लोकल भर्सेस ब्रोइलर लोकतन्त्रवादी

लोकल भर्सेस ब्रोइलर लोकतन्त्रवादी

पढेर रमाइलो लाग्यो। पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राजनीतिको खेतीमा लागेका अरु सबैलाई अतिथि लोकतन्त्रवादी भएको आरोप लगाउँदै आफूलाई बताएछन् रैथाने लोकतन्त्रवादी। उनी र उनको पार्टी एमाले लोकतन्त्रवादी, त्यो पनि रैथाने। नुन, खुर्सानी र चुक अमिलो भएपछि अरु के नै चाहियो र! 

ओली रैथाने लोकतन्त्रवादी भइसकेपछि माधव नेपाल के हुने? त्यसपछि, प्रचण्ड र चित्रबहादुर केसी के हुने? वैद्य के हुने? विप्लव के हुने? ‘इण्डो प्यासिफिक’ क्षेत्रका सिके राउतको त झन् कुरै नगरे भयो, उनी त ओलीका प्रिय पात्र नै भए। ओलीले आफ्नो प्रधानमन्त्रीकालमा आफूले भनेको बेला ‘गर्जिने बादल’ र आफ्ना लागि ठाउँ-कुठाउँ ‘पड्किने तोप’ जस्ता नेता र सयौं कार्यकर्तालाई राम्रै जिम्मेवारी दिंदै एमालेका नेता-कार्यकर्तामा भर्ती गरेका हुन्। अहिले ओली तिनै त्यान्द्राको भरमा मेलम्चीको मझधारमा उभिएका छन। किनभने, बागमतीको मझधारको आधार छैन। 

उनले एमालेमा उदाएका दश जना ‘विलक्षण’ नेताको माफीनामा स्वीकृत गरेका छैनन्। उल्टै भनेका छन्- ती दश जनाले गर्दा मेरो सरकार ढलेको हो। कसो दश टाउको भएका रावण भनेनछन्। रावण भनेपछि जति ब्राह्मण भए पनि राक्षस नै हुन्। 

ओलीका शब्दमा, उनको नेतृत्वको सरकार देशमा समृध्दिको संवाहक थियो। चीनको चुच्चे रेल, देशमैं नभएको समुद्रमा पानी जहाजको खेल, घरघरमा ग्यास त अब दन्त्यकथा भइसके। कसलाई थाहा छैन र यहाँ ओलीको चरित्र! 

ओलीले गफ दिन थालेपछि उनी यो देशका पहाड-पहरा र छाँगो-छहरा सबै बिर्सिन्छन्। उनको इतिहासमा ‘म’ पात्र बाहेक कोही हुँदैन। खुराफाती दिमाग र कपटपूर्ण मन- सर्वांगमा ओली यत्ति नै हुन्। यो भन्दा बढी उनी बिरामी हुन्।

भैगो, बिरामीका कुरा छोडिदिउँ। ओलीले आफूलाई रैथाने अर्थात् लोकल लोकतन्त्रवादी भनेका छन्। ओली ‘लोकल’ भएपछि अरु सबै ‘ब्रोइलर’ भइहाले। ओलीले लोकतन्त्र र गणतन्त्र आउनुभन्दा पहिले नै भनेका थिए- वयलगाडा चढेर अमेरिका पुगिन्नँ। उनको भनाइको विपरीत वयलगाडा चढेरै नेपाली जनता गणतान्त्रिक लोकतन्त्रमा पुगे। अमेरिका त एमसिसी बोकेर उनी प्रधानमन्त्री भएकै बेलामा नेपाल आएको थियो। 

जान्ने-सुन्नेहरु भन्थे, ओली धेरै पढेलेखेका मानिस होइनन्। अहिले ती कथित जान्ने-सुन्नेले थाहा पाए होलान- उनी त डा. खड्गप्रसाद शर्मा ओली पिएचडी पो हुन्। मानार्थ भए पनि जानार्थ भए पनि पिएचडी भनेपछि पिएचडी हो।

पछि त एकथरी पत्रकारहरुले उनलाई राजनेता नै भन्न थाले। यति होल्डिङ्ससँग उनको आत्मीय सम्बन्ध, वाइडबडी जहाज खरिदमा गरिएको देशप्रेमी निर्णय, चिनी आयातमा ‘जनताको पक्षमा’ गरेको घोटाला, स्वास्थ्यमा ओम्नी समूहको अभिभावकत्व ग्रहण गरेको घटना, बिजुली गाडीमा कमिसन, चकलेटको मिठोमा नाफा...।

अब अहिले पलपल सुन्नुहोस् ‘यति’ वाणी, ओली ठाउँ ठाउँमा गर्जिन्छन्। उनलाई गर्जनको सीमा थाहा छैन। को कति गर्जिएर के हुन्छ? ओली आगामी चुनावमा कांग्रेस, माओवादी, समाजवादी, मधेशवादी सबैलाई हराएर एक पटक फेरि दुई तिहाइवाला पार्टीको नेतृत्व गर्न चाहन्छन्।

‘कुमालेको हाँडी कुमालेले नै मन पराउँछ’ भन्ने उखान प्रचलित छ देशमा। ओलीलाई त्यो कुमालेसँग तुलना गर्न सकिन्छ, जसलाई आफूले बनाएको हाँडी खुब मन पर्छ। उनलाई लागेको छ- जनताका बीचमा उनी अति नै लोकप्रिय छन्। उनले दिएको योगदान- पूरै बिजुलीबाट चल्ने चुच्चे रेल र नारायणीको पानीमा तैरिने फुच्चे जहाजको परिकल्पनाले लोभिएका छन् जनता। त्यसमाथि, घरघरमा ग्याँसको पाइप र ग्याँसको चुल्हो। 

चिकित्सकहरु ओलीको स्वास्थ्यका बारेमा केही बोल्न चाहँदैनन्। ओलीका आफ्नै चिकित्सकले उनको शरीर र मनको दैनिक रिपोर्ट जारी गर्नुपर्ने हो। स्टेरोइड उपचार पध्दतिमा रहेका बिरामीको अवस्था सन्तुलित हुँदैन भन्ने चिकित्सकहरुलाई थाहा नभएको होइन। तर उनीहरुको कल्याण नबोल्नुमा नै छ।

मिर्गौला फेरेको मानिस ओलीजस्तो मोटोघाटो फुर्तिलो देखिँदैन। यो के चमत्कार हो ? एक जना नाम चलेका चिकित्सकसँग सोध्दा उनले भने- यो चमत्कार होइन, हार्मोनको खेल हो। स्टेरोइडको असर हो। ओलीजीमा देखिएको फूर्ति केमिकल हो। उनलाई यसैले घचेटिरहेको छ। यो सबैले बुझ्नुपर्छ।

भनेपछि कुरा त सक्कियो। एमाले पार्टीबाट विद्रोह गरेर बाहिरिएका दश जना विद्वान नेताहरु ओलीको शक्ति र सामर्थ्यको दुहाइ दिंदै अहिले एमालेमा फर्किएका छन्। तर तिनलाई सुख, शान्ति र चैन केही छैन, न आज, न आगामी दिनमा।

एकातिर ओली भए। अर्कातिर नेपाल छन्। नेपाल अर्थात् माननीय माधवकुमार नेपाल। उनी नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले आकार लेओस् भन्ने चाहन्छन्। त्यो सरकारले आकार नलिएसम्म देशको अवस्थामा सुधार आउँदैन। सरकारले पूर्णता पाएको खण्डमा ओलीको मेख मार्न सहज हुने थियो।

ओली र नेपाल निरन्तर झगडामा छन्। यो झगडाको क्रममा उनीहरु ‘मा’ र ‘मु’ मा बाहेक अरु सबैतिर खुलिसकेका छन्। अब छिट्टै निषेधित लवजको पनि प्रयोग हुनेछ खड्ग ओलीबाट। लाजको श्रृंखला उनैले भत्काएका हुन्। माधव नेपाल लाजभाँड बोल्दैनन्। उनी हतपती गालीमा उत्रिदैनन्। ओली त मरी जा पनि भन्न सक्छन् गालीमा। माधव सभ्य छन्। 

नेताहरुको यो झगडा पत्रपत्रिकाका लागि केही दिनसम्म त रमाइलो सामग्री थियो। मानिसहरु आउँथे र पत्रपत्रिकामा ओलीको भाषण खोज्थे। उखान-टुक्का, हँसी-मजाक, बतासे विकास अहिले बढी भइसकेको छ। झगडाले मानिसलाई झर्को लगाउन थालेको छ। मानिसहरुमा त्यति चाख देखिँदैन। यत्ति हो कि, पानी थाप्ने पँधेरोमा ओली र नेपाल नै बनेका छन् गफको सूत्र। कहिलेकाहीँ दाहालको पनि प्रवेश हुन्छ।

आध्यात्मिक देश नेपालमा ओलीजी जस्तो हिंसालु भाषाको प्रयोग गरिरहेका छन्, त्यसलाई कसरी हेरेका छन् जनताले? पशुपति जान्छन्, जलहरी चढाउँछन्। त्यो पनि सरकारी ढुकुटीबाट। आफ्नो खल्तीबाट परमात्माको नाममा सुको चढाउँदैनन्। घरको ढोकासँगैको खोपामा भीमसेनको मूर्ति पनि राखेका छैनन्। तैपनि, उनै गम्किएका छन् हिन्दु धर्मको नाममा। 

ओली र नेपालको कटाक्षलाई एउटा युध्दकै रुपमा हेर्नु उचित हुनेछ। साँच्ची, यी दुई जनाको मल्लयुध्द गराउने हो भने दुईमध्ये कसले जित्ला? त्यो अवस्थामा ओली र माधव दुवैले प्रोक्सीमा खेलाडी बोलाउलान्। किनभने, यी दुवैमा एकअर्कालाई पछार्ने ह्याउ देखिँदैन।

ओलीले माधवको काखमा पुगेका दश जना नेतालाई दशानन बनाए। अहिले उनीहरुमा बडो पछुतावा छ। ओलीको अँगेनाबाट माधवको अँगेनामा फाल हाले पनि खुट्टो त तावामैं। कसरी काट्ने हो दिन। हरेक दिन सुन्नुपर्छ ओलीको कटाक्ष- मेरो नेतृत्वको सरकार गिराउने नै यी दशानन हुन्।

वाह! क्या पार्टी छ। आपसमा पानी बाराबार। बोलचाल बन्द। जति बोल्ने हो गालीकै भाषामा बोल्ने हो। ओलीले रमाइलो गर्छन् भन्ने रस बसिसकेको छ मानिसमा।

कसलाई थाहा छ, उता चितवनमा विश्वस्तरीय क्रिकेट स्टेडियम बनाउँदाबनाउँदै धुर्मुस-सुन्तली टाट पल्टिएर काम रोकिएको छ। ओलीले माडीको पाखोमा मन्दिर बनाउन खन्याएको पैसा यता स्टेडियमको निर्माणमा लगाइदिएको भए धुर्मुस-सुन्तलीलाई केही त राहत हुन्थ्यो।

यता धुर्मुस-सुन्तली अलाप-बिलाप गर्दैछन्, उता ओली खुच्चिङ भन्दैछन्। आफ्ना आसेपासेलाई सुनाउँदै होलान्- त्यो धुर्मुसे गएको थियो नि पर्चण्डेको क्षेत्रमा स्टेडियम बनाउन। पैसाले रोकियो रे। मेरो क्षेत्रमा आएको भए त्यस्तो क्रिकेट स्टेडियम दुई वर्षमा नै बनिसक्थ्यो। पैसाको कुरै थिएन। ऊ हेर त, कति छिटो बन्यो धरहरा!

गाथाहरू

असोज ८, २०७८ शुक्रबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।