मन्दिरको भेटी र स्थानीयको दानबाट चलेको गुरुकुल 

मन्दिरको भेटी र स्थानीयको दानबाट चलेको गुरुकुल 

सुर्खेत : चौकुने गाउँपालिका—१० घाटगाउँका नरेन्द्र खनाल र नरेश खनाल जुम्ल्याहा  हुन्। नरेन्द्र कक्षा ६ मा र नरेश कक्षा ७ मा अध्ययन गर्छन्। 

सुविधा सम्पन्न विद्यालयमा पढेर नरेन्द्रको शिक्षक र नरेशको डाक्टर बन्ने लक्ष्य थियो। तर, ३-४ वर्षको कलिलै उमेरमा भारतमा उनीहरूको बुवाको निधन भयो। उनीहरूको सपनामाथि बज्रपात भयो। 

आमाले पनि छाडेर अन्तै गएपछि उनीहरू बेसहारा भए। दुवैलाई खुब पढ्न मन थियो। तर नियतिले नदिनेझैँ गर्यो। 

गाउँमा शिवधाम गुरुकुल संस्कृत विद्यालय थियो। जेनतेन गुरुकुल चलिरहेको थियो। नरेश र नरेन्द्रले आफ्नो ल्याकतअनुसार यो विद्यालय मात्र पढ्न सकिन्छ भन्ने ठाने। अनि यसैमा पढ्न थाले। 

तर अहिले दाजुभाइकै बोली फेरिएको छ। ‘गुरुकुल नभइदिएको भए हाम्रो पढ्ने धोको पूरा हुने थिएन,’ नरेशले भने, ‘अब हामी यहीँ पढेर आचार्य बन्ने हो।’

पीडामा गुरुकुल
तर गुरुकुलको कथा कम्ता पीडादायी छैन। 

गुरुकुललाई गाउँलेले बाली उठाएर सञ्चालन गरिरहेका छन्। माना पाथी दान दिएर चलाइरहेका छन्। 

तर गुरुकुलबारे सुखद पक्ष के हो भने– आधुनिक शिक्षा पद्धतिको विकाससँगै गुरुकुल शिक्षा लोप हुँदै गइरहेको बेला पाँच वर्षदेखि गाउँमा बाली उठाएर विद्यालय सञ्चालन भइरहेको छ।

गुरुकुल सञ्चालनका लागि प्रतिबाली घरैपिच्छे एक–एक पाथी खाद्यान्न सङ्कलन गर्ने गरिएको छ। नगरपालिकाका ५ वटा वडामा रहेका प्रत्येक घरबाट अन्नबाली सङ्कलन गरेर गुरुकुल विद्यालय सञ्चालन गरिएको शिवधाम गुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक वासुदेव शर्माले बताए।

बिना दरबन्दीको प्राविसम्मको मान्यता पाएको उक्त विद्यालयलाई पञ्चपुरी नगरपालिकाले वार्षिक दुई लाख ५० हजार रुपैयाँ दिने गरे पनि उक्त रकम पर्याप्त नभएपछि समुदायबाट दान माग्नुपरेको शर्मा बताउँछन्।

शिवधाम धार्मिक संस्थाले २०६३ सालमा गठन गरेको गुरुकुल विद्यालय तदर्थ समितिले २०७२ साल वैशाख ८ गतेदेखि अध्ययन अध्यापन थालेको हो। गुरुकुल विद्यालय सञ्चालनका लागि साबिकको जिल्ला शिक्षा कार्यालय सुर्खेतले २०७३ सालमा अनुमति दिएको थियो। सुरुमा २ कक्षासम्म अध्यापन गर्दै आइएकोमा हाल ७ कक्षासम्म अध्यापन गराइन्छ।

अहिले गुरुकुल संस्कृत विद्यालयमा अछामका ११ जना, कैलालीका ४ जना र २० जना सुर्खेतका गरी ३५ जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्। ७ जना शिक्षकले अस्थायी रूपमा अध्यापन गराइरहेका छन्।

नगरपालिकाबाट आउने रकमले शिक्षकलाई तलब दिनै नपुग्दा विद्यालय सङ्कटमा पुगेको प्रधानाध्यापक शर्माको भनाइ छ।

‘नगरपालिकाले वार्षिक दिने साढे दुई लाखले सात जना शिक्षकलाई राम्रो तलब दिऊँ भने एक महिना नै पुग्दैन। ५-७ हजारदेखि १५ हजारसम्म शिक्षकलाई तलब दिने गरेका छौँ। सबै कुराको अपुग छ’, प्रधानाध्यापक शर्माले भने, ‘प्रत्येक वैशाखमा भर्ना लिइन्छ, विद्यार्थीलाई धर्म कर्म गर्दा आवश्यक पर्ने गम्छा, धोतीदेखि गाँस, बाससहितको सबै खर्च चलाउनै मुस्किल छ।’

मन्दिरमा आउने भक्तजनबाट उठ्ने भेटी, मन्दिरमा चढाइने चामल, पिठोसमेत विद्यालयले लिने गरेको छ।

पञ्चपुरी नगरपालिका वडा नम्बर ३, ५, ६, ८ र ९ वडाबाट बाली सङ्कलन गरिन्छ। यसरी सङ्कलन गरिएको अन्नबालीबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खानाको व्यवस्था मिलाइएको छ। 

संस्कृत (शास्त्री), धार्मिक ग्रन्थ, कर्मकाण्ड-वेद र अनिवार्यसहित ७ वटा विषयहरू गुरुकुलमा पढाइने गरिएको छ। बिहान ८ देखि ९ बजेसम्म वेद, पुराण, गीतालगायतका धर्म ग्रन्थहरू पढाइ हुन्छ। 

गुरुकुलमा अध्ययनका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू आउने गरेका छन्। कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेख, सुर्खेत र जाजरकोटका केही धार्मिक गुठीहरूमा गुरुकुल शिक्षा पढाइ हुन्छ। 

संस्कृतमा शास्त्री, आचार्यलगायतका उपाधि प्राप्त गरेपछि ज्योतिषी, वैद्य, कविराजलगायत लोकसेवामा समेत अवसर मिल्ने प्रधानाध्यापक शर्माले बताए। तर, पछिल्लो समय गुरुकुलमा विद्यार्थी सङ्ख्या भने न्यून रहेको उनले बताए। 

विद्यालयमा दलित, जनजाति र पिछडिएको वर्गलाई समेत पढ्न पाउने व्यवस्था छ। तर, हालसम्म ब्राह्मण र क्षेत्री समुदायका छात्रहरू मात्रै पढ्न आएका छन्। 

‘विद्यालयमा कुनै विभेद छैन, तर अन्य समुदायका बालबालिका शास्त्रीय शिक्षा लिन आएका छैनन्’ उनले भने, ‘स्रोत, साधन र प्रचार अभावका कारण पनि विद्यालय ओझेलमा परेको छ।’

शिक्षकको तलब मासिक १२ हजार
नगरपालिकाले प्रत्येक वर्ष दुई लाख ५० हजार रुपैयाँ विद्यालय सञ्चालनका लागि दिए पनि सात जना शिक्षकसहित एक जना कार्यालय सहयोगी र एक भान्सेको पारिश्रमिक दिन सधैँ अपुग हुने गरेको छ।

सरकारी दरबन्दी नहुँदा थोरै तलबमा शिक्षकहरू काम गर्न बाध्य छन्। 

‘यो क्षेत्रमा ज्ञान लियो भने जहाँ पायो त्यहीँ जागिर पनि पाइँदैन, यो विद्यालयमा दरबन्दी पनि छैन। हाल मानो मुठीबाट आएको पैसाले तलब खाइएको छ’, शिक्षक ताराप्रसाद उपाध्यायले भने, ‘विद्यालय सञ्चालनमा त धेरै चुनौती छन्, मासिक १२ हजार रुपैयाँ तलब लिएर काम गर्नु परेको छ।’

वृद्धाश्रम भवनमा कक्षा सञ्चालन
विद्यालयका लागि भौतिक पूर्वाधारको अभाव छ। नगरपालिकाले पाँच कोठे भवन बनाइ दिएको छ। तर ती अपुग छन्। 

कक्षाकोठा अभाव भएपछि मन्दिर व्यवस्थापन समितिले वृद्धाश्रमका लागि बनाएको भवनमा कक्षा सञ्चालन भइरहेको छ। भौतिक पूर्वाधार, शैक्षिक सामग्री र प्रविधिको अभाव विद्यालयका समस्या हुन्।

‘विद्यालयका लागि आवश्यकता अनुसार भवन र शैक्षिक सामग्री छैनन्, विद्यालयमा कम्प्युटरसमेत छैन’, प्रधानाध्यापक शर्माले भने, ‘हामीले कहिलेसम्म हात फैलाउने? अन्य विद्यालयसरह हामीलाई पनि सेवा सुविधा दिइयोस्।’

विभिन्न अभाव र कठिनाइका बीच लोप हुने अवस्थामा पुगेको गुरुकुल शिक्षालाई निरन्तरता दिइएको उनले बताए।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले गुरुकुल विद्यालयका लागि स्थानीय सरकारको स्रोत र साधनले भ्याएसम्म सहयोग गरेको बताए।

‘ओझेलमा परेको गुरुकुल विद्यालयलाई नगरपालिकाले सकेको सहयोग गरेको छ। यसको संरक्षणमा हामी लागि परेका छौँ’, प्रमुख थापाले भने, ‘स्थानीय जस्तै प्रदेश र सङ्घीय सरकारले पनि यसको संरक्षणमा विशेष चासो देखाउन आवश्यक छ।’

अन्य गुरुकुलको पनि हाल उही

दैलेखको दुल्लु नगरपालिका— १० नाभीस्थानमा पनि गुरुकुल विद्यालय छ, जहाँ १ कक्षादेखि ३ कक्षासम्म पढाइ हुन्छ। भवनको अभाव र अन्य समस्याका कारण यहाँ पनि विद्यार्थी सङ्ख्या न्यून छ। 

यस्तै जुम्लाको चन्दननाथ नगरपालिका– ५ को चन्दनाथ गुरुकुल पाठशालामा ३ कक्षासम्म कर्मकाण्डलगायत धार्मिक विषयहरू पढाइ हुन्छ। त्यहाँ पनि ४० जनाको हाराहारीमा विद्यार्थी छन्। तर भौतिक पूर्वाधार र स्रोत साधनको त्यहाँ पनि अभाव भएको छ।

भदौ ३१, २०७८ बिहीबार १०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।