प्रदेश सभाबाट पदमुक्त जसपाका तीन सांसदको निर्वाचन आयोगबाट सनाखत
बुटवल : जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको कारबाहीका विषयमा निर्वाचन आयोगले हालै गरेको एक निर्णयले नयाँ तरङ्ग ल्याएको छ।
प्रदेश सभाबाट पदमुक्त भएका ३ सांसदहरूलाई निर्वाचन आयोगले दल परिवर्तन गरी सनाखत गराएपछि नयाँ तरङ्ग ल्याएको हो।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार विभाजित लोकतान्त्रिक जनता समाजवादी पार्टीमा जसपाले कारबाही गरी प्रदेश सभाले समेत पदमुक्त गरेका तीन जनालाई जनप्रतिनिधिका रूपमा निर्वाचन आयोगले सनाखत गराएको छ।
भदौ २२ गतेसम्म विभाजित दलमा रहेका जनप्रतिनिधिले दल रोज्न पाउने समय सीमा थियो। सोही समयमा कारबाहीमा परेका दुई जना प्रत्यक्ष निर्वाचित र एक जना समानुपातिक सांसदले आयोगमा सनाखत गरेका हुन्। सनाखत गर्नेमा विजयबहादुर यादव, सन्तोषकुमार पाण्डे र कल्पना पाण्डे लम्साल छन्।
समानुपातिक सांसदको स्थानमा त आयोगले नै निर्मला मुडभरीलाई सांसद निर्वाचित भएको भन्दै प्रमाणपत्र समेत दिइसकेको छ भने सभामुख पूर्णबहादुर घर्तीले भदौ २३ गते प्रदेशसभा सदस्य मुडभरीलाई शपथ गराइसकेका छन्। निर्वाचन आयोगले समेत जनता समाजवादी पार्टीको गत साउन ३२ गते केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार बन्द सूची उम्मेदवार मध्ये बाट निर्मलालाई आयोगको भदौ १० गते बसेको बैठकले रिक्त पदमा निर्वाचित गरेको निर्णय गरेको थियो। सो निर्णय प्रदेशसभालाई जानकारी गराएपछि त्यही जानकारीका आधारमा प्रदेशसभाले मुडभरीलाई शपथ गराएको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ।
यस अघिका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टी नियम विपरीत सहभागी भएको भन्दै ती सांसद जसपाको सिफारिसको आधारमा प्रदेश सभाले पदमुक्त गरेको थियो। तर पदमुक्त भएका ३ जनालाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले दल सनाखतका लागि निवेदन दिएको भन्दै लोकतान्त्रिक सामाजवादी पार्टी रोजेको सनाखत गरेको बताएको छ। प्रदेशसभाले तीनै जनाको पद रिक्त भएको सूचना साउन १५ गते नै जारी गरिसकेको थियो ।
लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले पदमुक्त भएका सांसदलाई आयोगले सनाखत गरेपछि अन्यौलता बढेको बताए। ‘आयोग र जसपा केन्द्रीय कार्यकारिणी बैठकबाट प्राप्त निर्णयका आधारमा समानुपातिक सांसद निर्मला मुडभरीको शपथ समेत भइसकेको छ। फेरी पदमुक्त भइसकेका ३ जनाको सनाखत आयोगले गरेको छ। अब के हुने हो आयोगले नै जानोस्।’ उनले भने।
यता निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने आयोगको सल्लाह अनुसार नै ३ जनालाई सनाखत गरेको बताएका छन्। ‘उहाँहरूको मुद्दा अझै पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालते पुनर्बहाली गरेमा लोकतान्त्रिक समाजवादीमा कायम हुने प्रमाणका लागि निवेदन लिएका हौँ’, उनले भने।
कानुन व्यवसायी महेन्द्र पाण्डेले पदमुक्तको सूचना निकालेकालाई आयोगले सनाखत गरेपछि यसले कानुनी जटिलता थपेको बताए। ‘अदालतबाट ३ जनालाई पुर्न बहाली नगरे त ठिक हो। तर पुर्न बहाली गरेको अवस्थामा सांसद निर्मला मुडभरीको अवस्था के हुन्छ ?’ उनले भने–‘निर्वाचित भनेर प्रमाणपत्र दिई सकियो, शपथ गराई सकियो। अनि आदेश उनको पक्षमा नआए तपाई सांसद होइन भन्न मिल्छ ?’ उनले भने।
यता जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोक यादवले भने आयोगले सनाखतका लागि निवेदन लिए पनि त्यसको खास अर्थ नहुने बताए। आयोगले रिक्त पद भन्दै नयाँ प्रदेश सभा सदस्य निर्वाचित गरिसकेकाले आयोगले सनाखत गरे पनि अर्थ नहुने उनको भनाई छ।
भदौ २८, २०७८ सोमबार ०९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।