बुटवलमा तयार हुँदै देशकै पहिलो ढुवानी ग्राम

बुटवलमा तयार हुँदै देशकै पहिलो ढुवानी ग्राम

रुपन्देहीः बुटवल उपमहानगरपालिका– १२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम निर्माणको काम अन्तिम चरणमा पुगेको छ। ढुवानी ग्राम कार्तिक १ गते बाट सञ्चालन गर्ने तयारी गरिएको छ। 

ढुवानी ग्रामको काम अहिले धमाधम भइरहेको छ। बुटवलको व्यस्त शहरी क्षेत्रमा हेवी लोडका सवारीसाधनलाई प्रवेश नगराउने सोचका साथ ढुवानी ग्राम स्थापना गरिएको हो। 

यस्तै ट्राफिक व्यवस्थापन गर्न पनि सजिलो हुने र गाडीको चाप कम हुने भएकाले यस ग्रामको महत्त्व रहेको बताइन्छ। 

३ बिघा क्षेत्रमा सार्वजनिक–निजी साझेदारी अन्तर्गत करिब ३७ करोडको लागतमा निर्माण भएको ढुवानी ग्राममा गार्डरुम, शौचालय, प्राथमिक उपचार कक्ष, सुरक्षा पोष्ट निर्माणका काम अन्तिम चरणमा पुगेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बताए।

निजी क्षेत्रसँगको सहकार्यमा तयार भएको ढुवानी ग्राम निर्माणसँगै व्यस्त शहरको ट्राफिक कम हुने अपेक्षा गरिएको छ। ढुवानी व्यवसायी तथा समितिका पूर्वअध्यक्ष माधव नेपालले बुटवलको पहिचानका रूपमा नमुना अटो भिलेजपछि अब नमुना ढुवानी ग्राम बन्ने दाबी गरे।

राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा रहेको ढुवानी ग्राममा ४९ वटा सेड निर्माण भएका छन्। उपमहानगरको साझेदार रुपन्देही परिवाहन प्रालिले एमबी कन्स्ट्रक्सनलाई करिब १३ करोडमा ठेक्का सम्झौता गरेको थियो। 

ग्राममा सामान अनलोड गर्ने अलग्गै सेडहरू, स्टोर कक्षहरू, कार्यालय, बिद्युत, खानेपानी, स्नान घर, शौचालय, विश्राम कक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड कक्ष, सूचना कक्ष निर्माण भइरहेका छन्।

उपमहनगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण भइरहेको ढुवानीग्रामलाई दीगो रूपमा सञ्चालनका लागि मापदण्ड समेत बनाएको छ। 

ढुवानी व्यवसायीसँग नगरले १५ वर्षे सम्झौता गरेको छ। उपमहानगर र रुपन्देही परिवाहन प्रालिबीच सम्झौता भएको हो। सम्झौता अनुसार सो कम्पनीले १५ वर्षपछि उपमहानगरपालिकालाई ढुवानी ग्राम हस्तान्तरण गर्नेछ। 

निर्माण सम्पन्नपछि ढुवानी ग्राममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एक हजार पाँच सय ५० वर्ग फुट क्षेत्रफलमा निर्माण हुने प्रति सेडको मासिक ३ हजार एक सय रुपैयाँ बहाल रकम बुझाउनु पर्नेछ। 

बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख छ। 
 

असोज ९, २०७८ शनिबार १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।