भुईँ मान्छेलाई जानकारी नभएको संविधान दिवस

भुईँ मान्छेलाई जानकारी नभएको संविधान दिवस

इटहरी : इटहरी बजारमा भेटिएका सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाका महम्मद इस्लामलाई आज संविधान दिवस हो भन्ने जानकारी छैन।

बजारमा घुमिरहेका उनलाई ६ वर्ष अघि चोकमा दीप प्रज्वलन गरेको याद थियो, तर त्यो दिन आज ६ वर्ष पुग्यो भन्दा उनी अकमकिए।
संविधान जारी भएको खुसीयालीमा दीप प्रज्वलन गरेको बिर्सिएका उनी एक्कासि झस्किए। ‘त्यो बेला धेरै खुसीयाली मनाइयो नेताहरूले घरैमा आएर भोट मागे।

संविधान आएपछि सबै कुरा समाधान हुन्छ भने’, विगत स्मरण गर्दै उनले भने ‘खै अहिले खासै केही भए जस्तो लाग्दैन। नेताहरूलाई भयो होला हामीलाई भएन। नेताहरू चुनाव जिते पछि आउँदैनन् सबै कुर्सीको स्वार्थको लागी मात्र हामीसँग भोट माग्छन्।’ 

नेपालको संविधानको धारा (३१) शिक्षा सम्बन्धीको हक र धारा (३३) रोजगारीको हकमा उनको चासो थियो। संविधानको धारा ३७ ले आवासको हकको व्यवस्था गरे पनि सुनसरी खोलाको अतिक्रमणले विस्थापित हुने अवस्थामा पुगेका छन् उनी। नेताहरूले बाँध बाँध्ने कुरा बाचा गरे पनि पूरा नभएकोमा दुःखी छन् इस्लाम। 

सडक किनारमा कपडा सिलाई रहेका दामोदर परियारको पनि समस्या उस्तै छ। खासै नेताहरू नचिन्ने उनी संविधानको बेला २ पटक भोट हालेको सम्झिन्छन्। ‘संविधान आए पनि जनतालाई सुख शान्ति आएन।’ उनी भन्छन्, ‘दिनहुँ महँगी बढेको छ। घरपरिवार धान्नै गाह्रो भइसक्यो।

त्यस माथि पनि हामी जस्ताको जीवन धेरै दुखद छ।’ धारा २४ मा उल्लेखित छुवाछुत तथा भेदभाव विरुद्धको हक कार्यान्वयनको पर्खाइमा छन् परियार। त्यससँगै समानता लगायत मौलिक हकको उपयोग गर्न पाउने आसमा उनको जीवन चलेको छ। 

ठेलामा फलफूल बेचिरहेकी रेखा शर्मा पनि सन्तुष्ट छैनन्। एमाले कांग्रेसलाई पालैपालो भोट हाले पनि केही नभएको उनको भनाई छ। ‘संविधान बनेपछि सुख सुविधा हुन्छ भन्थे तर महँगी बढेर गयो। छोराछोरी पढाउनै गाह्रो हुन थाल्यो। उपचार गर्न नसकेर घरैमा मर्ने अवस्था आइसक्यो। संविधान आएर के भयो?’, एकै स्वरमा उनले भनिन्। 

रामधुनी नगरपालिकाको झुम्का बजारमा कुचो बेचिरहेका गुन्जमान श्रेष्ठ निक्कै दुःखी छन्। दिनभरको कमाइले परिवार पाल्न धौ धौ भएको सुनाउने उनी नेताहरूले गलत बोल्ने गरेको बताए। सुख दिन्छु भन्दै भोट मागेका नेताहरू चुनाव पछि भेट्न नआएकोमा उनको दुखेसो छ। संविधान बारे केही पनि चेत नभएका उनी रोगको उपचार गर्न र बिहान बेलुका छाक टार्ने चिन्तामा छन्। 

२०७२ असोज ३ गते संविधान जारी भएकै दिन विजय जुलुस र राँके जुलुस एकै पटक निस्किए। लामो समय पछि जनताको अपेक्षा पूरा भएको भन्दै खुसीयाली व्यक्त भए। मुख्य राजनीतिक दलहरूले अब देशमा स्थायित्व आएको र मुलुक समृद्धिको मार्गमा लाग्ने प्रतिक्रिया दिए।

संविधान जारी भएपछि बनेका सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउँछन् राजनैतिक विश्लेषक मोहन तिम्सिना। दलका नेताहरूमा पुरानै राजा वा राणाको जस्तो सत्ता चलाउने शैली हाबी भएको उनले बताए। नेताहरू नेतृत्वमा भन्दा पनि शासनमा विश्वास गर्ने भएपछि जनताको समस्यामा भिज्न नसकेको उनले प्रस्ट पारे।

यस्तै शैली र सोच निरन्तर रह्यो भने जतिसुकै राम्रो संविधान र जुनसुकै व्यवस्था आए पनि तात्त्विक फरक नपर्ने तिम्सिनाको बुझाई छ। त्यस बेला गरिएका बाचा जनताको मनमा रहेकोले राजनीतिक दलप्रति अविश्वास बढ्दै गएको उनको तर्क छ। 

संविधानसभा सदस्य रेवतीरमण भण्डारी संविधान जारी भएपछि सबै समस्या समाधान हुन्छ भनेर जनतालाई बुझाउनु नै गलत भएको तर्क गर्छन्। मस्यौदा समितिका सदस्य समेत रहेका भण्डारी संविधान जारी पछि मुलुक स्थायित्वमा जाने र राजनीतिक आन्दोलनले मूर्त रूप पाउनु मुख्य कुरा रहेको बताउँछन्।

संविधानको कार्यान्वयन असल अभ्यासबाट स्थापित हुने भए पनि त्यसको सुरुवात हुन नसकेको उनले स्वीकार गरे। अभ्यासको क्रममा मूलभूत रूपमा राजनीतिक क्षेत्रमा समस्या देखिएको भण्डारीको बुझाई छ। 

‘हाम्रो समाजमा पनि संविधान कार्यान्वयन प्रति इमानदारिता छैन। सांसदसँग आयोजना, पक्की सडक, भवन र कुर्सी  माग्ने हैन नि! माटो सुहाउँदो कानुन पो माग्ने हो।’, उनले भने, ‘समाज र सामाजिक मनोविज्ञान पनि त्यो हिसाबमा अगाडी बढ्यो भने संविधान कार्यान्वयन कसरी होला? चिन्ताको विषय यही हो।

हाम्रो सामाजिक चेतना र राजनीतिक अभ्यासले नै संविधान कार्यान्वयनमा टेवा पुर्याउँछ। त्यसको लागी नागरिक समाज, मिडिया, राजनीतिक दलहरू तथा प्राध्यापकहरूले पहल गर्नुपर्छ।’

असोज ३, २०७८ आइतबार ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।