सुदूरपश्चिममा नेकपा समाजवादी : प्रदेश सभामा बलियो,स्थानीय तहमा कमजोर
नेकपा एमाले विभाजन पछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मङ्गलवार सकिँदा प्रदेशसभामा ठुलो बनेको एकीकृत समाजवादी स्थानीय तहमा कमजोर देखिएको हो।
यो प्रदेशमा प्रतिनिधि सभाका ४, राष्ट्रिय सभाका २ तथा प्रदेश सभाका १४ सांसदले नयाँ दलमा सनाखत गरे। त्यसै गरी स्थानीय तहमा नगरपालिका प्रमुख २, उपप्रमुख ३, गाउँपालिका अध्यक्ष ३ र उपाध्यक्ष ३ जनाले नेकपा एकीकृत समाजवादी रोजेका हुन्।
प्रदेश सभामा पहिलो
नेकपा एमालेका २५ मध्ये १४ प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन्। १४ सांसद सहित एकीकृत समाजवादी पार्टी सुदूरपश्चिममा ठुलो दल बनेको छ। एमाले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो दल थियो।
एमाले प्रदेश सभामा चौथो दल बन्न पुगेको छ। १४ सांसद सहित समाजवादी पहिलो दल बनेको छ। एमालेको सांसद सङ्ख्या घट्ने बित्तिकै नेकपा माओवादी केन्द्र १३ सांसद सहित दोस्रो दल नै रहेको छ।
१२ सांसद सहित नेपाली काँग्रेस तेस्रो दलमै रहँदा पहिलो दल रहेको नेकपा एमाले ११ सांसद सहित चौथो दल बन्न पुगेको हो। प्रदेश सभामा जसपाका २ सांसद छन्।
सोमवार प्रदेश सांसद माया तामाङ (बोहरा)ले एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्। यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै एकीकृत समाजवादीमा सनाखत गराइसकेका थिए।
आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी, तारा लामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका थिए।
यसअघि माधव गुटमा रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, अर्थ राज्यमन्त्री अर्चना गहतराजले एमालेमै रहने भन्दै मन्त्री पदबाट पनि राजीनामा दिएका छन्। पूर्व मन्त्री कृष्णराज सुवेदी,सांसद हर्कबहादुर कुँवरले पनि एमाले नै रोजेका छन्।
पूर्व मन्त्री पठानसिंह बोहरा, सांसद रतन थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी भने विगतमा पनि ओली समूहमै थिए।
विभाजनले सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई ठुलो धक्का लागेको छ। २५ सदस्य सहित पहिलो दल रहेको एमाले ११ सदस्य सहित चौथोमा खुम्चिनु परेको छ। एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) प्रदेशसभाकै ठुलो दल बनेको छ।
स्थानीय तहमा कमजोर
८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा एमालेले १४ नगरपालिकामा प्रमुख, १७ नगरपालिकामा उपप्रमुख, २८ गाउँपालिकामा अध्यक्ष र २६ गाउँपालिका उपाध्यक्ष जितेको थियो। त्यसमध्ये एमाले विभाजन पछि २ नगरपालिकाका मेयरले मात्र नेकपा एस रोजेका छन्। १२ नगरपालिकाका मेयर एमाले मै रहेका छन्। यस्तै ४ नगरपालिकाका उप प्रमुखले नेकपा एस रोजेका छन् भने १३ नगरपालिकामा उपप्रमुख एमालेमै छन्।
एमालेले २८ गाउँपालिकामा अध्यक्ष जितेको थियो। ती मध्ये मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएको छ। त्यस बाहेक २४ गाउँपालिकाका अध्यक्ष एमालेमा छन्। ३ गाउँपालिकाका अध्यक्षले मात्रै नेकपा एस रोजे।
एमालेबाट २६ गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए। २३ गाउँपालिकाका उपाध्यक्ष एमाले छन् भने, ३ जनाले मात्र नेकपा एसमा सनाखत गरे।
कैलालीको गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत,घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापा, मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढामगरले नेकपा एकीकृत समाजवादी रोजे। कैलालीका अन्य सबै स्थानीय तहका प्रमुख–उपप्रमुख एमालेमै छन्।
कञ्चनपुरमा पुर्नवास नगरपालिका प्रमुख जीवन थापा,डोटीमा दिपायल सिलगढी नगरपालिका उपप्रमुख शिवराज खड्का,डोटीको पूविचौकी गाउँपालिका अध्यक्ष दिर्ग बोगटी,बझाङमा केदारस्यु गाउँपालिका अध्यक्ष इन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, बाजुरामा स्वामिकार्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही उपाध्यक्ष निमा बुढा, र अछाममा साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर उपप्रमुख निर्मला बुड्थापाले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
केन्द्रमा यस्तो
सुदूरपश्चिमका प्रतिनिधि सभामा ४ र राष्ट्रिय सभामा २ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन्।
एमालेका केन्द्रीय सदस्यमध्ये सुदूरपश्चिमबाट गरिमा शाह, प्रेम आले र निरा जैरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् भने अन्य सबै एमालेमै छन्। एमालेमा अहिले लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह छन्।
यसअघि माधव पक्षमै रहेका भीम रावल, झपट रावल, विक्रम शाही, रामकुमार ज्ञवाली, भानुभक्त जैसी र प्रकाश शाह एमालेमै रहेका छन्।
राष्ट्रियसभामा सुदूरपश्चिमबाट एमालेका चार सांसद थिए। तीमध्ये कैलालीकी शारदा भट्ट, कञ्चनपुरका इन्दु कडरिया विष्ट र डडेलधुराका चक्र स्नेही एमालेमै छन्। अछामका शेरबहादुर कुँवरले नेकपा (एस) रोजेका हुन्।
प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमा एमालेका ११ सांसद थिए। ती मध्ये डोटीबाट निर्वाचित प्रेम आलेले भने नेकपा (एस) रोजे। एमालेको तर्फबाट समानुपातिकमा प्रदेशका ५ जना थिए। ती मध्ये कैलालीकी लक्ष्मी चौधरी र डडेल्धुराकी निरादेवी जैरु,यसअघि ओली पक्षमा रहेकी कञ्चनपुरकी विना बुढाथोकी पनि नेकपा (एस) छन्।
भदौ २३, २०७८ बुधबार ११:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।