वडा अध्यक्षलाई फोन गरेर आगजनी गर्ने फरार
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा आगजनी गर्ने वास्तान लामिछाने फरार भएका छन्। लामिछानेले बुधबार वडा कार्यालयमा आगजनी गरेका थिए।
आगजनीबाट वडाका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।
वडा कार्यालयले लामिछानेलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी कार्यालयमा पत्र आएको शाहीले बताए। आफू काम विशेषले काठमाडौँ गएको मौका छोपी लामिछानेले फोन गरेर ‘तपाईँ अहिलेसम्म कार्यालयमा नआउने भनेर धम्की दिएको’ वडाध्यक्ष गङ्गाराम सुनारले बताए।
‘म काम विशेषले काठमाडौँ आएको छु, मलाई अहिलेसम्म कार्यालयमा नआएको भन्दै उहाँले फोनमा धम्की दिएपछि हजुरको काम अरू कर्मचारीले गरिदिनुहुन्छ भने, कर्मचारीलाई पनि काम गरिदिनु भनेर निर्देशन दिएको थिएँ,’वडाध्यक्ष सुनारले भने, ‘फोन राखेको झन्डै १० मिनेटपछि वडा कार्यालयमा आगजनी भएको खबर आयो।’
कर्मचारीलाई डर धम्की दिएर लामिछानेले कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाइदिएको वडाध्यक्ष सुनारले बताए।
असोज ७, २०७८ बिहीबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।