सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ: अर्थमन्त्री

काठमाडाैंः अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताएका छन्। कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित सात प्रतिशत आर्थिक वृद्धि सम्भव हुने उनले बताए।
पूर्वअर्थमन्त्री विष्णु पाैडेलले जारी गरेकाे अध्यादेश बजेटलाई प्रतिस्थापन गर्दै शुक्रबार नयाँ बजेट पेश गरेका शर्माले आज आयोजित पत्रकार सम्मेलनमा भने, “सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै प्राप्त हुन सक्छ। त्यसका लागि क्रमशः वातावरण बन्दै गएको छ।”
कोरोनाको असर कम हुँदै गएको, आर्थिक क्रियाकलाप बढ्दै गएको, पूँजीगत खर्चमा वृद्धि गर्ने स्पष्ट कार्ययोजनाको तयार गरिएको तथा अन्य नीतिगत सुधार गरिएकाले अपेक्षित लक्ष्य पूरा हुने उनले बताए। “पूरा हुने लक्ष्य मात्रै निर्धारण गरेका छौँ। केहीलाई तत्काल सरकारको यो घोषणा विश्वास नलाग्न पनि सक्छ तर हामी यसलाई पूर्णता नै दिन्छौँ”, अर्थमन्त्री शर्माले भने।
उनले विकास निर्माणका गतिविधिलाई तीव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिनेजस्ता व्यवस्थाले अर्थतन्त्रले थप गति समात्ने उल्लेख गरे। अर्थमन्त्री शर्माले गरिबी न्यूनीकरण लागि ठोस योजनासहितका कार्यक्रम ल्याउन लागिपरेको र छिट्टै सार्वजनिक गर्नेसमेत जानकारी दिए।
चुलिँदो व्यापार घाटा कम गर्नका लागि आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएको र आयात प्रतिस्थापन गर्ने विषयलाई प्राथमकितामा राखिएको उनकाे भनाइ छ। अध्यादेशबाट ल्याइएको बजेटका प्रमुख प्रावधानलाई कायम राखी केही संशोधन गरिएको र छोटो समयमा काम गर्नुपरे पनि जनताको अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरिएको शर्माले बताए।
भदौ २७, २०७८ आइतबार १९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।