कांग्रेसको वडा अधिवेशन : सुर्खेत र डोल्पामा अझै क्रियाशील सदस्यता विवाद
सल्यानका ८३ वडामध्ये ८२, कालिकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुम पश्चिमका ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडामा गरी पाँच सय ५३ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ।
भदौ १८ गतेदेखि २३ गतेभित्र सबै वडामा अधिवेशन सम्पन्न गरी सक्नुपर्ने कार्यतालिका थियो। सोहीअनुसार कर्णालीका आठ जिल्लामा मात्र वडा अधिवेशन सुरु भएको थियो।
कार्य तालिकाअनुसार कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा कांग्रेसको वडा अधिवेशन सुरु भएको हो।
सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको वडा नं ११ मा वडा अधिवेशन हुन सकेको छैन।
मतदान अधिकृतका कारण तोकिएकै समयमा अधिवेशन गर्न नसकिएको कांग्रेस सल्यानका सभापति गणेश चन्द्रले जानकारी दिए। उक्त वडामा शुक्रबार वडा अधिवेशन तोकिएको छ। सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्दागर्दै पनि सल्यानका २० प्रतिशत वडामा निर्वाचन भएको नेपाली कांग्रेस सल्यानले जनाएको छ।
सल्यानमा २० प्रतिशत वडामा निर्वाचन भइरहँदा कर्णालीका अन्य जिल्लाका कमै वडामा मात्रै निर्वाचन गर्नुपर्ने अवस्था आएको छ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं ८ मा भने निर्वाचन गर्नुपर्ने अवस्था आएको कांग्रेसका जिल्ला सभापति दीपबहादुर शाहीले जानकारी दिए।
कालिकोटका केही वडामा पनि निर्वाचन गर्नुपरेको कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले बताए। उनका अनुसार ९० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व छानिएको छ।
कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, हुम्ला र मुगुका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जिल्ला सभापतिहरूले जनाएका छन्। कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा भने क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन अन्योलमा छ।
भदौ २४, २०७८ बिहीबार २०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।