राजेश हमाल : महा बन्न नसकेका नायक
काठमाडौँ : राजेश हमालले जसरी सहज रूपमा महानायकको उपाधि पाए त्यसरी नै खिया लाग्दैछ यो उपाधिमा। कुनै सरकारी तह वा कलाकारसँग जोडिएका संस्थाले उनलाई महानायक घोषणा गरेको थिएन।
फिल्मी कार्यक्रममा सञ्चारकर्मी प्रकाश सुबेदीले कुरैकुरामा उनलाई महानायक बनाइदिएका थिए। अन्य सञ्चारकर्मीले त्यसैको सिको गरेर उनको नाम अगाडि महानायक लेख्दा लेख्दै उनी सँगसँगै टासिइरह्यो यो पदवी।
तर पछिल्ला उनका कलाकर्मले महानायक शब्द उनैलाई भारी भएजस्तै देखिन्छ। उनी कलाकर्मबाट रिटायर्ड भएका छैनन्। सक्रिय नै छन्। तर सक्रिय भए पनि महानायकको ओझ बोक्न सक्ने गुण छैन उनको सक्रियतामा।
आम दर्शकले पनि महानायक भन्नासाथ हमाल भनिरहेका छन्। उनका प्रशंसक उनको उपाधिमाथि कसैले प्रश्न उठाएको सहन सक्दैनन्।
उनको पारिवारिक पृष्ठभूमि अनि उनको क्रियाशीलताको लामो समयले दालभातकै जोहो गर्न सम्झौता गरिहाल्नुपर्ने अवस्थामा पक्कै पुगेका नहोलान् उनी।
तर पछिल्ला समय उनी जुन तहको अभिनयमा देखिएका छन् त्यसले दाल–भातको सङ्घर्षमा जुधिरहेको कलाकारले बाध्यतावश स्वीकार गरेको प्रस्तावतहका अभिनय देखिन्छन्।
फिल्मी पर्दामा उनी नदेखिएको त लामै समय भयो। म्युजिक भिडियोतिर झुल्किरहेका छन् उनी। जुन स्तरको म्युजिक भिडियोमा जर्वजस्ती उनले कम्मर मर्काइरहेका छन् त्यसले महानायक राजेशलाई मात्रै हैन कलाकार राजेशलाई पनि जिस्काइरहेझैँ देखिन्छ।
यसले उनलाई महानायकको उपाधि दिने सुवेदीको पनि चित्त दुखेको रहेछ। सुबेदी राजेशलाई प्रश्न गर्छन् ‘जस्तै पनि काम गर्नै पर्ने हो र?’
बोल्दाबोल्दै सुवेदीले महानायक भनिदिए पनि अब त्यो उपाधि सुवेदीकै परिधीमा रहेको छैन। आम दर्शकले पनि महानायक भन्नासाथ हमाल भनिरहेका छन्। उनका प्रशंसक उनको उपाधिमाथि कसैले प्रश्न उठाएको सहन सक्दैनन्।
त्यसको उदाहरण अभिनेत्री दीपा श्री निरौलाको महानायक उपाधिमाथि प्रश्न उठाउँदा मच्चिएको काण्ड नै हो।
हमालको महानायक उपाधिमाथि उनले प्रश्न उठाउँदा निकै आलोचना भयो। आफ्ना प्रशंसकलाई शान्त बनाउन हमाल आफैँ सामाजिक सञ्जालमा उत्रिनु परेको थियो।
केही अन्तर्वार्तामा राजेशले ‘कलाकारको धर्म कला प्रस्तुत गर्ने हो। आफ्नो काम नगरेर हुन्छ त?’ भनेर आलोचना मत्थर गर्ने प्रयास गरेका छन्। तर उनको तर्क बहाना मात्र देखिन्छ। त्यसले नेपाली फिल्म क्षेत्रमा जसरी उनको टावर पर्सनालिटी बनेको छ त्यो धान्न सक्दैन।
‘कलाकारिता नै पेसा भए पछि काम त गर्न पर्यो। तर, नेपाली सिनेमाको अभिभावक जस्तो मान्छेले जस्ता भिडियोमा पनि नखेली दिए हुन्थ्यो भन्ने महानायकका शुभचिन्तकलाई लाग्छ नै,’सुबेदी भन्छन्‘ ‘युगदेखि युगसम्म’ बाट आजका दिनसम्म उहाँ देखिरहनु भएको छ। त्यो उहाँको लागि सकारात्मक कुरा हो। तै पनि कस्तो प्रस्ताव स्वीकार गर्ने, कुन नगर्ने हेरिदिए हुन्थ्यो भन्ने लाग्छ नै।’
भेटमा प्रकाशले आफूलाई चित्त नबुझेको कुरा राखेका रहेछन्।
‘जथाभाबी काम किन गर्नुहुन्छ भनेर मैले सोधेको पनि छु,’ उनले उकेरासँग भने‘ फरक गर्ने इच्छा थियो गरेँ भन्नु हुन्छ।’
अनुहार बिकाउनकै पिर
नेपाली चलचित्रको इतिहास धरै लामो छैन। २५ वर्षदेखि राजेश नेपाली चलचित्रमा सक्रिय छन्।
२०४६ पछि फेरिएको चलचित्रको रूप २०६२–६३ को जन आन्दोलनसम्म रह्यो। त्यस बखत राजेशको काँधमा नेपाली चलचित्रको जिम्मेवारी नै थियो।
उनको अनुहारकै भरमा हलमा टिकेका चलचित्रको संख्या टन्ने छ त्यो बेलामा।
समयसँगै नेपाली सिनेमाको पनि रङ्ग फेरियो। फेरिएको रङले चरित्र प्रधान कथाहरूमा चलचित्र बनाउने ट्रेन्ड नै चल्यो। जसमा उनी फिट हुन सकेनन्।
पण्डित भन्छन्‘उनी त बजारको इसारामा चल्ने रोबट मात्र बने। त्यसैले आज पनि उनी उस्तै छन् पहिला जस्तो थिए।’
बिचमा केही चलचित्रमा देखिए पनि दर्शकले उनको अभिनयलाई उति रुचाएनन्।
आजका दर्शकसँग राजेशको टन्न विकल्प छन्। चलचित्र हेर्ने बानी परेकाहरूलाई जर्वजस्ती उनकै अनुहार हेर्नुपर्ने बाध्यता पनि छैन।
जमाना फेरियो तर उनी उस्तै रहे। न काममा अपडेट देखिए न कलामा।
‘नाचन कान्छी’‘आँखामा गाजल’ ‘चट्ट बसुम् चौतारीमा’ ‘क्यारम त नि’ ‘मालिङ्गो’,पिर नगर मन्जिरी’ मा जसरी देखिए फरक गर्ने प्रयास भन्दा अनुहार देखाउने लालसा बढी देखियो।
ती म्युजिक भिडियोमा उनको न प्रस्तुति सुहाउँदो छ न अभिनयको लय। उनी नृत्यमा उही बेला नै कमजोर हुन् नै। अहिलेको बेलामा उही शैलीको अरमट्ठ कम्मर मर्काइले फरक गर्ने प्रयासको तर्क बलियो बनाउन सकेको छैन।
‘आफ्नो कमजोरी के छ भनेर थाहा हुँदाहुँदै त्यही काम गर्नु भनेको मूर्खता हो,’ चलचित्र समीक्षक तथा निर्देशक मनोज पण्डित भन्छन्‘ उनलाई बजारमा राम्रो कन्टेन्ट दिन नसक्ने जमातले महानायक भनेर देवत्वकरण गर्यो। उनी त्यसैमा रमे। उनलाई त्यो महानायकको पदवी निकै भारी र महँगो परिरहेका छ, पर्ने पनि छ।’
नेपाली सिनेमाका पढेलेखेका अज्ञानी
हमाललाई नेपाली चलचित्रकर्मी मध्य बौद्धिक व्यक्तिको रूपमा व्याख्या गरिन्छ। उनी बौद्धिक हुन् पनि तर उनको बौद्धिकता नेपाली चलचित्र क्षेत्रका लागि उपयोगी देखिन सकेको छैन।
पण्डित चलचित्रमा हमालको बौद्धिकता कतै काममा नआएको तर्क गर्छन्।
‘हमाल अध्ययनशील मान्छे हुन्। उनी ज्ञानी मान्छे हुन्। तर उनको ज्ञान नेपाली चलचित्रमा कतै पनि देखिएन,’ पण्डित भन्छन्‘सर्जकका आँखाले हेर्ने हो भने उनी नेपाली सिनेमाका अज्ञानी मान्छे हुन्।’
कसरी?
मनोजको विश्लेषण यस्तो छ–‘ अध्ययनशील मान्छे भए पछि उनले नेपाली सिनेमामा धेरै काम गर्न सक्थे। उनले आफ्नै प्रस्तुतिमा धेरै काम गर्न सक्थे। तर उनले त्यसलाई ध्यान नै दिएनन्। यति लामो समयसम्म काम गरेका अनुभवी मान्छे भएर पनि उनले आफूलाई समयानुकूल परिवर्तन गर्न नै चाहेनन्। उनको अध्ययन उनको पेसामा कतै पनि काम आएन। त्यसैले उनी अज्ञानी मान्छे हुन् नेपाली चलचित्रको।’
रोबोट बनिरहन चाहन्छन् राजेश
राजेश हमालको समयमा नेपाली चलचित्र व्यवसायको रूपमा ढल्कँदै थियो। २०४६ को खुला अर्थतन्त्रले चलचित्रलाई उत्पादन मान्यो। जसले बजार खोज्ने भयो नै। त्यही बजारले बस्तु बनाएको पात्र बने उनी।
‘उनी बजारले जे खोज्यो त्यतै ढल्के। आफ्नो क्षमता र सामर्थ्य उनले पहिचान नै गर्न सकेनन्। उनी यो बजारको एक उपभोग्य बस्तु बने। तर उनी विश्लेषक बन्नु पर्थ्यो। आफ्नो कामको मुल्याङकन गर्नु पर्थ्यो,’ पण्डित भन्छन्‘उनी त बजारको इसारामा चल्ने रोबट मात्र बने। त्यसैले आज पनि उनी उस्तै छन् पहिला जस्तो थिए।’
गतिला निर्देशक छान्न नसक्नु, आफ्नो कामको महत्त्व थाहा नहुनु र परिवर्तित समयमा पनि आफूलाई परिवर्तन गर्न नचाहनु राजेशको महानायकत्वको प्रमुख शत्रु हुन् र यी कुराले उनी आफै बजारमा नागिङन चाहिरहेको छन् भन्ने तर्क गर्छन् निर्देशक पण्डित।
‘हमाललाई अन्तिम पटक निर्चोदै छन् मेकरहरुले। उनीबाट गतिलो चिज नआएर पछिल्ला जस्तै सामाग्री आए भने चाडै नै सडकमा हुत्त्याउँछन् दर्शकले र उनी अस्तित्वविहीन हुनुपर्ने दिन आउन सक्छ,’ पण्डितले उकेरासँग भने।
भदौ २६, २०७८ शनिबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।