अल्पमतका मुख्यमन्त्री आचार्यले गरे मन्त्रीपरिषद् विस्तार
इटहरीविनय : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रीपरिषद् विस्तार गरेका छन्। उनले दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई आठ सदस्यीय बनाएका छन्।
नेकपा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन्। अल्पमतमा परेका आचार्यले आर्थिक मामिला तथा कानुनमन्त्रीमा तुलसीप्रसाद न्यौपानेलाई र भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा हिराकुमार थापालाई नियुक्त गरेका छन्।
मुख्यमन्त्री आचार्यले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था तथा कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिलाबल्लभ अधिकारीलाई नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
एमालेबाट विभाजित भएर निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता भएको भोलिपल्ट भदौ १० गते आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री आचार्यले आफूसँगै सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा लछुमन तिवारीलाई नियुक्त गरेका थिए।
आचार्यले संसद्बाट विश्वासको मत नलिई मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ। नेकपा एमालेको विभाजनले भदौ ९ गते निर्वाचन आयोगबाट वैधानिकता पाएकोले असोज ८ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने विपक्षी गठबन्धनको दाबी छ ।
सरकारले भने असोजको अन्तिम साता मात्र विश्वासको मत लिने तयारीसहित मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिन प्रदेश सभाको अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिसकेका छन्।
प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्री आचार्यको पक्षमा सभामुख सहित ४१ जना मात्र सांसद छन्। बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ। बहुमत सांसद विपक्षी गठबन्धनमा छन्। गठबन्धनमा ५० सांसद छन्।
भदौ ३०, २०७८ बुधबार १८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।