सुदूरपश्चिम प्रदेश : एक मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नौ सांसदको दाबी
धनगढी : सुदूरपश्चिममा रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्री बन्न ९ जना आकांक्षी देखिएका छन् ।
माधवकुमार नेपाल नेतृत्वको भागमा परेको उक्त मन्त्रालयमा मन्त्री बन्न नेकपा एकीकृत समाजवादीका ९ जनाले आकांक्षा देखाएका हुन्। नेकपा (एमाले) विभाजन पछि सरकारमा सहभागी एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले मङ्गलवार राजीनामा दिए पछि खाली भएको मन्त्रालय सम्हाल्न ९ जनाले दाबी गरेका हुन्। मन्त्रालय अहिले मुख्यमन्त्री त्रिलोचन भट्टले आफू मातहत राखेका छन्।
श्रोतका अनुसार रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालयमा एकीकृत समाजवादीबाट मन्त्री पदपूर्ति गर्ने तयारी भइरहेको छ।
‘एक मन्त्री र एक राज्यमन्त्रीमा एकीकृत समाजवादीका ९ वटा सांसदले इच्छा जाहेर गरेका छन्’,एक प्रदेश सभा सदस्यले भने,‘एक मन्त्री र एक राज्यमन्त्री कसलाई दिनेबारे हामी छलफलमा छौँ।’
नेकपा एसका तारालामा तामाङ, प्रकाश रावल, अमरबहादुर साउद, कुलवीर चौधरी, माया भट्ट, दुर्गा कामी, माया तामाङ बोहरा, बलबहादुर सोडारी र सुशीला बुढाथोकी मन्त्रीका आकांक्षी हुन्।
‘सबैले मन्त्रीका लागी लबिङ गरिरहेका छन्,तर तारालामा तामाङ र प्रकाश रावलमध्ये एक जनाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुहुन्छ’, एक नेताले भने, ‘राज्यमन्त्रीमा महिला सांसदले स्थान पाउँछन्,दुर्गा कामी, सुशीला बुढाथोकी, माया तामाङ बोहरामध्ये एक जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउनुहुन्छ।’
‘तामाङले मन्त्री बन्ने सर्तमा मात्र नेकपा एसको पक्षमा सनाखत गर्नुभएको हो,उहाँले मन्त्री पाउने पक्का पक्की छ’, ती प्रदेश सभा सदस्यले भने, ‘पहिलो पटक सनाखत गर्न जाँदा उहाँहरू बाटो बाटै फर्किनुभएको थियो पछि मन्त्री दिने सहमति भएपछि उहाँले यो पार्टी रोज्नु भएको हो।’
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी तारालामा तामाङले तत्कालीन नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। माधव नेपाल निकट उनी एमाले कञ्चनपुरको अध्यक्ष पनि थिए।
मन्त्रीका अर्का प्रमुख दाबेदार सुदूरपश्चिम प्रदेशका पूर्व–उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल पनि हुन। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट विजयी रावल ठगी मुद्दामा मुछिएर विवादमा आए पछि दुई वर्ष अगाडि मन्त्री पदबाट राजीनामा दिएका थिए।
बैतडीकी सांसद माया भट्टले यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन्। गत जेठ १४ गते मुख्यमन्त्री भट्टले मन्त्रिमण्डल पुनर्गठन गर्दा उनलाई हटाइएको थियो।
विश्वासको मत दिएर सरकार जोगाइ दिएको माधव समूहका ७ सांसदलाई मुख्यमन्त्री भट्टले मन्त्री बनाएका थिए। तीमध्ये अहिले एमाले विभाजनमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले नेपाललाई साथ दिएनन्।
प्रदेश सरकारको मन्त्रिमण्डललाई केही दिनमा पूर्णता दिइने भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले बताए। ‘प्रदेश सभा सदस्यको २० प्रतिशत भन्दा बढी सांसदलाई मन्त्री बनाउन नपाउने व्यवस्था छ, अब हामीले मन्त्रालय थप्न पाउँदैनौँ,मन्त्री मण्डल मात्र पुनर्गठन हुन सक्छ,हामी छलफलमा छौँ,केही दिनमा निर्णय हुन्छ’,सोडारीले भने ।
भदौ २६, २०७८ शनिबार १३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।