न्याय माग्न नेपालगञ्जबाट काठमाडौंसम्म पैदलयात्रा

न्याय माग्न नेपालगञ्जबाट काठमाडौंसम्म पैदलयात्रा

बुटवलः गत साउन ५ गते बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबीको शव भेटियो। घरमै  झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो। शवको अनुसन्धान गर्न प्रहरीको टोली खटियो। टोलीले धोबीको मृत्यु आत्महत्याबाट भएको अनुमान गर्याे। 

पछि अस्पतालले पनि धोबीको आत्महत्याकै कारण निधन भएको पुष्टि गर्याे। तर स्थानीय भने पत्याउन तयार भएनन्। लामो समय घरेलु हिंसा व्यहोर्दै आएकी धोबीको परिवारकै मिलेमतोमा हत्या भएको भन्दै केही अगुवाले प्रहरी गुहारे।

तर प्रहरीले अनुसन्धान अघि बढाएन। प्रहरीले मेडिकल रिपोर्टलाई नै ठोस प्रमाण मानेको थियो। 

यता नेपालगञ्ज परस्पुर गाउँकी निर्मला कुर्मी गत वर्षको मंसिरमा बेपत्ता भइन्। आफन्तले १६ मंसिरमा प्रहरीमा किटानी जाहेरी दिए। तर अनुसन्धान भएन। प्रहरीले उनको मृत्यु भइसकेको जानकारी दियो। 

उनको मृत्युको कारण बारे भने प्रहरी केही बोलेन। मृत्युको कारण खोज्दै पीडित परिवार र अधिकारकर्मी आन्दोलित भए। 

नेपालगञ्जमा भएका यी दुई घटनाको अनुसन्धानको माग गर्दै अहिले पीडित परिवार र महिला अधिकारकर्मीको टोली न्याय माग्न काठमाडौंसम्म पैदल यात्रा गर्दै छ। नेपालगञ्जबाट हिँडेको टोली ९ दिनमा आज बुटवल आइपुगेको छ। 

‘नेपालगञ्जमा न्यायको ढोका बन्द भएपछि हामी न्यायको खोजीमा काठमाडौं हिँडेका हौँ’, उक्त आन्दोलनमा सहभागी रुवि खानले भनिन्।

११ महिला र ३ पुरुषको टोली काठमाडौं पुगेर थप सशक्त आन्दोलन गर्ने तयारीमा रहेको उनले बताइन्। ‘निर्मला कुर्मीको अपहरणमा संलग्न भएको भन्दै बादशाह कुर्मीविरुद्ध किटानी दिए पनि प्रहरीले चासो दिएन। हाम्रो माग पीडित परिवारले न्याय पाउनुपर्छ भन्ने हो’, उनले भनिन्, ‘न्याय माग्दा अपमान गर्ने र अधिकारकर्मीलाई मद्दा चलाउनेलाई विभागीय कारबाही हुनुपर्छ।’ 

मृतक नन्कुन्नी धोबीका भाइ माताप्रसाद धोबीले दिदीको न्यायका लागि काठमाडौं पुगेर सबै पक्षसँग सहयोग माग्ने बताए। 

‘देशमा न्याय रहेछ भने पाइएला। तर न्याय ठूलाहरूको पहुँचमा रहेछ भने त के भन्ने?’ उनले भने। उनले काठमाडौं पुगेर प्रधानमन्त्री शेर बहादुर देउवालाई न्याय माग गर्दै ज्ञापन पत्र समेत बुझाउने बताए।

असोज ९, २०७८ शनिबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।