प्रदेश नं १ : विश्वास गुमाउँदै भीम आचार्य, को बन्ला अबको मुख्यमन्त्री ?

प्रदेश नं १ :  विश्वास गुमाउँदै भीम आचार्य, को बन्ला अबको मुख्यमन्त्री ?
छलफलमा प्रतिपक्षी दलका नेताहरु

बहुमत प्राप्त नेकपा (एमाले)को संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका आचार्य अहिले पार्टी विभाजन भएपछि अल्पमतमा परेका हुन्। 

अल्पमतमा परेसँगै अब भीम आचार्यले मुख्यमन्त्री बहाल रहिरहन सदनबाट विश्वासको मत लिनु पर्ने देखिएको छ। संविधानको धारा १८८ (२) अनुसार  दल विभाजन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। तर, त्यो ३० दिन कहिले देखि लागु हुने भन्नेमा अन्योल छ। 

एमाले छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) को दल दर्ता प्रमाणपत्र पाएको वा प्रदेश सभा सचिवालयमा पार्टी अलग रहेको सूचना आएको मितिलाई आधार बनाउने भन्ने स्पष्ट छैन। विभाजनको मिति भदौ ९ गते भएकाले असोज ७ भित्र आचार्यले विश्वासको मत लिनुपर्ने प्रतिपक्षी दलको माग छ। सत्ता पक्षीय सांसदहरूले भने प्रदेशसभामा निर्वाचन आयोगले भदौ २४ गते जानकारी दिएकाले त्यस पछिको ३० दिन गणना हुनु पर्ने बताउँछन् । जे भए पनि नेकपा एकीकृत समाजवादीका १० सांसदको कारण अल्पमतमा परेका आचार्यको सरकार परिवर्तन हुने नै अवस्था देखिन्छ।

पार्टी फुटको अबस्थामा पुगेपछि मुख्यमन्त्री शेरधन राइले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका थिए।

 

को बन्ला तेस्रो मुख्यमन्त्री
मुख्यमन्त्री आचार्यले संसद् फेस गरेर विश्वासको मत नपाए उनी स्वतः पद मुक्त हुने छन्। त्यसपछि सत्ताको कोर्ट प्रतिपक्षी दलको पासमा आउने छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यस पटक सरकारको नेतृत्व गर्न पाउने आसमा छ। संसदीय दलका नेता राजीव कोइरालाले सरकार अल्पमतमा पर्ने बुझेपछि मुख्यमन्त्री बन्न आफ्नो दौडधुप बढाएका छन्। 

कोइराला कांग्रेस भित्र संस्थापन इतर समूहको भएका कारण केन्द्रको चलखेलले मुख्यमन्त्री बन्न पाउँदैनन् की भन्ने चर्चा चलेको छ। उनकै गृह जिल्लाका हेभी वेट नेताहरू उनलाई मुख्यमन्त्री बन्न नदिने खेलमा रहेको कांग्रेस वृत्तमा चर्चा छ। कांग्रेस सुनसरी जिल्ला सभापति समेत रहेका कोइराला माथि देउवा समूहका विजयकुमार गच्छदार, ज्ञानेन्दबहादुर कार्की र सिताराम मेहेता बाधक बन्न सक्ने देखिन्छ। तीनै नेतालाई चुनाव जिताउन नेतृत्व गरेका कोइराला क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन्।

उनी संस्थापन इतर समूह भएकै कारण कांग्रेसले प्रदेश १ आफ्नो भागमा नपार्न सक्ने अड्कल काट्न थालिएको छ। कांग्रेस महाधिवेशन जारी रहेको अवस्थामा कोइराला मुख्यमन्त्री भए त्यसले जिल्ला र प्रदेशको पार्टीको चुनावमा प्रभाव पर्ने नेताहरूको बुझाई छ । 

मुख्यमन्त्री कसले पाउने भन्ने टुङ्गो नभए पनि कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार बनाउने अन्तिम तयारी थालेका छन्। ठुलो दलको हिसाबले कांग्रेसले पाउने सम्भावना भए पनि केन्द्रीय समीकरणमा नेकपा एकीकृत समाजवादीले आफ्नो दाबी प्रस्तुत गरेको छ। 

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई सरकारले विश्वासको मत गुमाउने पक्का भएकोले अविश्वासको प्रस्ताव नराखिएको बताउँछन्। सरकार बारे निरन्तर छलफल भइरहेको बताउँदै उनले केन्द्रीय समीकरण अनुसार प्रदेश १ मा आफैले नेतृत्व गर्ने बताए। 

कांग्रेसले सङ्घीय सरकार र गण्डकी प्रदेश पाएकोले प्रदेश १ र बाग्मती प्रदेशमा नेकपा एकीकृत समाजवादीले नेतृत्व गर्ने उनको भनाई छ। ‘कांग्रेसले सङ्घीय सरकार सहित दुई प्रदेशमा नेतृत्व गर्ने र नेकपा एकीकृत समाजवादीले दुई प्रदेश पाउने भद्र सहमति बमोजिम प्रदेश १ र बाग्मतीमा हाम्रै नेतृत्वमा सरकार बन्छ’, राईले भने। 

प्रदेशमा २१ सांसद रहेको कांग्रेस र १५ सांसद रहेको माओवादी भन्दा १० सांसद रहेको नेकपा एकीकृत समाजवादी सरकार नेतृत्वको बलियो दाबेदारको रूपमा प्रस्तुत भएको छ। उपर्युक्त वातावरण बन्दै गएको अवस्थामा सरकारको नेतृत्व नपाउनु दुखद भएको कांग्रेस संसदीय दलका नेता कोइराला बताउँछन्। 

भदौ ३१, २०७८ बिहीबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।