घरेलु हिंसाका कारण कर्णालीमा आत्महत्याको सङ्ख्या बढ्यो
बिहीबार दिउँसो कालिकोट तिलागुफा नगरपालिका—६ की ३१ वर्षीया अमिला दमाईले वीरेन्द्रनगर—११ स्थित भेरी नदीमा हाम फालिन्। विगत १०-१२ वर्षदेखि वीरेन्द्रनगरमा बसेर सिलाई कटाई गरिरहेकी उनी अहिलेसम्म पनि बेपत्ता छिन्।
बैंंकमा पैसा निकाल्न जाने भन्दै कोठाबाट निस्केकी उनी एकाएक भेरी नदीमा हाम फाल्न पुगिन्। घटनास्थलमा छाता, मोबाइल, कपडा र ग्लोबल आइएमई बैङ्कको चेकको आधारमा प्रहरीले अमिला नै भएको पुष्टि गर्यो।
आत्म हत्या गर्नुको कारण नखुले पनि उनी केही समयदेखि मानसिक रुपमा अस्वस्थ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले बताए ।
यस्तै गत साल फागुन २३ गते ‘घाँस ल्याउन बारीमा जान्छु’ भनेर घरबाट निस्किएकी आठबिस–३ निमायलकी सुकी बडूवाल पर्सिपल्ट छोराछोरीसहित कर्णाली नदीमा मृत भेटिइन्। उनले आफूले मात्र ज्यान फालिनन्, आफ्ना छोराछोरीलाई पनि सँगै लगिन्।
तीन छोरी र एक छोरालाई साथमा लिएर कर्णालीमा उनले हाम फालेकी थिइन्। प्रहरी र पोस्टमार्टम रिपोर्ट अनुसार पनि उनले छोराछोरीलाई लिएर आत्महत्या गरेको खुलेको छ।
मदिरा सेवन गरेर श्रीमानले बारम्बार सताउने गरेपछि उनलाई अब बाँच्न सक्दिनँ भन्ने लागेपछि छोराछोरी पनि बाँचे भने आफूजस्तै दुःख पाउलान् भन्ने सोचाइले उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने सुकी बडूवालका भाइ बजिरबहादुर थापाले बताए।
यी दुई घटना प्रतिनिधिमूलक मात्र हुन्। कर्णालीमा बर्सेनि धेरैले घरेलु हिंसा, चरम गरिबी र मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार विगत ५ वर्षको अवधिमा प्रदेशमा एक हजार ३६३ जनाले आत्महत्या गरेका छन्। तीमध्ये २८५ जनाले झुन्डिएर, ७० जनाले विष सेवन, एक जनाले हातहतियार प्रयोग गरेर र ७ जनाले नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ।
विगत पाँच वर्षको तथ्याङ्क हेर्दा १३३ जना बालबालिकाले आत्महत्या गरेका छन्। जसमध्ये आर्थिक वर्ष ०७७–०७८ मा मात्रै ४७ जना बालबालिकाले आत्महत्याको बाटो रोजेका छन्।
कर्णालीमा विगत एक आर्थिक वर्षमा ३६२ जनाले विभिन्न कारण आत्महत्या गरेका छन्।गत आर्थिक वर्षमा कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा १२८ जनाले आत्महत्या गरेका छन् भने हिमाली जिल्ला डोल्पामा आत्महत्याको कुनै घटना भएको छैन।
प्रदेश प्रहरी कार्यालयका डिएसपी गणेशबहादुर बमले अधिकांश व्यक्तिले घरेलु हिंसाकै कारण आत्महत्या गर्ने गरेको बताए। डिएसपी बम कर्णालीमा घरेलु हिंसा, महिला हिंसा, सामाजिक सञ्जालको दुरुपयोग र दीर्घ रोगका कारण आत्महत्याका घटना बढेको बताउँछन्।
प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशीले समदर्शीले व्यक्तिलाई निराशापनले आत्महत्याको बाटो रोज्ने गरेको बताए।
असोज १, २०७८ शुक्रबार १०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।