बुटवलमा ओलीको सम्बोधन : बेला बेला थपडी, कतिपय समयमा हाँसो
बुटवल : नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बुटवलको ट्रायल सेन्टरको बगरमा भयो।
ओली बिहान ११ बजे देखि सुरु हुने भनिएको भेलामा ३ घण्टा ढिलो गरी पुगे र १ घण्टा बोले। ओलीको बोलीमा कार्यकर्ताले बेला बेला थपडी मारे, कतिपय समयमा गलल्ल हासे पनि।
जिल्लाका १६ वटा स्थानीय तहबाट १५ हजार कार्यकर्ता ल्याउने प्रचार गरिएको भेलामा त्यति नै सङ्ख्यामा कार्यकर्ता उतारिएको थियो। एमाले अध्यक्ष ओली ढिलो गरी भेलामा पुगे पनि एमाले जिल्ला सचिव जागेश्वरी चौधरीले त्यस अघि नै कार्यक्रम सुरु गरिसकेकी थिइन। बुटवल उपमहानगरपालिकाका शिवराज सुवेदी, एमाले नेता छविलाल विश्वकर्मा पछि मञ्चमा पुगेका टोप बहादुर रायमाझीले भाषण गर्दागर्दै ओली कार्यक्रम स्थलमा पुगेका थिए।
ओली पार्टीभित्र अन्तर विरोध चुलिएको समय फागुन १ मा बुटवल आएका थिए। त्यो समयमा चुनाव केन्द्रित भाषणमा डेढ घण्टा बिताएका ओली यस पटक भने पार्टी भित्रैका नेताहरू, कांग्रेस, प्रचण्डको आलोचना गरेर एक घण्टा बिताए। उनले रुपन्देहीमा भइरहेका विकासका कामको फेहरिस्त पनि सुनाउन भ्याए।
कार्यकर्ता भेला गरेर ओलीले रुपन्देहीमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको प्रभाव नगण्य देखाउने प्रयास गरे।
पार्टी भित्र नेपाल निकट मानिएका घनश्याम भुसालले पनि भेलालाई सम्बोधन गरे। केही समय आर्थिक समृद्धिमा एमाले कसरी अघि बढ्न सक्छ भनेर भाषण गरेका भुसालले अन्त्यतिर माधव कुमार नेपाललाई चुनावसम्म पार्टीमै फर्कन आग्रह गरे। कार्यकर्तालाई अप्ठ्यारोमा नआत्तिन र सफ्टयारोमा नमात्तिन पनि भने भुसालले।
घनश्याम अघि बोलेका टोप बहादुर रायमाझी खरो रूपमा खनिए। रायमाझीले कांग्रेस नेतालाई भोट हालेर कम्युनिस्ट चरित्र ध्वस्त बनाएको आरोप मात्रै लगाएनन् माधव नेपालको पनि आलोचना गरे। उनले भने–‘कांग्रेसको पुच्छर बनेर हिँड्नेहरूबाट यो मुलुक बन्ने वाला छैन, यो ठुलो भूल हो उहाँहरूको, आम नागरिकले यसको जवाफ चुनावमा दिनेछन्।’
रुपन्देही क्षेत्र नं. २ का सांसद समेत रहेका विष्णु पौडेलले यसअघि जस्तो निर्वाचन केन्द्रित भाषणमा धेरै समय खर्च गरेनन्। माधव नेपाल, सभामुख अग्नि सापकोटा, कांग्रेस प्रति खनिए उनी। उनले कांग्रेसको पछि लागेर सत्तामा रमाउन खोज्नेहरूलाई आगामी चुनावमा जवाफ दिने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषणको सुरुवात कांग्रेसको योग्यता, क्षमतासँग जोडेर सुरु गरे। भारतले गरेको नाकाबन्दीमा कांग्रेस मौन बसेको प्रति सङ्केत गर्दै उनले भने–‘बरु कांग्रेस भोकले चुप बस्छ, बाटो छाड भन्न भारतलाई सक्दैन।’
उनले कांग्रेसले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको, पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेको प्रति गुनासो गरे। ओली त्यसपछि खनिए माधव नेपाल प्रति।
माधव नेपाल देउवाको पुच्छर बनेको बताए ओलीले। प्रतिक्रियावादीको सेवा गर्दै देउवा नेतृत्वको सरकार बनाउने माधव नेपाल कमरेड हुनै नसक्ने ओलीको भनाई थियो।
आफ्नो सरकारको पालामा शिलान्यास गरेको सडक सरकारले रोकेको प्रति ओलीले आक्रोश पोखे। उनले भने–‘अघिल्लो सरकारले २१० सडकहरू एक साथ शिलान्यास गरेको थियो। विकास देख्न नसकेर कांग्रेस गठबन्धनले रोके। त्यो आगामी चुनावमा हामी विजयी भएपछि फेरी सरकारमा पुगेर सुरु गर्नेछ।’
उनले माधव नेपालले पार्टी फुटाएर गएपछि एमाले अझ मजबुत बन्ने बताए। आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई ओलीले निर्देशन समेत दिए।
भदौ ३०, २०७८ बुधबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।