बा वैदेशिक रोजगारीमा, आमाको दोस्रो विवाह अनि सन्तान दुर्व्यसनमा
इटहरी : २ वर्ष अघि बाबु वैदेशिक रोजगारीमा गए देखि एक बालक विद्यालय जान छाडे। कक्षा ६ सम्म राम्रो पढ्ने उनी त्यसपछि विद्यालय अनियमित मात्र हैन मादक पदार्थ सेवन गर्न थाले।
कहिले काहीँ मादक पदार्थकै तालमा स्कुल पुग्थे र कक्षामा हल्ला गर्न थाल्थे। अहिले उनी पढाई छाडेर गाउँमा बेवारिसे भएर हिँड्न थालेका छन्।
१४ वर्षीय अर्का बालकको वैदेशिक रोजगारीमा गएका बुबा दुई वर्ष अगाडी एचआइभी सङ्क्रमणको कारण बिते। बुबा विदेश गएको केही महिनामै आमाले दोस्रो विवाह गरिन्। अभिभावक विहीन भएका उनलाई फुपूले सहारा दिएकी छिन्। घरको कामले विद्यालय जान नपाउँदा उनको विद्यालयको हाजिरी खातामा उपस्थिति भन्दा बढी गयल देखिन्छ।
उस्तै समस्या भोग्दै छन् सोहन (नाम परिवर्तन) बुबा विदेश गएको केही महिनामा आमाले दोस्रो विवाह गरिन्। २ वर्षपछि नेपाल फर्किएका बुबाले पनि दोस्रो विवाह गरे। हजुरआमाको सहारामा बसेका उनको खान लाउनकै समस्या भएपछि पढ्ने ठेगान छैन। छाक टार्न छिमेकमा काम गर्न जान्छन् उनी।
सुनसरीको रामधुनी नगरपालिका–७ स्थित पञ्चायत माविमा पहिलो लहरको लकडाउन पछि विद्यालय खुल्दा विद्यार्थीको उपस्थिति पहिले जस्तो नभएको प्रधानाध्यापक भीष्म महतको गुनासो थियो। दोस्रो लहरपछि बन्द भएका विद्यालय पुनः सुचारु हुँदा पनि विद्यार्थी नआउलान् भन्ने पिरमा छन् महत। लगातारको बन्दले विद्यार्थीहरू दुर्व्यसनीमा लाग्लान् भन्ने उनलाई चिन्ता छ।
प्रधानाध्यापक महतका अनुसार यसै वर्ष एसइई पास गरेका रोहन (नाम परिवर्तन) दुई वर्ष देखि लागु औषध प्रयोगकर्ता भएका थिए। बाबु विदेश गएपछि आमाले वास्ता गर्न छाडिन्। पैसा कमाउने भएपछि साथीभाइको लहैलहैमा लागेर सीमावर्ती भारतीय बजार जोगवनीबाट लागु औषध ल्याउन थाले। ओसार्दा ओसार्दै पछि आफै त्यसको लतमा लागे। उनले साथीहरूलाई पनि त्यही काममा लगाएका छन्।
यी प्रतिनिधि उदाहरण हुन्। बाबु वैदेशिक रोजगारीमा गएका बेला आमाले अर्को विवाह गर्दा अभिभावक विहीन बनेका बालबालिका कुलतमा लागेका पाइन्छन्। यो समस्या पछिल्लो समय बढ्दै गएको प्रधानाध्यापक महत बताउँछन्। कोरोना महामारीले गर्दा विदेशमा भएका युवाहरू घर फर्कन नपाएपछि श्रीमतीहरूले दोस्रो विवाह गर्ने क्रम बढेको उनले बताए।
अभिभावक विहीन भएसँगै कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि बालबालिका दुर्व्यसनीमा फस्ने क्रम बढेको उनको दाबी छ। बालबालिका र अभिभावकलाई सम्झाउने आफ्नो प्रयास निरर्थक भएको उनी बताउँछन्।
समाजशास्त्री तथा शिक्षाविद् चन्द्र उपाध्याय बालबालिकालाई सामाजिकीकरणको आवश्यकता रहेको बताउँछन्। त्यसको लागी स्थानीय सरकार र विद्यालयले नेतृत्व लिनुपर्ने उनको तर्क छ। वैदेशिक रोजगारीको पिडामा भएका बालबालिकाको उचित व्यवस्थापनको लागी स्थानीय सरकार जिम्मेवार हुन सक्ने उनले सुझाए।
देखासिकीमा वैदेशिक रोजगारीमा जाने क्रम रोक्न स्थानीय स्तरमै व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने बाटोमा युवालाई लगाउन सके यो समस्या समाधान हुने डा उपाध्यायको बुझाई छ।
‘छिमेकी र गाउँका ठुला मान्छेले प्रयोग गर्ने मदिरा तथा धूम्रपानले बालबालिकालाई आकर्षित गरेको हो। मदिराले बिस्तारै लागु औषध सम्म पुर्याएको हो।,’ उनले भने, ‘बालबालिकाहरू जिज्ञासु स्वभावका हुने भएकाले ठुलो मान्छे जस्तै हुने कोसिस गर्छन्। यो एउटा कारण हुनसक्छ। नैरास्यताको कारण उनीहरू लागु औषध दुर्व्यसनीको सिकार भएका हुन्।’
आजै बालमैत्री नगर घोषणा हुने
रामधुनी नगरपालिका भने आजै बालमैत्री नगर घोषणाको तयारीमा छ। बाल दिवसको अवसर पारेर बालमैत्री नगर घोषणा गर्न लागिएको मेयर जयप्रकाश चौधरीले बताए। आफूहरूलाई त्यस्तो समस्याको बारेमा जानकारी नभएको भन्दै उनले अब बालबालिका आफैले समस्या खोजेर ल्याउने संयन्त्र बन्ने बताए। बाल सङ्गठन र विभिन्न एनजिओ मार्फत कार्यक्रम भइरहेकोले खासै समस्या नभएको उनको तर्क छ।
भदौ २९, २०७८ मंगलबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।