रेस्टुराँ व्यवसाय सुरु गरेको ६ वर्षमै करोडपति
हुन त उनले ६ वर्षअघि नै रेस्टुराँ व्यवसाय सञ्चालन गरेका थिए। तर सबैलाई जस्तै उनको व्यवसायलाई पनि महामारीले नराम्ररी बिथोल्यो। उनी आत्तिएनन् र समस्यामा मात्र केन्द्रित नभएर समाधान र सम्भावनामा केन्द्रित भए।
महामारीअघि १६ जना कर्मचारी रहेको उनको ‘लाइम एन्ड लेमन लाउन्ज क्याफे’मा हाल ८ जनालाई मात्र उनले नियमित काममा फर्काएका छन्। थोरै कर्मचारीबाट सेवा दिएर भए पनि उनले व्यवसायलाई निरन्तरता दिएका छन्।
चार वटा रेस्टुराँमा ९ करोडको लगानी
साइप्रसबाट होटेल म्यानेजमेन्टमा स्नातक तहको अध्ययन पूरा गरेर सागर नेपाल फर्किएका थिए। नेपालमा के गर्ने कसो गर्ने भन्दाभन्दै उनले आफूले जानेको सिपलाई व्यवसायमा परिणत गर्ने सोच बनाए। २०७१ सालमा सञ्चालनमा ल्याए– लाइम एन्ड लेमन लाउन्ज।
‘बुटवल व्यावसायिक दृष्टिकोणले राम्रो छ। भारतको उत्तर प्रदेशमा २३ करोड जनसङ्ख्या छ। त्यसमध्ये आधा जनसङ्ख्यालाई बुटवलसम्म ल्याउन सके यहाँ हरेक सम्भावना छ’, सागर भन्छन्, ‘यसका लागि सरकारले समेत चासो र योजना बनाउनुपर्छ। युवा व्यवसायीलाई प्रोत्साहन गर्नपर्छ।’
हाल बुटवल लुम्बिनी प्रदेशको अस्थायी राजधानी हो। र नजिकै भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलका कारण पनि होटेल तथा रेष्टराँमा लगानी धमाधम भइरहेको छ। विमानस्थल सुचारु भएपछि होटेल एवं रेस्टुराँ व्यवसायले अझै फड्को मार्ने सागरको विश्वास छ।
सागरले सञ्चालनमा ल्याएको लाइम एन्ड लेमन लाउन्जमा उनको एकल लगानी छ। त्यस बाहेक उनले पार्टनरसिपमा चार वटा क्याफेमा लगानी गरेका छन्। कुनै समय नेपालमा के गर्ने भन्ने सोचमा बस्ने सागरले रेस्टुराँ व्यवसायमा ९ करोड रुपैयाँ लगानी गरिसकेका छन्। त्यो पनि ६ वर्षको बीचमा।
खोज्दै छन् थप व्यावसायिक सम्भावना
युवा न हुन्, उनी रोकिएका छैनन्। थप व्यावसायिक सम्भावना खोज्दै छन्।
औद्योगिक र व्यापारिक नगरको रूपमा परिचित बुटवल होटेलको हबको रूपमा परिचित हुन सक्ने प्रशस्त आधारहरू छन्। त्यो आधारलाई सागरले अवसरको रूपमा लिएका छन्।
बुटवलको कालिकानगर पश्चिमलाई बुटवल उपमहानगरपालिकाले ‘मिनी ठमेल’ परिकल्पना गरेर हाल सडक विस्तारमा लागेको छ। तीनकुनेदेखि योगिकुटीसम्म हाल सयौँको सङ्ख्यामा स्तरीय होटेल खुलिसकेका छन्।
साँझमा गुलजार बन्ने कालिकानगरलाई रातको समयमा पनि सञ्चालन गरेमा थप व्यावसायिक सम्भावना फेला पर्ने सागर बताउँछन्।
मनोरञ्जनका लागि काठमाडौँ धाउने ग्राहकलाई बुटवलमै राख्न रात्रिकालीन होटेल सञ्चालन गर्नुपर्ने उनको तर्क छ। होटेल तथा रेष्टराँ केवल खाजा खाने र विश्राम गर्ने स्थलको रुपमामात्र छैन अहिले, यो व्यवसाय धेरै युवाको रोजीरोटी बनेको छ। पर्यटनको लागि नभई नहुने व्यवसायका रूपमा स्थापित भएको छ। कुल ग्राहस्थ उत्पादनमा ठुलो हिस्सा ओगट्न थालेको छ।
सागर भन्छन्, ‘अहिले पढेलेखेकाहरू यस पेसामा लागेका छन्। त्यसैले पनि यो पेसा अहिले सम्मानजनक हुन थालेको छ।’
नयाँ सोच भए असम्भव केही छैन
पाल्पाको तानसेन नगरपालिका–७ बाँसटारीका स्थायी बासिन्दा हुन् सागर। उनले युवा उमेरमै सफलता पाए। तर सबै सफल हुन्छन् भन्ने छैन।
उनका अनुसार जसले व्यवसायमा नयाँ सोच भित्र्याउँछ, उही सफल हुन्छ। उनी अरूको नक्कल गरेर व्यवसाय गर्नाले कालान्तरमा सफलता दिन सक्दैन भन्ने मान्यता राख्छन्।
उनले पनि साइप्रसमा होटेल म्यानेजमेन्टमा स्नातक गर्दाको सिकाइलाई लागू गर्दै व्यवसाय गरे, बुटवलमा नयाँपन दिए, त्यसैले उनको व्यवसाय सप्रिएको छ, उनको सफलता झन् झन् फक्रिएको छ।
उनी भन्छन्, ‘कोरोना महामारीले सबैभन्दा धेरै असर रेस्टुराँ व्यवसायलाई नै गरे पनि भविष्यमा यस क्षेत्रमा अपार सम्भावना छ।’
भदौ २५, २०७८ शुक्रबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।