नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गर्ने पक्राउ
वीरेन्द्रनगर –९ का २५ वर्षीय दीपक झा र सोही ठाउँका २७ वर्षीय कबिर खाँण नक्कली जग्गाधनी प्रमाण पुर्जा बनाएर जग्गा बेचेको आरोपमा पक्राउ परेका हुन्।
उनीहरूले वीरेन्द्रनगर –९ का सुवास घतानेलाई कित्ता नं. १५८ र १६४ को जग्गा नक्कली पुर्जा बनाएर बिक्री गरेका थिए। मालपोत कार्यालयले नक्कली पुर्जा बनाएर जग्गा बिक्री गर्न खोज्ने झा र खाँणलाई कारबाही गर्न प्रहरी गुहारेपछि घटना बाहिरिएको हो
उनीहरूले नक्कली पुर्जा, कार्यालयको छाप र हस्ताक्षर किर्ते गरेर जग्गा बिक्री गरेको मालपोत कार्यालय सुर्खेतका प्रमुख जनकबहादुर हमालले जानकारी दिए।
घतानेलाई झुक्काएर केही रकम समेत लिई सकेको प्रहरीले जनाएको छ। वीरेन्द्रनगरमा जग्गाको कारोबार बढेपछि कार्यालयले हाल अनलाइन प्रणालीबाट जग्गा कारोबारको गर्दै आएको छ। अनलाइन प्रणालीबाट जग्गाको कारोबार गरे पनि अन्तिम रुजु गर्ने काम भने मालपोतले नै गर्दछ।
झा र खाँणले मालपोत कार्यालयमा आफै काम गरिदिने बहानामा लालपुर्जामा नक्कली सही र कार्यालयको छाप दुरुपयोग गरी घतानेलाई ‘झुक्काएका हुन्। घतानेले भदौ २९ गते मालपोतमा पुगेर जग्गाको धनी पुर्जा हेर्न खोज्दा नक्कली भएको खुलेको थियो
पक्राउ परेका विरुद्ध सरकारी कार्यालयको सही छाप र हस्ताक्षर दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको सुर्खेतका एसपी पदम विष्टले जानकारी दिए।
असोज १, २०७८ शुक्रबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।