जनसेवाश्री यादव सिंह

जनसेवाश्री यादव सिंह

बुटवलः संविधान दिवसका दिन सरकारले विभूषण घोषणा गरेसँगै निकै आलोचना भयो। पाँच जना सञ्चारकर्मीहरुले त सरकारले दिएको सम्मान नलिने घोषणा नै गरे। केही नामहरू उदेक लाग्दा थिए नै। विभूषण पाउनेको सूचीमा नेताका बाबु अनी श्रीमतीसमेत नभएका हैनन्। यसले सरकारले दिने उच्च सम्मान मजाक बन्यो।
 

तर हरेक विषयमा अपवाद त हुन्छ नै। त्यस्तै एक अपवाद थियो तानसेनका यादव सिंह कार्की। सरकारले सार्वजनिक गरेको जनसेवा श्री पदक पाउनेको सूचीमा उनको नाम पनि थियो। उनलाई बधाईका कलहरू आइरहेका छन्। उनी खुसी छन् अहिले।

‘कुनै पदक वा तक्मा पाउने आशमा सेवा गरेको थिइनँ। तर सेवाकर्ममा जोडिएको व्यक्ति विभूषित हुने अवसर मिल्दा खुसी नहुने कुरै भएन’, उनले भने।

उनी किन विभूषित भए ? यो जान्न भने, गत वैशाख २२ गते फर्किनुपर्छ।

त्यसदिन कार्की बिहान घरैमा आराम गर्दै थिए। एक्कासी फोन आयो। फोन उठाए। कोही आत्तिएझैँ, अतास र हतास भएझैँ बोल्न थाले। ती व्यक्तिले शव वाहन खोजिरहेका रहेछन्। तर पाएनन्।  उनले सहयोगका लागि उनलाई सम्झिएका थिए।

शव कोरोना संक्रमितको थियो। अनी उनी शव बाहन चालक पनि हैनन्। उनी केही समय अक्क न बक्क भए। के भनौँ, के नभनौँ भयो रे। धेरै समय सोचेर कार्कीले ‘हुन्छ, आउँछु’ भने। ‘त्योबेला सङ्क्रमण तीव्र थियो। दुःख परेरै फोन गरे होला ठानेर हुन्छ भने’, उनले भने, ‘अहिले सम्झदा आफैँलाई प्रश्न गर्छु, आँट चाहिँ साँच्चै गरेको हुँ।’

फोनको कुरा कार्कीले श्रीमती नेहारिकालाई बताए। श्रीमतीले पनि ‘दुःखमा परेकालाई साथ दिनुपर्छ’ भन्दै श्रीमानलाई हौसला दिइन्।
त्यसपछि कार्की आफ्नो व्यक्तिगत गाडी लिएर शव बोक्न हिँडे। शव तानसेन नगरपालिका– ७ काजीपौवा निवासी ४९ वर्षीया महिलाको रहेछ। उनले आफ्नो गाडिमा राखेर शव घाटसम्म पुर्यााएर घर फर्किए।

घर त फर्किए, तर घरमा सानो बच्चा थियो। सन्तान नजिक जाने हिम्मत आएन। त्यसदिन उनी घरमा ‘आइसोलेट’ भएर बसे। 

यता कार्कीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेको खबर फैलियो। त्यसपछि उनलाई फोन आएको आयै भयो। उनी अलमलमा परे। एक जनालाई सहयोग गरिहालौ न भनेर शव घाटसम्म पूर्यारएका उनले यही काम गर्छु भनेर सोचेका थिएनन्।

‘त्यसपछि निरन्तर फोनहरु आए। कुनै शव वाहनले पनि सङ्क्रमितको शव बोक्न मानिरहेका थिएनन्। एकजनाको लगिसकेकाले अब आफू जोगिएर अरूको सेवा गर्नपर्छ भन्ने सोचेँ’, उनले भने।

परिवारकै सल्लाहमा यादवले ब्यक्तिगत सवारीलाई कहिले एम्बुलेन्स बनाए। कहिले शव बाहन। कहिले सङ्क्रमितलाई उपचारका लागि अस्पताल लैजान्थे, कहिले अस्पतालबाट घर ल्याउँथे। कतिपयलाई घाट। 

बैशाख २२ देखि सुरु भएको उनको यो यात्रा महामारीको दोस्रो लहर सामान्य नहुञ्जेल कायम राखे। कार्कीले व्यक्तिगत गाडीलाई कहिले एम्बुलेन्स त कहिले शव वाहन बनाएर ५० जनाभन्दा धेरैको सेवा गरे।

कार्की पाल्पामा ढाकाको व्यापार गर्छन्। विभिन्न सामाजिक संघ–संस्थामा क्रियाशील छन्। उनी लायन्स क्लब अफ श्रीनगर पाल्पाका अध्यक्ष तथा रोटरी क्लब अफ पाल्पा तानसेनका सचिवसमेत हुन्।

कार्कीले सेवाबापत कसैसँग पैसा लिएनन्। तर कतिपयले भने स्वेच्छिक रूपमा सवारीमा ईन्धन राखिदिएको उनले बताए।

सङ्क्रमितको शव ट्र्याक्टरमा बोकेको देखेपछि...
पूर्वी नवलपरासीमा सङ्क्रमितलाई उचारका लागि लैजान कोही पनि तयार भएन छन्। त्यसपछि उनलाई ट्र्याक्टरमा लगिए छ। त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। कार्कीले पनि त्यो भिडियो हेरे। 

‘भिडियो हेरेपछि मैले केही गर्नुपर्छ भन्ने लागेर सङ्क्रमितको शव र सङ्क्रमितलाई उपचारका लागि अस्पताल लैजाने निधो गरे। त्यही भिडियोले महामारीमा सेवा गर्ने प्रेरणा मिल्यो’, उनले भने।

त्यसो त कार्की महामारीको बेलामा अक्सिजनका खाली सिलिण्डर संकलन गर्ने र रिफिल गर्ने अभियानमा लागेका थिए। 
‘कोभिडले आक्रान्त पारिरहेका बेला कसैको ज्यान बचाउनका लागि म दौडधुप गरेँ। कतिपयको मृत्यु भएपछि घाटसम्म पर्याएँ। मानवीय दायित्व सम्झेर सक्दो सहयोग गरेको हुँ’, उनले भने।

असोज ७, २०७८ बिहीबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।