लगानी गरे। विस्तारै लगानी २० करोड पुग्यो। कमाइ पनि मासिक करोडमा छ। उद्योगबाट प्रत्यक्ष ३० र अप्रत्यक्ष २ सय ५० भन्दा बढीले रोजगारी पनि पाएका छन्।

नेपालका ठूला घराना नै 'क्लाइन्ट'
अरू ‘स्टार्टअप’ जस्तै उनलाई पनि सुरुका वर्ष त उत्पादन विक्री गर्न हम्मेहम्मे भयो। ठाउँ ठाउँ चहारे। कसैले विश्वास गर्ने छाँटकाँट देखाएन। हार मान्ने अवस्थामा पुगिसकेका थिए। तर यत्रो लगानी, यत्रो मेहेनत त्यसै खेर फाल्न मन लागेन उनलाई। 

अनि ‘आइडिया’ लगाए– उद्योगीलाई नेपाली उत्पादन भनेर बुझाए। कम लागतमा धेरै प्रतिफल दिने भनेर बुझाए। अनि उनीहरूले पनि विश्वास गर्न थाले। 

अहिले भने नेपालका हुलास, चौधरी ग्रुप, लक्ष्मी स्टील, सगरमाथा स्टील, हनी फुड्सलगायत दर्जनाैँ उद्योगले स्पीड ईनर्जीको उत्पादन प्रयोग गर्ने गरेको छन्। 

टायर र ट्युब प्रशोधन गरि निकालिएको आयल पातलो हुने र मेशिन बिग्रिने समस्या कम हुने भएकाले पनि ठूला घरानाहरूले यसको प्रयोगमा चासो दिएको अजेयले बताए।

भारतको भन्दा नेपालकै सस्तो
भारत, सिंगापुरलगायतका देशबाट फर्नेश आयल नेपालमा प्रतिलिटर ९२ रुपैयाँमा आयात हुन्छ। तर नेपालमा फर्नेश आयलको मुल्य अहिले सरदरमा ७० रुपैयाँ प्रतिलिटर छ।  

कम मूल्यमा गुणस्तरीय उत्पादन पाइने भएकाले अजेयको उद्योगबाट हाल मासिक एक लाख ३० हजार लिटर फर्नेश आयल नेपालभित्रै खपत हुँदै आएको छ। सोझो हिसाबमा पनि अजेयले महिनामै एक करोड हराहारी कमाउँछन्। त्यो पनि फालिएको थोत्रो टायरबाट।

अझै पनि नेपालमा वार्षीक ५ करोड लिटर फर्नेश आयल आयात हुने गरेको छ। हाल नेपाली उद्योगले मागको जम्मा ३ प्रतिशत मात्रै पूरा गर्ने गरेको अजेयले बताए। 

हाल नेपालमा स्पीड ईनर्जीबाहेक विराटनगर र रुपन्देहीकै ढेकावारमा थप दुई वटा उद्योगले फर्नेश आयल उत्पादन गर्दै आएका छन्।
अजेयको स्पीड ईनर्जीमा दुई वटा प्लान्ट छन्। एउटा प्लान्टमा एक पटकमा ८ टन टायर प्रशोधन गरिन्छ। त्यसबाट ३ हजारदेखि ३२ सय लिटर फर्नेश आयल, २० क्विन्टल कार्बन र ५ क्विन्टल तार उत्पादन हुन्छ। 

टायरलाई प्रशोधन गरि त्यसबाट ४० प्रतिशत सम्म तेल निस्किन्छ भने २५ प्रतिशत कार्बन ब्ल्याक र ३५ प्रतिशत स्टिल स्क्याब तार उत्पादन हुने उनको भनाइ छ।

टायरको भारतमा तस्करी
उद्योगलाई चाहिने कच्चा पदार्थ भनेकै थोत्रा टायर हो। तर पछिल्लो समय टायर भारततर्फ तस्करी हुने गरेको छ। 

‘पहिले १२÷१४ रुपैयाँमा पाइने टायर अहिले तस्करीकै कारण प्रतिकेजी २५ रुपैयाँ छ। तर भारतमा जाने टायर चोर बाटोबाट जान्छ। राज्यलाई पैसा आउँदैन’, उनले भने, ‘यो तस्करी रोक्न सके हामी फर्नेश आयलमा आत्मनिर्भर हुन्छौँ। वार्षीक अर्बौँ रुपैयाँ बाहिर जानबाट रोक्न सक्छौँ।’

भ्याट छुटको माग
अजेयको एउटा गुनासो छ– राज्यलाई एक प्रतिशत पनि राजश्वमा योगदान नदिएको पुराना थोत्रो टायर आफूहरूले रिसाइकल गर्दा पनि शत प्रतिशत भ्याट तिर्नुपरेको छ।

अजेयले थोत्रा टायर, ट्यब किन्दा भ्याट बिल समेत नपाइने तर पुनः उत्पादित वस्तुमा भने राज्यले शत प्रतिशत भ्याट असुल्नु जायज नभएको बताए। 

‘सरकारसँग हामीले यो माग राखेका छौँ, यसको सुनुवाइ भएमा यस्ता उद्योग अझ बढी सञ्चालन हुनेछन् र हामी फर्नेश आयलमा आत्मनिर्भर हुनेछौँ’, उनले भने। 

असोज १०, २०७८ आइतबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।