सिता भण्डारीको शव २० दिनदेखि अस्पतालमा : सिआईवीको टोली रुपन्देहीमा 

सिता भण्डारीको शव २० दिनदेखि अस्पतालमा : सिआईवीको टोली रुपन्देहीमा 
फाइल तस्बिर

माइती पक्षले घरपट्टीका आफन्त मिलेर सीताको हत्या गरेको आरोप लगाएका छन्। पोस्टमार्टम रिपोर्टमा भने सीताले झुन्डिएर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। हत्या वा आत्महत्या भन्ने विषय पेचिलो बनेपछि सिआईवीको टोली रुपन्देहीमा आएर अनुसन्धान थालेको हो।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले सीआईबी टोलीले ३ दिन रुपन्देही नै बसेर अनुसन्धान सुरु गर्ने बताए। ‘अनुसन्धानका लागि टोली आएको छ,’उनले भने,‘अब केही दिन अनुसन्धान गर्नेछ।’ 

प्रहरीले भिसेरा रिपोर्टका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ। तर रिपोर्ट नआएको प्रहरीले जनाएको छ। आफन्तहरूले माग गरे जस्तै रि–पोस्टमार्टम नगरे पनि भिसेरा रिपोर्ट आएपछि मृत्युलाई आत्महत्या र हत्या छुट्याउन सहज हुने प्रहरीको भनाई छ।

प्रहरीले अनुसन्धान जारी राखे पनि सिताको शव उठाउन माइती पक्ष भने तयार छैनन्। जसले गर्दा २० दिनदेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल उनको शव राखिएको छ। माइती पक्षले गरेको सडक आन्दोलनमा स्थानीय पनि सहभागी भएका छन्। 

स्थानीय शान्ता बस्यालले शव उठाउँदा घटनाको अनुसन्धान फितलो हुन सक्ने भएकाले शव नउठाइएको बताइन। सिताको दुई वर्ष अघि ४३ वर्षीय टीका पौड्यालसँग मागी विवाह भएको थियो। 

प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा मृतकका श्रीमान् पौड्याल, तिलोत्तमा–५ का वडा सदस्यसमेत रहेका मृतकका जेठाजु हरि पौड्याल र टिका पौडेलकी दिदी विष्णुलाई पक्राउ गरेको छ। तीनै जनालाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले बताए। प्रहरीले घटनाको १० दिन पछि मात्र किटानी जाहेरी लिएको थियो।

असोज ७, २०७८ बिहीबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।