कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको निधन, स्थानीयद्वारा सडक अवरुद्ध
धनगढीः कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको निधन भएको छ। कृष्णपुर नगरपालिका –५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दूध बोकेको साइकललाई ठक्कर दिँदा कृष्णपुर –५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाे छ।
ऐरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिए पनि उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो। उपचारकै क्रममा उनको बिहान निधन भएकाे हो।
एम्बुलेन्स चालक भीमदत्त नगरपालिका –१६ का ४० वर्षीय गणेश विष्ट इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा रहेका छन्। दुर्घटनापछि स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेका छन्। दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरिएको छ।
भदौ ३०, २०७८ बुधबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।