बैतडीका व्यापारी हत्या आरोपीको बयान, मुख छाडेपछि रडले हिर्काएर भागें
बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका व्यापारीलाई रक्सीको नसामा रहेका व्यक्तिले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
भारतमा मजदुरी गर्ने सुर्नया गाउँपालिका रामबहादुर मडैले सामान्य विवादमा रडले हिर्काएर कुखुरा व्यापारी कमलसिंह महराको हत्या गरेको बयान दिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
‘रामबहादुर नागरिकता बनाउन घर आएका रहेछन्,नजिकै भिनाजु पर्नेहरूसँग रक्सी खाएर होटेलमा सुत्न गएछन्,’शाहीले उकेरासँग भने,‘शङ्करसिंह महरा, हरिससिंह महरा र मृतक पनि रक्सी खाएर बसेका रहेछन्, मडैले यो होटेलको साहुजी खोइ भने पनि मृतकले मुख छाडेपछि रडले हिर्काएको बयान दिएका छन्।’
हत्यामा अरू रिसइवी केही नदेखिएको र थप अनुसन्धान भइरहेको शाहीले बताए। ‘उनीहरुबीच पहिले देखिको चिनजान पनि रहेनछ,’उनले भने,‘रक्सीले माति सकेकाबीच भनाभन हुँदा घटना भएको रहेछ।’
प्रहरीले हत्याको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा तीन जनाको संलग्नता नदेखिएकाले रिहा गरिएको शाहीले बताए। प्रहरीले हत्या स्वीकार गरेका मडै सहित सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, हरिससिंह महरा र रामबहादुर महरालाई हिरासतमा राखेको जनाएको छ।
सुर्नया गाउँपालिका–४ को लेकडाँडाका कुखुरा व्यापारी ५५ वर्षीय महरा बिहीबार बिहान सन्सेरीमाडौंमै मृत फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले फलामको रडले कमलको टाउको र शरीरका विभिन्न भागमा हिर्काएर फरार भएका मडैसहित चार जनालाई हिरासतमा राखिएको जानकारी दिए।
असोज ९, २०७८ शनिबार १२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।