ललितपुर महानगर : फुटपाथमा पार्किङ, हिसाबमा गडबड

ललितपुर महानगर : फुटपाथमा पार्किङ, हिसाबमा गडबड

काठमाडाैंः ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर पार्किङ सञ्चालन गर्दै आएको छ। ललितपुरको दाकलचोक–झम्सिखेल सडकको वृहस्पति मन्दिर– सेन्टमेरिज स्कुलको पर्खालसँगैको फुटपाथमा महानगरले ८ वर्षयता पार्किङ सञ्चालन गर्दै आएको हो।

ललितपुर महानगरपालिका वडा नम्बर ३ को सञ्योजनमा उक्त पार्किङ प्रक्रियाबिनै सञ्चालनमा आएको हो। ‘पहिलेदेखि नै नगरसँग मौखिक समझदारीमा चल्दै आइरहेको थियो। हामीले पनि एउटा निवेदनको भरमा सञ्चालन गर्न अनुमति दिएका हौं’, वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल मर्हजनले भने।

‘सार्वजनिक सम्पत्ति बिनाप्रक्रिया भोगचलन गराउन मिल्छ त?’ भन्ने प्रश्नमा अध्यक्ष मर्हजन भन्छन्, ‘चलिआएको कुरा चलाएको हो। हामीले केही गरेका छैनौं। त्यहाँ पार्किङ नगराए त्यत्रा रेष्टुराँ छन्, समस्या हुँदैन?’, मर्हजनले भने।

सडक तथा फुटपाथ निर्माण गर्दा सार्वजनिक जग्गामा सकभर सडकको चापअनुसार फुटपाथ बनाउने प्रावधान रहेको छ। यद्यपि ललितपुर महानगरले भने सार्वजनिक जग्गालाई रेष्टुराँको पार्किङ बनाएको छ। 

‘सबैलाई खुसी पार्न सकिँदैन। चलिआएको कुरा हो। चलिरहन्छ। आज पार्किङ मन नपर्ला कसैलाई भोलि के मन नपर्ला। सबैको रहर पूरा गर्ने ठेक्का लिएको छैन हामीले,’ महर्जनले भने। 

वडाध्यक्ष महर्जन बाटोमा हिँड्न अप्ठ्यारो भएको भनी कसैको उजुरी नपरेकाले आफू यससम्बन्धमा केही गर्न नसक्ने बताउँछन्। उनी भन्छन्, ‘त्यसमाथि त्यो रोड हाम्रो होइन, नेपाल सरकारको हो। फुटपाथ सानो किन बनाएको, बिजुलीको पोल किन फुटपाथमाथि राखेको भन्ने प्रश्नको जवाफ नेपाल सरकार, सडक विभाग र विद्युत प्रधिकरणले दिन्छ। हामीले दिन मिल्दैन।’

करिब २५ फिट चौडाइ र ६० फिट लम्बाइको उक्त पार्किङसँगै डेढ फिटभन्दा कम चौडाइको फुटपाथ छ। सोही डेढफुटे फुटपाथमाथि नै नेपाल विद्युत प्रधिकरणले ट्रान्सफर्मर राखेको छ। उक्त ट्रान्सफर्मर फुटपाथबाट करिब ७ फिटको उचाइमा रहेको छ। जसकारण उक्त स्थानमा पार्किङ गर्नु–गराउनु र आवत जावत गर्नु जोखिमपूर्ण रहेको छ। 

वडा भन्छः सबै पैसा महानगरमा जान्छ, सञ्चालक भन्छन्ः पैसा वडाले पनि लान्छ
उक्त स्थानमा पार्किङ सञ्चालन गर्दै आएका सानु तामाङ आफूले मासिक १९ हजार बुझाउने गरेको बताउँछन्। तर वडा भने १५ हजार रुपैयाँ मात्र पार्किङ सञ्चालकले बुझाउने गरको दाबी गर्छ।

‘कमाइ हुँदा पनि नहुँदा पनि मैले मासिक १९ हजार पालिकामा बुझाउँछु,’ पार्किङ संचालक तामाङले भने, ‘नगरपालिकामा १५ हजार र वडामा ४ हजार बुझाउनु पर्छ।’

तर तामाङको कुरामा वडाध्यक्ष महर्जन सहमत छैनन्। उनी आफ्नो वडाले पार्किङबाट एक रुपैयाँ नलिएको दाबी गर्छन्। तामाङले बताएअनुसारको  मासिक ४ हजार रुपैयाँको हिसाब मागेपछि भने उनी झस्किए।

‘ए, त्यो। त्यो त बिल छाप्न बाँकी छ’, उनले भने। 

महर्जनका अनुसार पार्किङ चलाउनेलाई वडा आफैँले छापसहितको बिल दिन्छ। पार्किङबाट उठाएको पैसा बिल छाप्नकै लागि खर्च हुने उनी बताउँछन्। 

सञ्चालक पनि स्वीकार्छन् पार्किङले हिँड्न समस्या भएको
तामाङ फुटपाथमाथि पार्किङ चलिरहेको स्वीकार्छन्। 

‘पहिला बाटो एक लाइनको थियो। बाटो बढ्यो। पार्किङको जग्गा घट्यो। फुटपाथ बन्यो, झन घट्यो। ट्रान्समिटर राखेको छ फेरि फुटपाथमाथि नै। मान्छेलाई हिड्न नि डरै! खाली भएको बेलामा त पार्किङबाटै हिड्छन्। प्याक भएको बेला त हिँड्नेलाई समस्या छ’, पार्किङ संचालक तामाङले उकेरासँग भने।


पार्किङ सञ्चालक सानु तामाङ

चिनजानको आधारमा आफूले पार्किङ सञ्चालन अनुमति पाएको स्वीकार्दै तामाङ भन्छन्, ‘फुटपाथले पार्किङमा समस्या भयो भनेर निकै पटक श्री दाई (वडा ३ का अध्यक्ष)लाई भने। सुन्नु भएन।’

जथाभावी शुल्क
व्यापारिक क्षेत्रमा रहेको उक्त पार्किङ बिहानदेखि अबेर रातिसम्मै सञ्चालन हुन्छ। रातिको पार्किङ शुल्क दिउँसोको तुलनामा दोब्बर हुन्छ। दुई पाङग्रे १० र साना चार पाङग्रेको ३० रुपैयाँ प्रति घण्टाको दरले लिन पाउने वडाले नियम बनाइ दिएको वडाध्यक्ष मर्हजनले बताए। तर सानु तामाङको टोलीले भने दुई पाङग्रेलाई २० र साना चार पाङग्रेलाई ५० रुपैयाँ प्रति घण्टाको दरले उठाउँछन्। 

‘हामी दुई पाङग्रेको २० र साना चार पाङग्रेको ५०–६० रुपैयाँसम्म लिने गरेका छौं,’ तामाङका पार्किङ सहयोगीले उकेरासँग बताए। तामाङले भने समयावधि हेरेर बढी लिने गरेको बताए। 

‘दुख हुन्छ। जताततै छाडेर हिँड्छन्। मिलाउनु पर्यो। १९ हजार बुझाउन पर्छ पालिकामा, कमाइ छैन’, उनले भने। 

पार्किङबाट तामाङले मासिक एक लाख ३० हजारभन्दा बढी रकम उठाउने गरेका छन्। वडाले अनुगमन नगर्दा सर्वसाधारणलाई भने मार पर्ने गरेको छ। वडाध्यक्ष मर्हजनले भने पार्किङ सञ्चालकले राजश्व तिर्ने गरेको हुँदा आफू पछि लागेर नहिँड्ने बताए। 

‘पैसा बढी लियो भनेर मलाई कसैले गुनासो गर्न आएको छैन। अनि किन गर्ने अनुगमन।’

महानगरलाई छैन चासो
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल आफूलाई पार्किङको सम्बन्धमा ज्ञान नभएको बताउँछन्।
उनी भन्छन्, ‘म आएको केही महिना भयो। मलाई पूर्णरूपमा त्यस विषयमा ज्ञान छैन। त्यसबारे बुझ्छु। र सामाधानको कोसिस गर्छु।’

ललितपुर महानगरले राजश्वको लोभमा सरकारी जग्गा, बाटोमाथि रजाइँ गरिरहेको छ। उकेराको ‘पार्किङ श्रृङ्खला’मा यसबारे अन्य रिपोर्ट प्रकाशित भइसकेको छ। 

 

भदौ ३०, २०७८ बुधबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।