बुटवलमा बहुउद्देश्यीय खुला मञ्च बन्दै

बुटवलमा बहुउद्देश्यीय खुला मञ्च बन्दै

बुटवल : बुटवल उपमहानगरपालिकाको–११ मा १ लाख जना अट्ने बहुउद्देश्यीय   खुलामञ्च बन्ने भएको छ।

सार्वजनिक जग्गालाई खुला क्षेत्रका रूपमा र बहुउपयोगी हुने गरी खुल्ला मञ्च बनाउन लागिएको हो। यसको गुरुयोजना समेत तयार भइसकेको छ। 

करिब १४ बिगाहा क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकै पटक जम्मा हुन मिल्ने गरी गुरु योजना बनेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षणे र बहुउपयोगी हुने गरी गुरुयोजना तयार पारिएको उनले बताए। बुटवल खुलामञ्चलाई सभा समारोह गर्न मात्र नभई विभिन्न आपत्कालीन अवस्थाको उद्धार स्थलको रूपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको प्रमुख सुवेदीको भनाइ छ। 

गुरुयोजना अनुसार करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको खुल्ला मञ्च तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्यका साथ काम अगाडि बढ्ने उनले बताए। ‘बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिए अनुरूपको यो एउटा खुलामञ्च हो। सुरुमै जग्गा संरक्षण, तार बार र व्यवस्थित बाउण्ड्री निर्माणको काम अगाडि बढाउँछौ। बाँकी काम चरणबद्ध रूपमा अगाडि बढ्छ।’ उनले भने।

खुल्ला मञ्चमा एकै पटक करिब ८ सय जनाले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक शौचालय बनाइने छ। आठ लाख ९३ हजार नौ सय ७७ वर्ग मिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसँगै पछाडि भागमा ८ वटा अलग अलग प्रयोजनका कोठा, तीन तहका पार्किङ, प्राथमिक उपचार कक्ष बन्नेछन्। 

खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहने छ। कोरिडोर र खुलामञ्चको बीचको भागमा हरियाली सहितको गार्डेन, फुटपाथ रहने छ। यसको आर्किटेक डिजाइन गरिरहेकी इन्जिनियर प्रभा पाण्डेले खुला र उपयुक्त क्षेत्र रहेकाले भरपुर डिजाइन गरेर संरचना निर्माण गर्न सकिने बताएकी छिन्।

भिआइपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चार पाङ्ग्रे र करिब छ सय जति दुई पाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ। पब्लिक बस तथा सवारीहरूलाई पनि खुलामञ्चको दुवैतिरबाट आवागमन मिल्ने गरी रुटको व्यवस्था मिलाइने छ। 

भदौ ३०, २०७८ बुधबार ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।