संसद् अवराेध अन्त्य गर्न सभामुखले बाेलाए सर्वदलीय बैठक

काठमाडाैंः सभामुख अग्निप्रसाद सापकोटाले भाेलि सर्वदलीय बैठक बाेलाएका छन्। संसद्को कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन सभामुख सापकाेटाले सर्वदलीय बैठक बोलाएका हुन्।
सोमबार साढे दुई बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले बताए। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ।
संसद्को चालू अधिवेशन शुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध पार्दै आएकाे छ। आज पनि एमालेले बैठक अवरुद्ध पारेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेकाे थिएन।
बैठक पुनः सञ्चालन गर्न सभामुख सापकोटाले आजै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरे पनि बिनानिष्कर्ष टुंगिएकाे थियाे।
संसद् बैठक भदौ २९ गते सम्मका लागि स्थगित छ। एमालेले आफूले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ।
भदौ २७, २०७८ आइतबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।