अस्मिता मृत्यु प्रकरण : आफन्तले लगाए प्रशासन कार्यालयमा ताला 

अस्मिता मृत्यु प्रकरण : आफन्तले  लगाए प्रशासन कार्यालयमा ताला 

धनगढी : असार ५ मा मृत फेला परेकी डडेलधुराको परशुराम नगरपालिकाकी स्वास्थ्य कर्मचारी अस्मिता धामी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धामी मृत फेला परेको तीन महिना पुग्नै लाग्दा पनि पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छैन। 

जिल्ला प्रहरी कार्यालय डडेलधुराले भिसेरा रिपोट प्राप्त नभएको जनाएको छ। धामीका आफन्तले हत्या भएको दाबी गरे पनि प्रहरीमा उजुरी दिएका छैनन्। 

मृतकका आफन्त नर बहादुर धामीले कसैमाथि शङ्का गर्ने ठाउँ नभएकाले प्रहरीमा उजुरी नदिएको बताए। ‘गाउँघरमा सबै आफन्त, हामीले को माथि शङ्का गर्नु?,’उनले भने,‘प्रहरीले न रिपोट सार्वजनिक गरेको छ न कसैलाई नियन्त्रणमा लिएको छ।’

घटनाको रिपोर्ट तत्काल सार्वजनिक गर्न माग गर्दै डडेलधुरामा बुधवार प्रदर्शन भएको छ। मृतक अस्मिताका आफन्तले इलाका प्रशासन कार्यालय जोगवुडामा तालाबन्दी समेत गरेका छन्। हत्यामा संलग्न पत्ता नलागेसम्म ताला नखोल्ने सङ्घर्ष समितिका संयोजक धनबहादुर बोहराले बताए। 

परशुराम नगरपालिकाले अस्मिताको न्यायका लागि गठन भएको सङ्घर्ष समितिसँग ६ बुँदे सम्झौता गरे पनि अझै कार्यान्वयन नगरेको बोहराले बताए। 

‘हाम्रो मागहरू पुरा भएको छैन,बुधवार हामीले प्रशासनमा मात्र तालाबन्दी गरेका छौँ,’बोहराले भने,‘बिहीबार परशुराम नगरपालिकामा तालाबन्दी गरी जोगबुढा बजार बन्द गर्छौ ,हाम्रो आन्दोलन निरन्तर चल्छ।’

अस्मिताका श्रीमान् अमर धामीले जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी पाए पनि पीडित परिवारलाई १० लाख क्षतिपूर्ति लगायतका सम्झौता अझै कार्यान्वयन नभएको संयोजक बोहराले बताए। 

‘अनुसन्धान जारी छ’

जिल्ला प्रहरी कार्यालय डडेलधुराले घटनाको अनुसन्धान जारी रहेको बताएको छ। अनुसन्धान भइरहेकाले घटनाबारे बताउन सक्ने अवस्था नरहेको डडेलधुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।

‘हामी प्रमाण परीक्षणकै क्रममा छौँ,विधि विज्ञान प्रयोगशालाबाट भिसेरा रिपोर्ट पाएका छैनौँ,’नेपालले भने,‘आवश्यक अनुसन्धान गरिरहेका छौँ,घटना संवेदनशील छ,हचुवाको भरमा सार्वजनिक गर्ने कुरो हुँदैन।’

असार २ गते आधारभूत स्वास्थ्य इकाई केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्याउन निस्केकी अस्मिताको शव असार ५ मा परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

भदौ ३०, २०७८ बुधबार २२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।