गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिबेरेसन उडान अनिश्चित

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिबेरेसन उडान अनिश्चित

बुटवल : भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले क्यालिबेरेसन उडानको तयारी पूरा गरे पनि उडान समय भने अनिश्चित भएको छ।

विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ छैन भनेर परीक्षण गर्ने उडानलाई क्यालिबेरेशन भनिन्छ। जसलाई उडानबाट परीक्षण गरिन्छ। थाइल्यान्डको एरोथाई कम्पनीले परीक्षण उडान गर्ने भनिए पनि कम्पनीले कहिले उडान भर्छ केही टुङ्गो छैन। थाई सरकारले कोरोनाका कारण आफ्ना नागरिकलाई देश बाहिर जान नदिएकाले परीक्षण उडानमा विलम्ब भएको विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। नयाँ ठेक्कामा जाँदा झन् धेरै समय लाग्ने र ‘जी टु जी’ (सरकार–सरकार) बाट भए पनि परीक्षण उडानको प्रयास भइरहेको उनले बताए।

परीक्षण उडानका लागि पाँच÷सात सिट भएको थाई विमान आउने भनिएको छ। उडानका क्रममा एन्टेना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसन लगायत सबै सूचना ठिक छ छैन भनी उक्त विमानले परीक्षण गर्नेछ।

क्यालिबेरेशन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरु गर्ने गर्दछन्। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिले सम्म ९८ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भइसकेको छ। विमानस्थलमा धावन मार्ग, ट्याक्सी वे, टर्मिनल भवन, विमानस्थल पार्किङ क्षेत्र लगायतका भौतिक निर्माणका काम सकिएको छ। 

आर्थिक वर्ष २०७२÷०७३ मा सुरु गर्दा तीन वर्षभित्र सम्पन्न गर्ने भनिएको विमानस्थल उक्त समय गुज्रिएको चार वर्ष बितिसकेको छ। तर विभिन्न कारणले निर्माण सम्पन्न हुन विलम्ब भइरहेको छ। जग्गा अधिग्रहणमा ढिलासुस्ती तथा चिनिया ठेकेदार र नेपाली सहायक ठेकेदार कम्पनीबीचको विवाद हुँदा ढिला भएको काम पछिल्लो समय कोभिडका कारण प्रभावित भएको थियो। त्यस बाहेक विमानस्थलका लागि भारतले अहिले सम्म रुट इजाजत समेत दिएको छैन। आयोजना प्रमुख अधिकारीका अनुसार नागरिक उड्डयन प्राधिकरण अब भारतको नागरिक उड्डयन प्राधिकरणलाई बोलाउने गृहकार्यमा लागेको छ।

यता यहाँका सङ्घसंस्थाले विमानस्थल यथाशीघ्र सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। करिब ९८ प्रतिशत निर्माण पूरा भएको विमानस्थल क्यालिव्रेसन फ्लाइट (परीक्षण उडान) नहुँदा सञ्चालनमा ढिलाइ भएको बताउँदै थाइल्यान्डको एरोथाई कम्पनीले परीक्षण उडान गर्दैन भने अन्य विकल्पहरूको प्रयोग गरेर भए पनि चाँडो विमानस्थल सञ्चालनको प्रबन्ध मिलाउन माग गरिएको हो।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्वलप्रसाद कसजुले विमानस्थल चाँडो सञ्चालनमा आउन सके त्यसका माध्यमबाट यस क्षेत्रको पर्यटन उद्योग फस्टाउनुको साथै व्यापार विस्तार गर्न र कार्गो विमानमार्फत यस क्षेत्रका कृषिजन्य उत्पादन कफी, फलफूल, जडीबुटी, खाद्यान्न  निर्यातको सम्भावना रहेकाले उद्योगीसँगै मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्ने उनले बताए।

विमानस्थल निर्माणको पटक पटक समय थप गर्दै ६ वर्ष बितिसक्दा पनि अझै निर्माण पूरा हुन सकेको छैन। ६ अर्ब ८२ करोडको लागतमा सम्पन्न हुन लागेको आइसिबी–१ स्तरको सो विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ। यस्तै, आइसिबी –२ अन्तरगत विमानस्थलमा जडान हुने उपकरणहरूका लागि पनि करिब ५० करोड लगानी छ।

भदौ २५, २०७८ शुक्रबार ०९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।