वडाध्यक्षकै योजनामा जग्गा किर्ते : पोल खुलेपछि फरार

वडाध्यक्षकै योजनामा जग्गा किर्ते : पोल खुलेपछि फरार

बुटवलः लुम्बिनी सांस्कृतिक नगरपालिका– १० मधुवनीका ७० वर्षीय गरिब कोहारको जग्गा जनप्रतिनिधि र कर्मचारीले नक्कली व्यक्ति खडा गरेर बिक्री गरेको खुलासा भएको छ।

गरिब कोहारको नाममा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा कित्ता नम्बर ४८८ को ९ कठ्ठा एक धुर र कित्ता नम्बर ५०७ को एक कठ्ठा १६ धुर गरी १० कठ्ठा १७ धुर जग्गा थियाे। वडाध्यक्ष रमजान अली मियाँले नक्कली गरिब कोहार खडा गरेर नागरिकताको प्रतिलिपिसमेत निकाली अर्कैलाई जग्गा बिक्री गरेका हुन्।


नक्कली गरिब काेहारकाे नागरिकताकाे प्रतिलिपि

जग्गा अर्कैका नाममा गएपछि पीडित परिवार न्यायको माग गर्दै भाैँतारिरहेको छ। वडाध्यक्ष र लेखापढी व्यवसायीको मिलेमतोमा आफ्नो जग्गा बिक्री गरिएकाे पीडितको आरोप छ। कोहारले जग्गा बिक्रीमा मालपोत कर्मचारी र प्रशासनको पनि मिलेमतो रहेको आरोप लगाएका छन्।

मालपोत कार्यालयको रेकर्डमा नक्कली गरिब कोहारलाई जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि दिनु भनी मालपोत कार्यालय भैरहवालाई वडा कार्यालयले २०७७ माघ २५ गते फोटो टाँसेर सिफारिस गरेको देखिन्छ। वडा कार्यालयले २०७७ फागुन १८ गते नक्कली गरिबलाई चार किल्ला र नागरिकता प्रतिलिपि सिफारिस दिएको छ।

नागरिकताको प्रतिलिपि निकालेर उक्त जग्गा नक्कली गरिबले २०७७ फागुन १८ मा मदनपोखरा–४ पाल्पाका सन्दीप कार्कीलाई बिक्री गरेका छन्। त्यसपछि २०७८ वैशाख १२ गते यशोधरा गाउँपालिका–८ कपिलवस्तु निवासी गोविन्दप्रसाद मल्लाहाले उक्त जग्गा खरिद गरे। गोविन्दप्रसादले उक्त जग्गा बैंकमा धितो राखेका छन्।

बैंकका कर्मचारी धितो मूल्याङ्कन गर्न आउँदा मात्रै वास्तविक जग्गाधनी कोहाराले जग्गा अर्कैको नाममा भएको थाहा पाएका हुन्। कोहारले आफ्नाे जग्गा बिक्री भइसकेकाे थाहा पाउनासाथ अहिले वडा अध्यक्ष रमजान अली मियाँ फरार छन्।

प्रशासकीय अधिकृतको हस्ताक्षरसहित नागरिकता जारी, प्रशासनमा विवरण छैन

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट गरिब कोहारको नाममा अन्य व्यक्तिको फोटो टाँसेर प्रथम प्रतिलिपि नागरिकतासमेत जारी भएको छ। उक्त नागरिकतामा प्रशासकीय अधिकृत तोयनारायण अर्यालको हस्ताक्षर छ। तर, प्रशासनमा भने नागरिकताको प्रतिलिपि लिइएको विवरण नभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

पीडित कोहारले भदौ २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किर्तेमा संलग्न भएको भन्दै सात जनाविरुद्ध किटानीसहित जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले किर्ते गर्ने व्यक्तिको पहिचान र सिफारिस दिने वडा अध्यक्षको खोजी भइरहेको बताए।

उनले घटनामा संलग्न लेखापढी व्यवसायी भागवतप्रसाद उपाध्याय र जग्गा खरिद गर्ने गोविन्दप्रसाद मल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अन्तर्गत अहिले किर्ते मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए।

पीडित कोहारले वडा अध्यक्ष रमजान अलि मियाँ, तानसेन नगरपालिका–८ साबिक मदनपोखरा–४ निवासी ३१ वर्षीय सन्दीप कार्की, सियारी गाउँपालिका–१ सोनारत निवासी ६० वर्षीय भागवत प्रसाद उपाध्याय, विहादी गाउँपालिका–५ पर्वत निवासी २७ वर्षीय सुरज आचार्य, सियारी गाउँपालिका–१ रुपन्देही निवासी २५ वर्षीय राजन तिवारी, सिद्धार्थनगर नगरपालिका–१२ निवासी मालपोत कार्यालयमा कार्यरत ४५ वर्षीय डण्डपानी न्यौपाने र यशोधरा गाउँपालिका–८ कपिलवस्तु निवासी ४० वर्षीय गोविन्द प्रसाद मल्लाहाका नाममा किटानी जाहेरी दिएका छन्। उनीहरूमध्ये दुई जना मात्र पक्राउ परेका छन्।

चार किल्ला बनाउन जाँदा दिएका थिएनन् वडाध्यक्षले

गरिब कोहारका छोरा कामको सिलसिलामा भारतको दिल्लीमा थिए। तर गरिबले छोरालाई नेपालमै बोलाएर व्यापार गर्न लगाउने सोच बनाए। व्यापार गर्न पैसा थिएन।

उनले आफ्नो नामको १० कठ्ठा १७ धुर जग्गा बैंकमा धितो राखेर ऋण लिने योजना बनाए। २०७७ माघमा वडा कार्यालयमा चार किल्ला बनाउन पुगे। तर वडाध्यक्ष रमजान अली मियाँले चार किल्ला बनाइदिएनन्।

भोलिपल्ट स्थानीयलाई लिएर फेरि वडामा पुगे। उल्टो वडाध्यक्षले स्थानीयलाई नचिन्ने भन्दै धम्क्याए। स्थानीय र वडाध्यक्षबीच भनाभन भयो। ‘उ बेला वडाध्यक्षले चार किल्ला बनाउन दिएनन्। त्यही बेला नै मेरो जग्गा विक्री गरेका रहेछन्’, कोहारले भने।

भदौ २९, २०७८ मंगलबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।