मुख्यमन्त्रीमा समर्थनका लागि सुजितकी श्रीमतीले राखेको सर्त मान्दा विवादमा लुम्बिनीका मुख्यमन्त्री
बुटवल : बुटवल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको तयारीसँगै विवाद बढ्दै गयो। स्ववियु निर्वाचन त थियो नै बुटवलमा कसको प्रभाव बढाउने भन्नेमा एमाले र तत्कालीन माओवादीका युवा नेताबीच प्रतिस्पर्धा नै थियो।
स्ववियु निर्वाचनकाक्रममा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूबीच झडप भइरहेको थियो। यी झडपमा एमाले अखिलको नेतृत्व प्रचण्ड थैवले गरेका थिए भने उता क्रान्तिकारी समूहको नेतृत्व सुजित विकले।
तनहुँका सुजित माओवादीका पूर्णकालीन कार्यकर्ता थिए। २०५७ देखि माओवादीमा आबद्ध उनी बटालियन कमान्डर भइसकेका थिए। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनलाई पार्टीले रुपन्देही वाइसिएल जिल्ला अध्यक्ष बनाएको थियो। वास्तविक नाम खरिन्द्र विक भए पनि उनी सुजीतकै नामले परिचित थिए।
थैव माओवादीको वाइसियलको प्रतिकार गर्न एमालेले बनाएको यूथ फोर्सका नेता। दुवैबीच रहेको प्रतिस्पर्धा विस्तारै व्यक्तिगत दुस्मनी बन्दै गयो।
०००
२०६५ चैत १३ गते साँझ १० बजेतिर थैव र उनका साथी केशव रोका सुख्खानगरबाट दीपनगर जाने पुलमा जाँदै थिए। त्यही बेला पछाडिबाट दुई पटक केही पड्किएको आवाज आयो।
बाइक पन्चर भएको होला भनेर दुवै जना बाइकबाट झरेर टायर हेर्न थाले। उनीहरू पुन अगाडि बढ्दा उस्तै आवाज आयो। उनीहरूले पछाडि हेर्दा सुजित र अर्का एक जना देखेपछि भाग्न खोज्दा थैवलाई गोली लाग्यो।
गोली लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि राती १ बजे उनको मृत्यु भयो। मृत्यु हुनुअघि थैवले गोली हान्ने सुजित भएको बयान दिएका थिए।
२०६५ चैत १३ गते सुजीत विरुद्ध किटानी जाहेरी परे पनि उनी पक्राउ परेनन्। लुक्दै बसेका उनी २०६७ साउनमा काठमाडौँमा पक्राउ परेका थिए।
काठमाडौँ पक्राउ गरेर रुपन्देही पठाएका उनलाई २०६९ असोज २३ मा जिल्ला अदालत रुपन्देहीका तत्कालीन न्यायाधीश बालेन्द्र रुपाखेतीको एकल इजलासले थेैवको हत्यामा मुख्य दोषी ठहर गर्दै सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाएको थियो। अदालतले उनलाई सहयोग गरेको भन्दै लेखनाथ न्यौपाने र लोकबहादुर गुरुङलाई २०-२० हजार जरिवाना गराएका थिए। अर्का सहयोगी हरिनारायण पन्त त्यो बेला फरार थिए।
सुजितले हत्या अभियोगमा १० वर्ष कैद भुक्तान गरेर गत वर्ष पोखराको कारागारबाट रिहा भएका थिए। सुजित कारागार परे पनि उनको श्रीमती राजनीतिमा सक्रिय भइन्। उनको श्रीमती दीपा विक लुम्बिनीको प्रदेश सांसद छिन्। रिहा भएपछि उनी पनि माओवादी राजनीतिमै संलग्न भए।
०००
थैवको हत्याको विरोधमा एमालेले बुटवलमा निरन्तर विरोध प्रदर्शन गरेपछि सरकारले सहिद घोषणा गरेको थियो। लुकेर बसेका विक पक्राउ परेर जेल चलान भएपछि थैवका परिवार न्याय पाएको भनेर चुप बसे।
तर एकाएक उनीहरूले सोमबार पत्रकार सम्मेलन गरे। र पत्रकार सम्मेलनको विषय उनै सुजित थिए। लुम्बिनीको सरकार परिवर्तन भएर माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेपछि मुख्यमन्त्री कुल प्रसाद केसीले हत्या अभियोग पुष्टि भएर जेल सजाय पाएकालाई आफ्नो स्वकीय सचिव बनाएपछि थैव हत्या घटना पुन चर्चामा आयो।
थैवको परिवारले पत्रकार सम्मेलन गरेर ‘ पुरानो घाउ बल्झाउने गरी सुजितलाई सरकारी नियुक्ति दिँदा मानसिक पिडा थपिएको बताएको थियो।
जघन्य अपराधमा जेल जीवन बिताएर रिहा भएका सुजितको सामान्य व्यक्ति सरह जीवनयापनको अधिकार भए पनि बुटवलमै मुख्यमन्त्रीको स्वकीय सचिवमा नियुक्त हुँदा आफूहरूलाई मानसिक रूपमा पिडा थपिएको प्रचण्ड थैवकी आमा सुकन्या थैवले बताइन्।
सुजित भने आफूलाई राजनीतिक प्रतिशोधमा फसाएको र अदालतले तोकेको जेल सजाय भुक्तान गरेर रिहा भएपछि पनि यो विषयलाई उठाएर आफूलाई बदनाम गर्न खोजिएको बताए।
‘माओवादीले लुकाएर अहिले मुख्यमन्त्री कार्यालयमा सेट गरेको भए नैतिक प्रश्न हुन्थ्यो । तर सजाय भुक्तान गरिसकेर आएपछि कसले के भन्छ यस बारे म बोल्ने पक्षमा छैन,’लुम्बिनी प्रदेश सभाकी सांसद समेत रहेकी विककी श्रीमती दीपा विकले भनिन्।
केसीको रोजाइमा कसरी परे सुजित ?
तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकार फेरबदलकै क्रममा सुजितलाई नियुक्तको ‘बार्गेनिङ’ भएको जानकार स्रोतको दाबी छ।
त्यो समयमा उनकी श्रीमती दीपा विकलाई सांसद पदबाट राजीनामा गराउने र दीपालाई आगामी निर्वाचनमा सांसद बनाउने तथा श्रीमान् सुजितलाई कुनै ठाउँमा सेट गर्ने तयारी एमालेले गरेको थियो।
तर त्यो समय एमालेका नेताहरूले आफ्नै पार्टीका युवा नेता थैवको हत्या गर्ने व्यक्तिलाई पार्टीमा भित्र्याउन नहुने भनेपछि तत्कालीन समयमा यो कुरा अघि बढ्न सकेन।
सांसद विकले एमालेबाट आएको प्रस्तावलाई मुख्यमन्त्री केसीसामु राखेर आफ्नो समर्थनको सर्तको रूपमा सुजितलाई ‘सेट’ गर्नुपर्ने प्रस्ताव राखिन। श्रोतका अनुसार त्यो बेला सुजितलाई ‘सेट गर्ने बचन’ दिएका केसीले आफू मुख्यमन्त्री नियुक्त भएपछि उनलाई स्वकिय सचिव बनाएर सर्त पुरा गरे।
भदौ २८, २०७८ सोमबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।