सिता भण्डारी मृत्यु प्रकरण : एक साता देखि निरन्तर आन्दोलन
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौड्यालको मृत्यु भएको एक साता बित्दा पनि उनको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले यथार्थ सार्वजनिक नगर्दा आफन्त र परिवार आन्दोलित बनेका छन्।
प्रहरीले पोस्टमार्टम रिपोर्टका आधारमा आत्महत्या भने पनि पौड्यालका माइती पक्ष यसलाई स्विकार्न तयार छैनन्। मृत्यु शङ्कास्पद भएकाले उनको हत्या गरिएको भन्दै माइती पक्षले प्रहरी विरुद्ध दैनिक जसो प्रदर्शन गरिरहेका छन्।
दुई वर्ष अघि तिलोत्तमा नगरपालिका–५ कफी कम्पनी का ४३ वर्षीय टीका पौड्यालसँग विवाह गरेकी २७ वर्षीया सिता गत भदौ २० गते आफ्नै घरको कोठामा मृत फेला परेकी थिइन्। छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिए। तर, प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका माइती पक्ष आन्दोलनमा उत्रिए। आन्दोलनको दबाबमा आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेर प्रहरीले मृतकका श्रीमान् टीका पौड्याल र उनकी दिदी विष्णु पौड्याललाई नियन्त्रणमा लिएको बताएको छ।
प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए पनि मृतकका आफन्त भने ‘प्रशासन बिक्न पाइँदैन, ‘चेली मार्न पाइँदैन, ‘अपराधीलाई छोडिन्न,’ ‘सीता हाम्रो चेली हो, चेली मार्न पाइँदैन’ भन्ने नाराका साथ दिनहुँ प्रदर्शन गरिरहेका छन्। घटना भएको एक सातासम्म पनि मृतकको शव उठाइएको छैन।
घटनाको वस्तुस्थिति
सिता र टिकाबीच २ वर्ष अघि मागी विवाह भयो। विवाह पछि उनीहरू पाल्पा तानसेनमा दि दरबार रिसोर्ट नामको होटल सञ्चालन गर्दै आएका थिए। उनीहरू दुवै जना तीजलाई भन्दै ६ गते पाल्पाबाट घर तिलोत्तमामा आएका थिए। घर एक दिन बसेपछि सिता ७ भदौमा तिलोत्तमा–४ मा रहेको माइती गएकी थिइन्। हत्या हुनु भन्दा १ दिन अघि १९ भदौमा श्रीमान् टिकाले भतिजको जन्मदिन छ भनेर सितालाई घर बोलाए।
‘भतिजको जन्मदिन छ भनेर फोन गरेपछि १९ गते दिउँसो छोरी घर आइन्। घर पुगेपछि के खटपट भएछ हामीलाई पनि थाहा भएन।’ सिताका बुवा हरि प्रसाद भण्डारीले भने, ‘त्यही साँझ साँढे ६ बजे एक्कासि ज्वाईं आएर तपाईँकी छोरी अब वितारा पर्ने भई मैले त आनन्दको जिन्दगी जिउँछु भनी धम्कीपूर्ण कुरा गरेर घर गए। यो कुराले पनि हत्या हुनु एक दिन अघि छोरी ज्वाईंबीच खटपट देखिन्छ’, उनले भने।
अर्को दिन बिहान ५ बजेतिर जरुरी काम छ भनेर सीताको माइती पक्षलाई श्रीमान् टिकाले बोलाए। तर आफन्त पुग्नु अघि नै सीताको मृत्यु भइसकेको थियो। माइती पक्षका अनुसार सीता आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा मृत फेला परेकी थिइन्।
‘हामीलाई घरमा बोलाएर घर जाँदा समेत ज्वाइँ टिकाले दिदी विष्णुलाई देखाउँदै तपाईकी छोरीलाई मार्नमा प्रमुख हात यसैको छ भनी भनेका थिए। यो सुन्नसाथ म त्यहीँ बेहोस भएँ। यो कुरा मसँग भएका सालाहरू पदम पोखरेल र लक्ष्मण पोखरेलले समेत सुनेका छन्।’, उनले भने, ‘यति भइसकेको घटना कसरी आत्महत्या हुन सक्छ?’
मृतकको शरीरमा निल डाम र मुखबाट रगत आएकाले घाँटी कसेर हत्या गरेको आफन्तको आशङ्का छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको र हत्याको पाटोबाट पनि अनुसन्धान हुने बताए।
मृतकका आफन्तजन बाट बन्दको आव्हान
मृत्यु प्रकरणलाई लिएर उनका आफन्त र साथीहरूले मणिग्राम क्षेत्र बन्द गराएका छन्। त्यस्तै तिलोत्तमा वडा नं. ८ र ५ को कार्यालयमा तालाबन्दी गरेका छन्। वडा कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रवाह रोकिएको छ। मृतकका आफन्तले आज पनि विरोध प्रदर्शन गर्ने बताएका छन् ।
भदौ २८, २०७८ सोमबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।