खेलकुद ग्राम बन्ने ठाउँमा खुल्ला मञ्च बनाइँदै
बुटवल : बुटवल उपमहानगरले बुटवल–११, देवीनगरमा खेलकुद ग्राम निर्माणका लागि तयार पारिएको गुरुयोजनालाई विस्थापित गर्दै खुल्ला मञ्च बनाउन लागेको छ।
त्यस क्षेत्रमा खेलकुद ग्राम निर्माण गर्ने गरी तयार पारिएको गुरुयोजना विपरीत उपमहानगरले खुल्ला मञ्च बनाउन लागेपछि खेल प्रेमीहरू निराश बनेका छन्।
१ वर्ष अघि प्रस्तावित खुल्ला मञ्च बनाउने भनिएको स्थानमा खेलकुद ग्राम निर्माणका लागि गुरुयोजना तयार भएको थियो। बुटवल उपमहानगर खेलकुद विकास समितिले विभिन्न मल्टी प्रपोजसहितको इनडोर, तथा आउटडोर खेलकुद गतिविधि सञ्चालन गर्न मिल्ने गरी गुरुयोजना तयार गरेको भए पनि उपमहानगरपालिकाले त्यसलाई बेवास्ता गरेको थियो। उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको दबाबमा खेलकुद गुरुयोजनाको काम अगाडि बढ्न नसकेको खेलकुद समितिका सदस्यहरू बताउँछन्।
कुनै बेला प्रस्तावित खुल्ला मञ्चमा खेलकुद ग्राम बनाउने र खेलबाट पर्यटक आकर्षित गर्ने भाषण गर्ने नगरप्रमुख सुवेदीले अहिले त्यहाँ भाषण गर्ने थलोको रूपमा विकास गर्ने गरी योजना अघि बढाएका छन्।
बुटवल–१०, रामनगरमा बुटवल सभा हल र प्रदर्शनी स्थल निर्माणाधीन अवस्थामा रहेकाले देवीनगरमा खुल्ला मञ्चको आवश्यकता नै नभएको कतिपयको तर्क छ। जिल्ला फुटबल सङ्घका अध्यक्ष दिर्घबहादुर केसीले खेलप्रति उपमहानगरले खासै चासो नदिएको बताए।
खेलकुद ग्रामको गुरुयोजना बनिसकेको योजना अघि नबढाई खुल्ला मञ्च बनाउने गुरुयोजना बनाएर उपमहानगरपालिका खेलकुद र खेलाडी प्रति जिम्मेवार नरहेको स्पष्ट भएको उनले बताए ।
रङ्गशाला निर्माणका लागि ०७२ सालमा बजेट विनियोजन भए पनि उपमहानगरले बेवास्ता गर्दा कार्यान्वयन नभएको उनले जानकारी दिए। पूर्व अर्थमन्त्री विष्णु पौडेलसहित यहाँका राजनीतिक दलका नेताहरूसँगको छलफलपछि डिपिआर निर्माण तथा संरचना विकासका लागि वहुवर्षीय योजनाको रूपमा ४० करोड छुट्याउने गरी रातो किताबमा लेखिएको योजना अहिले अलपत्र परेको छ। ६ वर्ष अघि नै यस क्षेत्रमा खेलकुद संरचना निर्माणका लागी डिपिआर तयार पार्न छुट्याइएको बजेट समेत रकमान्तर गरी बुटवल–१२ रामनगरको फिल्डमा कम्पाउन्ड निर्माणमा खर्च गरिएको थियो।
नगरपालिकासँग २५ वर्षका लागि एन्फा एकेडेमीले सहकार्य गरेर ०५५ सालमा रङ्गशाला बनाउने सम्झौता अनुसार एकेडेमी अहिले सञ्चालनमा छ। बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले देवीनगरको सार्वजनिक जग्गा उपयोग हुने गरी खेल ग्राम बनाउन सुझाव आए अनुसार एक वर्षअघि गुरुयोजना तयार पारे पनि उपमहानगरको खुला मञ्च बनाउने निर्णयले खेल ग्रामको योजना तुहिएको बताए।
देवीनगर एन्फा एकेडेमी पश्चिम वरपर रहेको करिब २९ बिगाहा क्षेत्रफल मध्ये १४ बिगाहा क्षेत्रफलमा उपमहानगरले खुला मञ्च निर्माण गर्ने गरी गुरुयोजना बनाएको हो। एन्फा एकेडेमीले साढे ४ बिगाहा र देव सिद्ध समाज सुधार तथा विकास समितिले डेढ बिगाहा क्षेत्रफलमा मन्दिर र सभा हल बनाएको छ।
यसै गरी देव सिद्ध खानेपानी तथा सरसफाइले करिब २ बिगाहा, लन टेनिसले ७ कट्ठा, नेपाल अपाङ्ग आश्रमले ५ कट्ठा गरी करिब आठ बिगाहा जग्गा सार्वजनिक सङ्घ–संस्थाले ओगटेका छन्। बाँकी रहेको २० बिगाहा क्षेत्रफल मध्ये बुटवल–११ को वडा भवन निर्माण गरिएको छ भने सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को ट्रायल सेन्टर पनि त्यहीँ छ।
भदौ ३१, २०७८ बिहीबार १०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।