सरकारलाई एमाले अध्यक्ष ओलीको प्रश्न : बजेट पास गर्न पर्दैन?  

सरकारलाई एमाले अध्यक्ष ओलीको प्रश्न : बजेट पास गर्न पर्दैन?  

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दौडिएर अध्यादेश पास गर्नेले बजेट पास नगरेको आरोप लगाएका छन्।

उनले बजेट पास नगरेकोमा सत्तारुढ दलको आलोचना गरेका हुन्। ‘अब खर्च कसरी चल्छ, राति देखि खर्च गर्न पाइँदैन,’ओलीले भने,‘बजेट पास गर्न पर्दैन, दौडिएर अध्यादेश पास गर्नेले बजेट किन पास गरेन?’

सरकारले एमाले सांसदको अवरोधकाबीच प्रतिनिधि सभामा अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने आर्थिक विधेयक पेस गरेको छ। पार्टीले कारबाही गरेका १४ जना सांसदको निलम्बन या सभामुखको राजीनामा मागेर एमालेले सङ्घीय संसद्का दुवै सदनको बैठकमा बेल घेराउ गर्दै आएको छ। 

एमालेले सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक समेत बहिष्कार गरेको थियो। 

तर, रुपन्देहीमा भएको एमालेको कार्यकर्ता भेलामा अध्यक्ष ओलीले बजेट पारित गर्न नसकेको भनेर सरकारको आलोचना गरे। उनले एमालेलाई कमजोर बनाउन नसक्ने बताए। 

अध्यक्ष ओलीले पार्टीमा माधव नेपालले बन्चरो हानेको बताए। उनले नेपाललाई पार्टी टुक्र्याउने अपराधी भएको आरोप समेत लगाए। ‘माधव नेपाल कमरेड होईनन, पाटी टुक्राउने अपराधी हुन्,’ओलीले भने,‘उनलाई कमरेड भन्न मिल्दैन।’

नेपालले एमालेको सरकार बन्दा पनि समर्थनमा एक शब्द बोल्ने काम नगरेको ओलीको भनाई थियो। माधव नेपाललाई गाली गर्न समय खर्चिएका ओलीले स्वार्थ र कुण्ठाबाट ग्रस्त भएकालाई गरिवका आँसुले पोल्ने बताए।

भदौ ३०, २०७८ बुधबार १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।